निर्मला हत्या प्रकरण: बम दिदीबहिनीलाई एक साता म्याद थप


भदौ १४, भीमदत्तनगर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिएकी निर्मलाका स्कूले साथी हुन् । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो ।

यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो । म्याद थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएको छ ।

२०७५ भाद्र १४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको