कमान्डरहरु अमेरिकी साम्राज्यवादको मोहमा, घाइते लडाकुहरु अन्यायको सडकमा !


पृथीछक बुढा मगर । उनिहरु पनि छापामार थिए तर कमान्डर थिए । युद्धमा उनिहरुलाई गोली लाग्यो कि लागेन ? छाती थाप्ने छापामारहरु अरु नै थिए ।

यहि सिलसिलामा कयौं मरे । कयौं घाइते भए । कयौं अपांग भए । के हिसाब ? आज ती घाइते अपांग छापामारहरु हिजोका आफ्ना कमान्डरहरुसङ्ग न्याय खोज्दै राजधानी छिरेको खबर छापाहरुमा आएको छ ।

काठमाडौ माइतीघरमा अहिले पूर्व छापामारहरु सामान्य उपचारको मागहरु राख्दै गर्दा जनयुद्धका महारथीहरु कुनै वेला आफैले प्रधान दुश्मन किटान गरेको साम्राज्यवादी देश अमेरिका पुगेको खबर छ ।

प्रभाकर नामले चिनिने एकजना ‘शर्मा’ थरको नेता आफ्नो छोरीको बिहेमा केही दिन अघि अमेरिका पुगेको छ । ‘पौडेल’ थरको नेता पनि छोरीको दिक्षान्त समारोहमा उपस्थिति जनाउन उतै पुगेको छ । अर्का ‘बस्नेत’ थरका जाजरकोटी नेताको छोरी पनि अमेरिकामै रहेको खबर छ ।

कमरेडहरुको अमेरिकासंग यति गहिरो माया कसरी बस्यो ? अमेरिकी मोहले ती छापामारहरुलाई कसरी भुल्न सके ? जसले आफू मरेर उनिहरुलाई बचाएका थिए ।

कि उनिहरुको पसिना गनायो ? कि उनिहरुको घाउ गनाएको हो ? उसो भए त उनिहरुले टेकेको धरातल पनि गनाउनु पर्ने हो । उनिहरु बस्ने मन्त्रालयका भित्ता, कोठा, कुर्सी र सोफाहरु पनि गनाउनु पर्ने हो । ती कोठा र कुर्सीहरुमा पनि ती छापामारहरुका रगत पसिनाहरु चुहिएको कसरी बिर्सिए ?

हिजो उनै कमान्डरको आदेशमा मर्न र मार्न तयार भएका छापामारहरु अनशनमा बसेको धेरै भयो । यो खबर उनिहरुलाई थाहा होला कि नहोला ?

उनिहरुको माग ठूलो छैन । शरिरमा गडेका गोलीहरु निकालियोस्, घाइते, अपांगहरुको उपचार गरियोस् यति नै हो ।

त्यो पनि नेताले जस्तै बिदेशमा उपचार गर्नुपर्छ भनेर माग गरेका होइनन् । यति मसिनो कुरालाई सम्बोधन गर्न पनि के उनिहरुले बन्दुक नै बोक्नुपर्छ ? कि उनिहरुले अब बन्दुक बोक्न सक्दैनन् भनेर उनीहरुलाई बेवास्ता गरेका हुन् ? बुझिनसक्नु छ ।

त्यो कुरा फरक हो कि आज उनिहरुको बर्ग फेरियो । स्वार्थ फेरियो । कुलीन घराना फेरियो । चरित्र फेरियो ।

एकजना माओवादी आन्दोलनका महारथीको छोरी नेपालमा कुलीन घराना भनेर कहलिएका राणा खानदानमा बिहे भएको छ । यो ब्यक्तिगत कुरा भएपनि जनयुद्दले फेरिएको उनिहरुको बर्ग चरित्रले ती सबै कुराहरु सम्भब भएको हो भनेर भन्यो भने के म गलत हुन्छु ?

जे फेरिएको भएतापनि उनिहरु भित्रको मानवता कसरी फेरियो ? मैले बुझ्न नसकेको कुरा यहि हो ।

ती लडाकुहरु सडकको विचमा लम्पसार परेर न्याय मागिरहेको त्यो कारुणिक दृश्यले उनीहरुको मन अलिकती पनि किन पग्लिएन होला ?

हिजो उनिहरु एउटै परिवार जस्तै थिए । एउटै थालिमा खान्थे । एउटै गुन्द्रीमा सुत्थे । संगै हास्थे, संगै रुन्थे । के त्यो गोहीको आँसु थियो ? आज कहाँ गयो त्यो भातृत्व ? उनिहरुको मानसपटलवाट ती स्मृतिहरु एकाएक कसरी हराए ?

सबै छापामारहरु एकै थिए । के कमान्डर, के सामान्य लडाकु । सबैको खानकी एकै थियो । ओछ्याउने ओराउने एकै थियो । सबैको गोजी रित्तै थियो ।

खुट्टामा एकै खालको हरियो मिल्ट्री र गोल्डस्टार जुत्ता थियो । सबै बराबरी, सबै सराबरी थिए । कमान्डर पनि अन्य सदस्य सरह सेन्ट्रीमा खटिन्थे । सबैको बर्ग एउटै थियो ।

लक्ष एउटै थियो समाजलाई गरिविवाट माथी उठाउने तर आज छापामार मध्यका थोरै कमान्डरहरु मात्रै माथी उठे । धेरै चाहिँ माटोमै गाडीए । केही छापामारहरु महलमा बसाइँ सरे ।

त्यसैले त जन देखि पार्टी क्याडरहरुले साम्याबादी ब्यबस्थामाथि विश्वास गरेका थिए । समानतामाथि थियो । तर आज यति बिघ्न असमनता किन आयो ?

त्यहि कमान्डर छापामार कामरेड अमेरिकी साम्राज्यवाद किन प्यारो भयो ? त्यहि सदस्य छापामार कामरेड सडकमा किन छटपटाई रह्यो ?

अहिलेको शिक्षालाई हिजो कमान्डरहरुले बुर्जुवा शिक्षा भने र कयौं कितावहरु जलाउन लगाए । कयौं बिद्यार्थीहरुलाई बिद्यालय जानवाट बन्चित बनाए र बन्दुक बोकाएर छापामार बनाए ।

आज उनै छापामारहरु कोहि खाडी भासिए । कोहि मरे । कोहि घाइते अपांग भए । आज त्यही बुर्जुवा शिक्षावाट उनिहरुका छोराछोरीहरुले अमेरिकी साम्राज्यवादको शिक्षालयमा उच्च शिक्षा हासिल गरिरहेका छन ।

यो दुई पन्चे बर्षमा नसोचेकै छलाङ भए छ । अर्थात कमान्डर कामरेडको एक अग्रगामी छलाङ भए छ ।

लाजै नमानिकन यता ‘दाहाल’ थरका बडेमानका पुर्व कमान्डरले ठुलै स्वरमा कोलाहल गरेको सुनियो कि कम्युनिस्ट सरकार नआएकाले बिकाशले छलाङ नहानेको हो ।

कम्युनिस्टको आफ्नै बहुमतको सरकार छ तर बिकास गर्न उनिहरुलाई कम्युनिस्ट शासन नै किन चाहिन्छ ?

बहुदलीय प्रणाली स्विकारिसकेपछी फेरि कम्युनिस्ट शासनको कुरा गर्नु जस्तो राजनैतिक बेइमानी अरु सायदै होला ।

२०७५ पुष १४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको