भदौ १३, रुपन्देही । बिमस्टेक सम्मेलनमा सहभागि हुन मंगलबार नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट बुधबार लुम्बिनी भ्रमणमा छन् ।
काठमाडौंबाट चार्टर प्लेनमा ३६ जनाको टोलीसहित बुधबार बिहान झण्डै ११ बजे भैरहवा विमानस्थल ओर्लिएका राष्ट्रपति विमानस्थलबाट हेलिकप्टरमा लुम्बिनी पुगेका थिए । हेलिकप्टरमा राष्ट्रपतिसहित १६ जना लुम्बिनी गएका थिए ।
लुम्बिीनमा राष्ट्रपतिलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्वागत गरेका छन् । राष्ट्रपति लुम्बिनी पुगेलगत्तै मायादेवी मन्दिरको अवलोकन गर्दैछन् । त्यसपछि राष्ट्रपतिले त्यहाँ पूजाआजा पनि गर्ने छन् ।
लुम्बिनीबारे नेपाली अधिकारीहरुले बिफ्रङ गरेपछि उनले पण्डिताराम ध्यानकेन्द्रमा केही समय ध्यान गरेर फर्किने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिएका छन् । राईका अनुसार राष्ट्रपतिले लुम्बिनीमा झण्डै आठ घण्टा विताउनेछन् ।
म्यानमारका राष्ट्रपतिलाई रोहिंग्या समूहबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायको विश्लेषण छ। सुरक्षा निकायले उनको खतराबारे विश्लेषण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको छ।
तर लुम्बिनीमा त्यस्तो कुनै किसिमको शंकास्पद गतिविधि नभएको सुरक्षा स्रोतले जानकारी गराएको छ। रुपन्देही प्रशासनले उनलाई भीभीआईपी सुरक्षा उपलब्ध गराएको छ।
लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ। देशको चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कुल एक हजार २ सय सुरक्षाकर्मी खटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए।
प्रतिक्रिया दिनुहोस