निर्मला प्रकरण थप रहस्यमयः एसपी विष्टसहित तिनै जनाको डिएनए मिलेन


असोज १४, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी बालिका निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित  तिनै जनाको डिएनए रिपोर्ट मेल नखाएको रिपोर्ट सार्वजनिक भएको छ ।

निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितीको सुझावपछी गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भिमदत्त नगरपालिकाका मेयर शुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परिक्षण गर्न निर्देशन दिएका थिए ।

मन्त्रिको आदेशपछी तिनै जनाको नमुना संकलन गरेर त्रिवी शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधीविज्ञान प्रयोगशालाका प्राविधिकहरुले संयुक्त रुपमा डिएनए परिक्षण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले एसपी विष्टसहित तीनै जनाको डिएनए रिपोर्ट मेल नखाएको रिपोर्ट आएको जानकारी दिए । उनले काठमाडौंबाट पठाईएको शिलबन्दी रिपोर्ट खोलेर हेर्दा डिएनए रिपोर्ट नमिलेको देखियो जानकारी दिए ।

निर्मलाको ‘भेजिनल स्वाब’ बाट डेभलप गरेको डिएनए प्रोफाईलसँग एसपी विष्टसहित तीन जनाको डिएनए नमिलेपछी निर्मला हत्या प्रकरण थप रहस्यतिर धकेलिएको छ ।

यसअघि मुख्यअभियुक्त भनी पक्राउ गरिएका दीलिपसिंह बिष्टको डिएनए पनि ‘भेजाइनल स्वाब’सँग नमिलेपछि उनलाई रिहा गरिएको थियो।

घटनास्थल मुचुल्का तयार पार्दाका क्रममा बरामद गरिएको महत्वपूर्ण प्रमाणका रुपमा लिइने कपडा लगायतका सामाग्री फेला नपरेको गृहमन्त्री रामबहादुर थापाले यसअघि नै बताइसकेका छन्। यस्तै घटनास्थालमा फेला परेको कपडा पखालिएको भिडियो पनि बाहिरिएको थियो। एसपी विष्टलाई भने हाल निलम्वन गरिएको छ ।

साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

१४ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको