शक्तिशाली मान्छेहरु


कविता

हेर कति शक्तिशाली छन ती मान्छेहरू,
आर्लाम होइन आकाशको जुन हेरेर उठ्नेहरु,

पुंजिवादी साँघुरो कोठामा गुज्रिने भन्दा
खुला आकाशमा विद्रोही गित गाउनेहरु,
आफ्नो दु:ख, पीडा शब्द शब्दमा उन्नेहरु।।

कतै तरुल त कतै डाईनामाईट हुने हरुलाई हेर,
मन मस्तिष्कमा क्रान्तिको ज्वार बोक्नेहरुलाई हेर,
हेर त्यो झरना हेर, छाँगा छहरा र पहरा हेर,
फोडिदेउ त्यो चस्मा अनि खुला आँखाले हेर।।

आफ्नै यात्रा गन्तव्यमा बहिरहेका छन,
ती रातो झण्डा बोक्ने समरका यात्रीहरु,
नझुकि परिस्थितिको जेल, नेल र भेलमा,
खोज्दै सुनौलो बिहानी लम्किरहेका छन।।

त्यो महललाई हेर त गाडी छ,
बंगला छ, अनेक छ,

सम्पत्ति छ, गाड छ तर पनि साँघुरो दिमाख छ,
तर खुला आकाश छैन, आफैं हिड्न सिकाउने जुन छैन,
चराको गित छैन त्यो महलमा केवल छ त कुकुरको आवाज, अनिन्द्रा र अशान्ति ।

जो परिवर्तनको खातिर, आफ्नो परिवारको अँगालो गुमायो,
व्यक्तिगत चाहानामा आगो सल्काउँदै यात्रा बनायो,
अन्याय र शोषण, दमनमा पाहिला चलायो,

उसैलाई आतंककारी, हत्यारा भन्नेहरु,
उसका विरुद्ध प्रतिक्रान्ती लाद्नेहरु,
समाजमा अनेक तरहले भयावह वातावरण बनाउनेहरु, सावधान !!
हेर कति शक्तिशाली छन ती लाल झण्डा उठाउनेहरु।।

बलिदानलाई सत्ताको भर्याङ बनाउनेहरु,
क्रान्तिलाई लातमार्दै उखान टुक्कामा जोडिनेहरु,
सावधान अनि खबरदार वैमानि विरुद्ध,

दस हजार सहिदको बलिदानको अपमानमा
जनअदालतमा तिमी उभिनुपर्नेछ र
फेरि उद्घोष गर्नुपर्नेछ
आदरणीय जनता म शासक होइन गोरु बनेर जोतिन तयार छु।।

बटन थिचेर आकाश पुग्ने खिया लागेका सोचहरुमा,
भत्काउँदै ती बाहिर रंगिएका तर शोषण र दासताका महलहरुमा

फेरि रातो झण्डा फर्फराउँदै सडकमा कुदाउँदा,
बाक्लो जंगलभित्र वास बसाउँदा,
तिमी एउटा मानवीय र शक्तिशाली भएर उदाउने छौ।

-श्रीराम बस्याल ‘स्वरुप’

१३ आश्विन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस