प्रदेश ५ को स्थायी राजधानीबारे धेरै पिठो नपिसौं: विष्णु पौडेल


पुस १४, बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानीबारे धेरै पिठो पिस्नु नपर्ने बताएका छन् ।

तमु ल्होसारको अवसरमा गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गरेको कार्यक्रममा पौडेलले जनताले प्रदेशको स्थायी राजधानी कहाँ चाहन्छन् भन्नेमा प्रदेश सरकार र प्रदेश सांसदहरु जानकार रहेको बताए ।

‘प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका विषयमा अब पनि धेरै पिठो पिस्नुपर्छ जस्तो मलाई लाग्दैन । यहाँका जनता के चाहन्छन्, त्यो सांसदहरु जान्दछन् र त्यही आधारमा उचित निर्णय गर्छन्,’ पौडेलले भनेका छन् ।

त्यसअघि कांग्रेस नेता खेलराज पाण्डेले सत्तारुढ दल नेकपाका स्पष्ट दुई तिहाई वहुमत हुँदाहुँदै प्रदेश ५ को स्थायी राजधानी तोक्न ढिलाई भएको भन्दै आलोचना गरेका थिए ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया-बुटवल ६ लेन सडक, अन्तराष्ट्रिय सभाहल, सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग लगायतका आयोजना छिट्टै हुने भएकाले प्रदेश राजधानीका लागि बुटवल उपयुक्त हुने उनको धारणा छ ।

नेकपा महासचिव पौडेलले विदा कटौतीबारे प्रधानमन्त्री र सरकारलाई सकारात्मक रुपमा ब्रिफिङ गर्ने आश्वासन दिए । धेरै विदा दिँदा देश निर्माणमा वाधा पुग्ने देखेर सरकारले केही कटौती गरेको पनि उनले स्पष्टीकरण दिए ।

शुभकामना सन्देश पठाउने विचारमा रहेको तर, गुरुङ समुदायले विदा कटौतीको विरोधमा कालो ब्यानरमा कार्यक्रम गर्दैछन् भन्ने थाहा पाएर बुटवल आएको उनले बताए ।

ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनमा रहेका गुरुङ समुदायले शनिबार बुटवलमा वृहत विरोध र्‍याली निकालेका थिए । र्‍यालीमा ५ हजार बढीको सहभागिता रहेको परिषदका सचिव ओमप्रकाश गुरुङले बताए ।

१४ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको