सिंहदरबारभित्रै पीए कुटिएपछि…


असोज १४, काठमाडौँ । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र रहेका मन्त्रीहरूको सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ । केही साताअघि मन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए ।

मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभित्र रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ । उक्त गणले घुम्ती टोलीसहित सुरक्षा सतर्कता बढाएको हो ।

महानगरीय सुरक्षा गण सिंहदरबारका एक प्रहरी अधिकृतले भने– ‘अब सिंहदरबारभित्र २४ सै घण्टा सुरक्षा प्रदान गरिन्छ, मन्त्रीका स्वकीय सचिव कुटिएपछि प्रहरी नायब निरीक्षकको नेतृत्वमा थप घुम्ती टोली परिचालन गरिएको छ ।’

सिंहदरबारभित्र बीस जनाभन्दा बढीको डेलिकेसन आएको अवस्थामा उक्त टोलीले निगरानी गर्ने भएको छ । मन्त्रालयभित्र विभिन्न काम लिएर सर्वसाधारणको भीड लाग्ने गरेको छ । मन्त्रालयभित्र मन्त्रीका स्वकीय सचिवहरुले फोन गर्नासाथ प्रहरीको घुम्ती टोली पुग्ने गरेको महानगरीय सुरक्षा गणले बताएको छ ।

गेटमा पास लिएर मन्त्रालयसम्म पुगेर पनि मन्त्रीलाई भेट्न स्वकीय सचिवहरुले आनाकानी र बहानाबाजी गर्ने क्रम बढेको भन्दै सर्वसाधारण असन्तुष्ट बन्दै आएका छन् । पहुँच र पावर भएकाले मात्र मन्त्रीलाई सहज रूपमा भेट्न पाउने, सर्वसाधारण र पार्टीका कार्यकर्ताले समेत सामान्य कामका लागि घण्टौँ कुर्नुपर्ने मन्त्रीको सचिवालयमा पर्ने गरेको छ ।

सिंहदरबारभित्र यसअघि गाडी र मोटरसाइकललगायतका सामग्री हराएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो । सिंहदरबारभित्र सुरक्षाको कारण देखाउँदै पश्चिम दक्षिणको सुरक्षा गेट सर्वसाधारणका लागि बन्द गरिएको छ ।

हाल सिंहदरबारको दक्षिण गेट मात्र सर्वसाधारणका लागि खुल्ला गरिँदा गेटमा ट्राफिक जाम बढेको छ । संघीय, प्रदेश र स्थानीय तहको सरकार गठन भएर सञ्चालनमा आए पनि सिंहदरबारमा भने सर्वसाधारणको भीड घटेको छैन् ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

१४ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको