संस्कृत भाषामा समाचार र द्वन्द्वकालको ‘नेगेटिभ’


‘एषः रेडियो नेपालः । सम्प्रति समाचारः श्रूयन्ताम्ः ।’

अलका आत्रेयको नाममा नेपाली रेडियोको इतिहासमा संस्कृत भाषामा पहिलो समाचार बुलेटिन हुँदाको यो पहिलो वाक्यांश मैले पत्रकारिताको विद्यार्थी हुँदा सुनेको हो बाइस वर्ष अगाडि । ‘हस्ताक्षर’ शीर्षकको नजन्मिएको टेलिभिजन कार्यक्रमका लागि नेवारी भाषाका समाचारवाचक हरि श्रेष्ठसँग संवाद हुँदा यो नामबारे जानकारी मिले पनि चासो कम हुँदा सरोकार बढेको थिएन । आज त्यो मौका मिल्यो ।

धेरैले रामहरी दाहाललाई नेपालमा संस्कृत भाषाको पहिलो समाचारवाचकको रुपमा प्रस्तुत गरिरहँदा म चाँहि त्यतिबेला रेडियो नेपालमा हिन्दी भाषामा समाचार वाचन गर्ने अलका आत्रेयलाई स्मरण गर्छु । यदि २०५१ साल चैत्र १९ गते संस्कृत भाषाको समाचार बुलेटिन अरु कसैले वाचन गरेको हो भने शिर निहु¥याएर माफी माग्छु । आगे धन्यवाद ।

***
नेपाल टेलिभिजन अहिले पनि २० वटा भाषामा समाचार प्रशारण गर्छ । त्यसमा संस्कृत थपिएको होइन निरन्तर भएको मात्र हो । संघीय गणतन्त्र नेपालको संविधान दिवस मनाइएको तेस्रो दिन यो घोषणा हुनु संयोग, आकस्मिकता वा भवितव्य केही होइन । क्रमशः संस्कृतका महत्वपूर्ण ग्रन्थमाथि संवादका कार्यक्रम पनि हुने लक्ष्य कार्यकारी निर्देशक महेन्द्र बिष्टले बताइरहँदा कहिं न कहिं मन उद्वेलित भएको चाँहि थियो । किनकि, माउन्टेन टेलिभिजनको भगिनी संस्था भक्तिदर्शन टेलिभिजनलाई संस्कृत र बौद्ध दर्शनको समाचार र कार्यक्रमको सन्दर्भमा सात वर्ष अगाडि नै लिखत बनाइरहँदा पूर्व र पश्चिममा संस्कृतको नाप र तौल किन असमान भइरहेको छ भनेर गहन अध्ययन भइसकेको थियो । त्यसैले जुन कुरा अनिवार्य थियो त्यही अनिवार्यतालाई नेपाल टेलिभिजनले गति दिएको हो- जिब्रो टोक्नुपर्ने कारण रहन्न ।

‘रिभोसाइन्स’सँग जोडिएको सात वर्ष भए पनि पछिल्लो वर्ष विज्ञान, प्रविधि र संस्कृतिको अन्तरसम्बन्ध केलाउने विद्यार्थी अभ्यास गर्दैछु । यहींबाट संस्कृत भाषाप्रति सम्मोहित भएको हूँ । संस्कृतिलाई कसरी विज्ञानसँग साक्षात्कार र एकाकार गराउन सकिन्छ भनेर बहस निरन्तर थियो । विज्ञान दिवसको सन्दर्भमा आयोजित ‘विज्ञान र संस्कृति ः सम्बन्ध र अन्तर्य’ कार्यक्रमको सार त्यही थियो सायद । संस्कृत र संस्कृति फरक हो भनेर बुझाउनै सकस परिरहेको अवस्थामा संस्कृतको महत्ता र गुणबारे बुझाउने सजिलो उदाहरण लाग्यो नेपाल टेलिभिजनको समाचार बुलेटिन । तर बुलेटिनसँग धेरै कुरा फनफनी घुमेर आए ।

***
संस्कृत भाषामा जसै समाचार बुलेटिन जागृत भो, नुवाकोटको देविघाटस्थित शहीद जगतप्रकाशजंग संस्कृत पाठशालाको तस्वीर आयो । पटकपटक समाचार लेखेको कारण दिमागमा त्यो तस्वीर छापिएको हुनपर्छ । न संस्कृतको विद्यार्थी, न पाठक, न भाषा बोल्नु न बुझ्नु । यसैले युक्रेनमा बसेर अध्ययन गरिरहेका स्थानीय भाई जो पहिला संस्कृत शिक्षाका उग्र विरोधी र जनवादी शिक्षाका उल्का पक्षपाती थिए, उनैसँग प्राचार्य हेमप्रसाद अधिकारीको सम्पर्क नम्बर उपलब्ध भयो । सात समुद्रपारीबाट टेलिफोन सम्पर्क गरें । ज्ञानलाई अज्ञानले छोपेर स्वनामधन्य प्रगतिशील एवम् क्रान्तिकारी कहलिएकाहरुले ‘मृत भाषा’ करार गरेको संस्कृत शिक्षा र उक्त विद्यालयको अवस्था उस्तै रहेको जानकारी पाएँ ।

अधिकारी सरले भने, ‘विषमता र प्रतिकूलता निरन्तर भए पनि संस्कृतको महत्व पुनः जागृत भएर आउन लागेको’ भन्दा आशा पलायो । ज्ञानको विस्तार गर्ने विकल्पमा आशावादी मान्छे देखेर उत्साह जाग्छ नै । पछिल्लो वर्ष उक्त विद्यालयले बाँच्नका लागि केही आधार प्राप्त गरेछ ।

प्राचार्य अधिकारीले ‘अब संस्कृत शिक्षामा विश्व, पश्चिम, नेपालको केन्द्र सरकार सकारात्मक छ, प्रदेश सरकार सकारात्मक छ, स्थानीय सरकार सकारात्मक छ भने यो मृत भाषा फेरि ब्यूँझने आशा गर्न सकिन्छ’ भन्दै गर्दा चाँहि मैले केही भुत र भूतकालीन दृष्य दुबै सम्झिएँ । केही निशाचार र केही पिसाचहरुको तस्वीर दिमागमा जँच्यो । तर म आज उनीहरुको पछि नाच्दिन ।

उक्त विद्यालय बन्द गराउन लागे जत्तिको शक्ति प्रयोग गरेका तात्कालीन माओवादीहरु अहिले के ठान्दा हुन् ? संस्कृत शिक्षाविरोधी अभियानमा लाग्दै गर्दा पक्राउ परेर बालबाल बाँचेका जिउँदा शहीद सन्तोष रिजाल ‘रोशन’लाई अहिले ऊ बेलाको आन्दोलन कस्तो लाग्दो हो ? धादिंगको कालामाटामाथिको सिन्दुरेचौरमा पुष्पविक्रम मल्ल ‘सिंह’ र रिजालले पहिलोपटक जिउँदो शहीदको सम्मान लिंदै गर्दा गरिएको जनवादी शिक्षाको बखान र आजको तस्वीर कति दूरुह लाग्दो हो ! एमालेमा विलय भइसकेपछि पनि त्यो जमानाका माओवादीलाई संस्कृतसँगको रिस र घृणा उत्तिकै होला कि नहोला ? यो प्रश्न सोध्ने सही समय यही हो ?

***
संस्कृत भाषामा टेलिभिजन समाचार प्रशारण गर्ने अडान क्रियान्वयन गर्ने पात्रमा गनिने रहेछन् तात्कालीन सूचना तथा सञ्चारमन्त्री प्रदीप नेपाल । यो तथ्य पुष्टि भयो । त्यसपछि प्रदीप नेपालको दूरदर्शिता र उनले ठम्याएको ज्ञानको महत्वबारे म सतर्क भएँ । एउटा लेखमा उनी लेख्छन्, ‘नेवारी, मैथिल, भोजपुरीमा समाचार प्रशारण गर्ने भन्दा कुनै प्रतिक्रिया आएन । तर, संस्कृतको विरोधमा बबाल नै मच्चियो । टाठाबाठाहरुले यो मृत भाषामा समाचार किन ? भनेर हदैसम्मको विरोध गरे । संस्कृतमा पाँच मिनेटको समाचार प्रशारण गरेवापत् मेरो पुत्ला जलाइयो, जिल्लामा जाँदा कालो झण्डा देखाइयो ।’

यस्तो लाग्यो, साम्यवादको, माक्र्सवादको, परिवर्तनको, प्रगतिशिलताको, अझ क्रान्तिको बाटोमा पनि संस्कृत र संस्कृति चाहिने रहेछ । मातृयोनी र पितृयोनीप्रति श्रद्धा राख्दै तीर्थ र तपमा आफूलाई व्यस्त बनाएका देशका बन्दुके क्रान्तिकारी त ‘त्वम् शरणम्’ हुँदै आइरहेका छन्, प्रदीप नेपाल त हामी विद्यार्थीका लागि ज्ञान र चेतनाकै सवालमा उम्दा मान्छे ।

यसपछि लागेको हूँ संस्कृत भाषामा समाचार बुलेटिन ठूलो कि संस्कृत भाषाको राष्ट्रिय अभियानको मेरुदण्ड ठूलो भनेर खोज्न । हौसिनु र हौसला पाउनु अलग कुरा हो । उत्तेजना र संयमताबीच दृष्यको रेखा हुने रहेछ । एउटा आलेखमा डा. विद्यानाथ कोइराला लेख्छन्, ‘ संस्कृतको ज्ञानले बैज्ञानिक युगमा काम गर्दैन र यसले रोजगारी दिंदैन भन्ने मेकाले र ह्युग बी उडको बोलीलाई नेपालका आधुनिकतावादी, कडा साम्यवादी र जनजातीले अक्षरशः स्वीका¥यो । यो स्वीकारले संस्कृत शिक्षामा धमिरो लाग्यो । परिणामतः संस्कृत मदौरु बन्यो । बनाइयो । संस्कृतज्ञहरुको पढाउने शैली र उदासिन मान्यताले आगोमा घ्यू थप्यो । त्यसैले संस्कृतलाई कर्मकाण्डभन्दा माथि रहेको ठान्ने जमात सानो छ । संस्कृतमा भएका दर्शन, विज्ञान, संस्कृति आदिबारे खोज गर्नेहरुको जमात नगन्य छ ।’

नेपाल संस्कृत विश्वविद्यालय सुझाव सङ्कलन तथा गृहकार्य समितिको संयोजक समेत रहनुभएका डा. कोइरालाको अकाट्य मत काट्ने चेष्टा म गर्दिन । तर उनको मतभित्रबाट एकाध पत्ता चाँहि टिप्छु ।

मिठो उदाहरण, भारतमा पाँच हजार संस्कृत र एक हजार वेद पाठशाला छन् । १२० विश्वविद्यालयमा संस्कृत भाषामा स्नाताक र स्नाताकोत्तर अध्ययन हुन्छ । एक हजार महाविद्यालय सम्बन्धनप्राप्त छन् । यसैले भारत हरेक वर्ष हजारौं संस्कृत छात्रछात्रा पश्चिमा देशमा निर्यात गर्छ । किनकि त्यहाँ योजना छ, कार्यक्रम छ, वार्षिक पात्रो छ । अर्को रमाइलो शब्द तस्वीर देखाउँछु नेपालमा जुन जुन देश दातृ बनेर गैरसरकारी संस्थालाई संस्कृत शिक्षाविरोधी र हिन्दु समाजविरोधी बनाउँछन् त्यही देशमा संस्कृत भाषा र हिन्दु संस्कृतिको जागरण सबैभन्दा बढी रहेछ । छैन त अचम्म ?

अमेरिकामा एक सय सतहत्तर वर्ष अगाडि संस्कृत भाषामा विश्वविद्यालयस्तरमा अध्यापन शुरु हुँदा नेपालमा राणा शासन नै शुरु भएको थिएन। एडवार्ड एलब्रिजले यल विश्वविद्यालयमा संस्कृत अध्यापन शुरु गरेको छ वर्षपछि मात्र नेपालमा जंगबहादुर राणा शक्तिमा उदाएका थिए। यसको अर्थ यो होइन कि हामीभन्दा अमेरिका संस्कृत शिक्षामा पुराना हुन्।

हाम्रो समाज त्यही संस्कृतको ज्ञान भण्डारले समृद्ध भइसकेको सयौं वर्षपछि पश्चिमले हाम्रो संस्कृतिको आयाम र महत्व आत्मसाथ गरेको मात्र हो। फरक चाँहि आधुनिकताको नाममा वा हामीले संस्कृतको अवमूल्यन गरेका मात्र हौं। साम्यवादीहरुले भन्ने गरेको पूँजीवाद संस्कृतमा प्रवेश गर्दा हामी चाँहि बाटो बिराएर संस्कृतविरोधी देखिने अभियानमा जोडिएका मात्र हौं।

आज पनि अमेरिकाका पच्चीस विश्वविद्यालयमा संस्कृतलाई भाषाको दृष्टिकोणबाट मात्र होइन समृद्ध साहित्य, इतिहास, धर्म र प्राचीन पूर्वीय दर्शन केलाउने विधाको रुपमा लिइन्छ। सयौं अध्ययन संस्थामा तहगत र आवधिक संस्कृत भाषा कक्षा चलाइन्छ। त्यहाँ संस्कृतलाई मृत भाषा होइन बहूविधाको ज्ञानको भकारीको रुपमा लिइन्छ।

त्यसैले सर विलियम्स जोन्स भन्छन्, ‘संस्कृत भाषा र व्याकरणमा विर्निवाद सबैभन्दा सम्पन्न छ, प्राचीन ग्रिक भाषाभन्दा पनि पूर्ण छ र ल्याटिन भाषाभन्दा गुणात्मक, फलदायी र व्यवहारिक छ।’ जोन्सले दुई सय बत्तीस वर्षअगाडि (1786) मा जर्मनीमा ‘द एसियाटिक सोसाइटी’ स्थापना गरेको तीन वर्षपछि महाकवि कालिखासको शाकुन्तल महाकाव्य अनुवाद गरी जर्मनीमा सस्कृतको संस्थागत अनुवादको प्रचलन स्थायी बनाएका थिए। यो कार्ल माक्र्स जन्मनुभन्दा पनि बत्तीस वर्षअगाडिको कुरा हो। कार्ल माक्र्स जन्मनुभन्दा 167 वर्षअगाडि पोर्चुगिज भाषामा भतृहरिको नीति कविताले ठाउँ पाएको थियो र चाल्र्स विकिन्सले माक्र्स जन्मनु 33 वर्षअगाडि भागवत गीतालाई यूरोपीय भाषामा विस्तार थरेका थिए। नेपाली माक्र्सवादी वा प्रगतिशील वा क्रान्तिकारी वा साम्यवादीहरुले संस्कृतलाई गाली र घृणाको भाषा बनाउँदै गर्दा इतिहासका यावत् तथ्यहरु अस्वीकार गर्छन् भने नमस्कार।

आज यूरोपको नेतृत्व गर्ने जर्मनीमा चौध विश्वविद्यालयमा संस्कृत भाषा कक्षा अध्यापन हुन्छ र यो अब प्राथमिक विद्यालय तहमा विस्तारित हुँदैछ। हामी नेपाली चाँहि संस्कृतलाई बाहूनको भाषा, टुप्पी पाल्नेको भाषा, जौ लाउनेको भाषा भन्दै आरावित गर्दै रमाइरहेका छौं। तिनलाई कसले सम्झाउँछ भौतिकशास्त्रका ज्ञाता तथा आणविक परमाणु बमका पिता ओपेनहेइमर संस्कृतबाट श्लोक निकालेर आफैं उल्था गर्थे भन्ने । द डिसिजन टू ड्रप द बम्ब (सन् 1965) शीर्षकको वृत्तचित्रमा उनको अन्तर्वार्ता हेर्दा हुन्छ।

***
माओवादी जनयुद्धले हिन्दूलाई शत्रु देखेकै हो । राज्यसत्तालाई हिन्दुको पगरी गुथाएर शस्त्र हानिएकै हो । हिन्दु र संस्कृतलाई एउटै मालामा उनेर र एउटै तरबारले छिनाल्नपर्छ भनेकै हुन् । बाहुन (ब्राम्हण को हुन् त त्यतिबेलाका उनान्सय प्रतिशत माओवादीलाई थाहा नहोला) लाई सामन्तवादी राज्यसत्ताको मुख्तियारी दिएर ढोल पिटिएकै हो । काठमाण्डौका मल्ल के सुन्दर आदिवासी जनजाती हुने तर जुम्लाका मल्ल सामन्ती र राजशी हुने विरोधाभाषको तस्वीर माओवादीले खिचे । मन्दिर, टुप्पी र गाई जातीय राजनीति गर्नेका स्थायी पदावली भएकै हो । मन्दिर चलाउन चलाईएका गुठीमा लालझण्डा गाडिएकै हो । निःसन्देह संस्कृति र संस्कृत दुबैको मेरुदण्ड भाँचेर सर्वहाराको सत्ता ल्याउँछु भनेकै हुन् । ईस्… ।
कठै !

संस्कृत विश्वविद्यालयमा बम पड्काएकै हुन् । सयौं विद्यालयमा संस्कृतका हजारौं पुस्तक जलाइएकै हो । पश्चगामी र दक्षिणपन्थीको मतियार फगत संस्कृतलाई बनाइएकै हो । आदिवासी जनजाती उत्थान समितिको नाममा संस्कृत लक्षित प्रायोजित बितण्डा मच्चाइएकै हो । शालिक भञ्जन र संस्कृत भञ्जन सदाबहार एजेण्डा बनाइएकै हो । किनकि, म पनि द्रष्टा हूँ । भोक्ता हूँ । गुम्बा, चैत्य, चर्च, मस्जिद वा मदरसामा माओवादी छिरेको कतिवटा दृष्टान्त दिन सक्नुहुन्छ ? तर सामन्ती, ब्राम्हण र धर्मभिरु नाम दिएर संस्कृत र यससँग सम्बन्धित पात्र तथा संरचनामाथि माओवादीले बोलेको धावा झुठो हो ? होइन ?

प्रिय पाठकगण ! यो कुनै दलविशेषको आलोचना होइन, यो त हामीले भोगेको देखेको हिजोको तस्वीरको धमिलो छायाँ फेरि सम्झाउने यत्न मात्र हो, ‘नेगेटिभ’लाई ‘मिक्स्चर’ र ‘फिक्स्चर’को घोलमा हालेको जस्तो । दुबै घोलमा रासायनिक सन्तुलन मिलेन भने तस्वीर जल्नसक्छ भनेर म सचेत छु । आज संस्कृत भाषामा समाचार प्रशारण हुँदा तात्कालीन माओवादीका प्राधिकारले के प्रतिक्रिया जनाए होलान् ? बजारमा शरम किन्न पो पाइन्छ लाज छोप्ने सोमत कहाँ सजिलै पाइन्छ ?

***
अन्त्यमा, यही हप्ता तात्कालीन माओवादीका उपल्ला नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुद्ध, पृथ्वीनारायण र विपी आदर्श भएको बताएछन् । नेपालमा हिन्दु र धर्ममा आधारित समाज नै सबै समस्याको जड देख्ने पूर्वप्रधानमन्त्री भट्टराईको अहिन्दू कर्म फगत ‘भजाउन’ र ‘रिझाउन’ मात्र हो भन्न धेरै दृष्य दिनपर्छ जस्तो लाग्दैन । उनै बाबुरामले भर्गिस थोमसका तीनजना विद्यार्थीमा सबैभन्दा सत्य वाचनशिरोमणी पण्डित नारायण पोखरेल रहेछन् भनिदिए आश्चर्यमा पर्दिन । किनकि, राजनीतिक पोलिसी सिफ्ट र डिपार्चरको असाध्य दौडबाट थकित पात्र हुन् उनी । धर्म, दर्शन र संस्कृतिको त्रिवेणीलाई सुधार र जागरणमा मिलाउने अभियन्ता । यो विषयमा अर्को अंकमा लेखौंला । तर, शाही हिन्दु र माओवादी दुबैको निशानामा थिए पोखरेल । राज्य र विदेशी सहयोगविना समुदायको दान एकतित्र गर्दै जागरण अभियान चलाउने पोखरेलको हत्याको जिम्मेवारी माओवादीले त लियो तर त्यो जिम्मेवारी पनि ‘स्पोन्सर्ड’ थियो कि भन्ने शङ्का कहिल्यै हल भएन ।

१३ आश्विन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको