असोज १३, रुकुम पूर्व । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ पेल्माका शिक्षक मखन केसी बेपत्ता भएपछि उक्त वडाका जनसमुदायलाई शास्ती भएको कुरा गाउँपालिका अध्यक्ष ओम प्रसाद घर्तीले बताएका छन् ।
उनले भने – शिक्षक मखन केसीलाई कुटपिट गर्ने मान्छे एकिन भए पनि प्रशासनले अन्य जनसमुदायलाई अनाहकमा धरपकड गरि दु:ख दिएको खुल्न आएको छ । यो अत्यन्त निन्दनीय कुरा हो । मखन केसी बेपत्ता छानबिन सही ढङ्गबाट होस् ! दोषीलाई अनिवार्य कार्वाही होस् । तर अनुसन्धानको नाममा विद्यालय नै बन्द गरि शिक्षक, विव्यस र अन्य गाउँलेलाई दु:ख दिने काम तुरुन्तै बन्द होस् । ‘
गत साउन ३१ गतेका दिन पेल्मा निवासी बलराज पुनको घरमा खाना खान जम्मा भएका मध्ये तकसेरा निवासी खिन्ते उर्फ विकास बुढाले शिक्षक मखन केसीको कुटपिट गरेका र भदाै १४ गते करिब दुई हप्तापछि उनी एकाएक बेपत्ता भएका थिए ।
तर मिडियामा पीडित परिवारले विद्यालय परिसरमा विव्यस र गाउँले मिलि कुटेको भन्ने भ्रामक समाचार सम्प्रेषण भएको कुरा हिमालय आधारभूत विद्यालय पेल्माका विव्यस अध्यक्ष जस बहादुर बिकले बताएका छन् । उनले विद्यालय, विव्यस र गाउँलेको कुनै सम्लग्नता नभएको बताएका छन् ।
विव्यस अध्यक्ष बिकले भने – ‘ साउन ३१ गतेका दिन पेल्मा निवासी बलराज पुनको घरमा खानपिनको लागि जम्मा भएका मध्ये तकसेरा निवासी खिन्ते भनिने विकास बुढाले शिक्षक मखन केसीलाई कुटपिट गरेका हुन् । तर विद्यालय परिसरमा कुटिएको र गाउँलेको संलग्नता रहेको भन्ने भ्रामक समाचारप्रति हाम्रो आपत्ति छ । ‘
विव्यस अध्यक्ष बिकले थपे – दोषीमाथि विनासर्त कार्वाही हुनु पर्छ । तर कुट्ने व्यक्ति एकिन भएको हुँदा निर्दोष गाउँलेलाई अनाहकमा दु:ख दिएकोमा सिँगो गाउँलाई शास्ती भएको छ ।
प्रतिक्रिया दिनुहोस