असोज १४, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या हत्यामा संलग्न व्यक्तिका विषयमा अनुसन्धान जारी रहेकाे खुलासा गरेका छन् ।
उनले अनुसन्धान प्रतिवेदनमा उल्लिखित व्यक्तिका विषयमा छानबिन भइरहेको बताएका हुन् । लागूऔषध, मदिरा तथा हिंसाविरुद्ध अभियान सुरुवातका लागि प्रदेश १ पुगेका मन्त्री थापाले आइतबार विराटनगरमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा घटनामा संलग्न केही व्यक्ति पक्राउ हुने जानकारी पनि दिए ।
समय आएपछि मन्त्रिपरिषबाट निर्णय गराएर सुन अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने उनले दाबी गरे । निर्णयाधिकार मन्त्रीपरिषद्को भएकाले त्यसका लागि प्रस्ताव लैजान सकिने मन्त्री थापाको भनाइ छ ।
सरकारले सुनकाण्ड र सनम शाक्यको हत्याकाण्ड अनुसन्धानका लागि गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिती बनाएको थियो। समितीले ७ सय ५२ पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस