समृद्दीको सपनामा धमिराको प्वाँख


पुरुषोत्तम लम्साल/पोष्टपाटी । देउवाको दुर्गती र कांग्रेसको अगति सँगै हुनपर्छ भन्ने होइन । सत्तापक्षको दुई तिहाई भएको ठाउँमा प्रतिपक्षले बलियो उपस्थिति देखाउन सकेन भने लोकतन्त्रका मूल्य र मान्यता धूलिसात हुन्छन् । तर प्रतिपक्ष छ चाँहि कहाँ ? बुढानीलकण्ठमा ? वा सानेपामा ? वा बोहोराटारमा ? वा कोइराला जंक्सनमा ?

***

आजभोली पोष्टल्याम्पमा समृद्दीका सपनाहरु टांगिएका खबर बारम्बार आइरहेको छ । अदालतमा होलसेलमा न्यायको व्यापार भइरहेको खबर उत्तिकै छ । न्याय माग्न बसेको मनुवाको मानसिक असन्तुलनले सरकारलाई पोलेन भनेर जनगुनासो उस्तै छ । हराएको सुन खोज्न हिंडेका प्रहरीका मुख्तियार संदिग्ध अपराधीहरुसँग कुममा कुम जोडेर लञ्च र डिनर गरिरहेको खबर पनि उस्तै छाइरहेको छ । राज्यका नयाँ मालिकका लागि सरकारले विनियोजन गरेको आर्थिक हिसाबकिताबमा पनि उत्तिकै घोचपेच छ । सरकारको प्रवक्ता रहेका सूचना तथा सञ्चार मन्त्रीले ‘डन्ट प्रोभोक द पब्लिक बाइ रनिंग स्टोरिज अन निर्मला रेप केस’भन्दै राज्यनियन्त्रित संचारगृहहरुलाई अघोषित ‘सेन्सरसिप’ लादेका खबर पनि उस्तै छन् ।

विशालकाय नेकपाभित्र असन्तुष्टीको चुली बढ्दै जाँदा समूह समूहमा गुट र उपगुटका नाइकेहरुको चर्को र कर्कश आवाज पनि उस्तै आउँदो छ । एक हिसाबमा देश चलिरहेको छ । सरकार पनि चलिरहेको छ । समृद्दीका स्वरहरु पनि समवेत छन् । मधुरो बन्दै गइरहेको प्रधानमन्त्रीको स्वर ‘अब म एक्लै के गर्न सक्छु र !’ भन्ने हदमा आइपुगेको छ । हिसाब गर्दै ल्याउँदा दुई तिहाईको ‘बोल्ड’ क्याबिनेट ‘नेकेड’ हुँदै गइरहेको तथ्यमा उदाहरण थप हुने क्रम जारी छ । म्याग्दीको तातोपानीमा डुबुल्कै मार्दा शरीरको विकार त हजम होला तर राज्य संयन्त्रमा फैलिएका विकार, ऐंजेरु र यत्रतत्र सर्वत्र फैलिएका धमिराहरुको साम्राज्य हिजोको जस्तै जबरजस्त छ भन्न अब कुनै पौराणिक कथाको टेको लिन आवश्यक छैन ।

एक वर्षअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसलाई धमिराको संज्ञा दिएर आलोचना गरेपछि दिमागमा धमिराबारे साह्रै कुतूहलता जागेको थियो । बाहिर सफा रहेको हल्ला गरे पनि कांग्रेस भित्रभित्र धमिरा लागेर खोक्रो भइसकेको भन्दै मोदीले धमिरा वर्णन सुनाएपछिको सकसकको परिणाम हो आजको बसाई । उसै पनि भारतको कांग्रेस र नेपालको कांग्रेसको अवस्था र चरित्रमा उस्तो बेमेल भेटिन्न भन्छन् विद्वानहरु । त्यसैले प्रकृति र पर्यावरणबीच मात्र होइन राजनीति र धमिराबीच सम्बन्ध केलाउन पाए हुन्थ्यो भन्ने लाग्यो ।

गत बैसाखमा धनुषा पुगेर नेपाली कांग्रेसका झण्डैका उपसभापति विमलेन्द्र निधिले सरकारमा आन्तरिक धमिरा लागिसकेको दावी गरे । निधिले धमिराको जात र गोत्र त बताएनन् तर सरकारलाई सरकारभित्रैको धमिराले धराशायी पार्ने बताएर मुसुमुसु हाँसे । होला नि त भन्ने लाग्यो खोजी गरिएन ।

राजा र गणतन्त्र दुबैको लहरोमा चढ्न खप्पीस कमल थापाले पनि गत भदौमा सरकारमा धमिरा लागेकाले चाँडै ढल्छ भन्दै खुसी मनाए । मान्छेहरुले टिप्पणी गरे, ‘मुसा प्रवृत्तिका मुखियाले धमिरा प्रवृत्तिको बखान छाँटेको सुहाएन ।’ अरुको टिप्पणीमा उति चासो राखिएन, मुन्टो बांगो बनाएर हिंडियो ।
अगाडिकै सरकारका सञ्चारमन्त्री मोहन बस्नेतले धमिराका कारण नेपाल टेलिकम नामको संस्था डुब्ने भविष्यवाणी दिए । सरकारको तलब खाएर निजी क्षेत्र पोस्ने धमिराको बारेमा जानकारी भए पनि भन्न नमिल्ने भन्दै बस्नेतले धमिरा लुकाए, जनतालाई देखाएनन् । त्यसैले बस्नेतलाई जनताले पनि पत्याएनन् ।

विमा संस्थानको कुरा आयो, सबैले भने संस्थानमा जताततै मान्छेको रुपमा धमिरा भएकाले त्यो उँभो लाग्न सकेन, लाग्दैन । त्यहाँ पनि लुकाउनै पर्ने धमिरा रहेछन्, बाहिर निकाल्ने ‘माई का लाल’ कोही भएनन् ।

हुँदाहुँदा नेपाल प्रहरीका मुख्तियार सर्वेन्द्र खनालले प्रहरी संगठनमा लागेको धमिरा फाल्न खोजिरहेको भनेर ढोल पिटे । निर्मला पन्तको हत्या प्रकरणमा आफैं लप्सीको गेडो जसरी फनफनी घुमिरहेका खनालले चिनेको धमिरा दुनियाँले देख्न पाएनन् । ती धमिरै गायब भए ।

बादल उपनामले चिनिने गृहमन्त्री रामबहादुर थापाले यसै हप्ता नेपालमा सस्तो दरमा नागरिकता विक्रिबितरण भइरहेको र बिदेशीलाई पनि नागरिकता दिन धमिराहरुबीच ठूलो चलखेल भइरहेको बताए । शरमको यो हद नाघेर बोल्दा उनलाई त लाज लाग्दैन, उनको बोली टप्प टिपेर लेख्न मलाई के को लाज ?

आठ महिनाअगाडि चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालमा धमिरा आतंक भेटियो । अमेरिकाको म्याक्स फाउन्डेसनले अनुदानमा उपलब्ध गराएको औषधीमा बिरामीले भन्दा धमिराले आनन्द लिए । लाग्यो, क्यान्सर धमिरालाई पनि त लाग्दो हो, त्यसैले खोजीनीति गरिएन । मानवीय सेवाका खातिर कसैले उपलब्ध गराएको ओखतीमै त्यत्रो धमिरा लाग्दा पनि चाल नपाउने अस्पताल प्रशासन संवेदनशील तक्माको हकदार हुनपर्छ भनेर केही लेखिएन ।
केन्द्र सरकारमा मन्त्रालय सम्हालिरहेका हरेकजसो मन्त्री मन्त्रालयको छिद्रछिद्रमा धमिरा लागिरहेको भाषण गर्दा रत्तिभर लाज मान्दैनन् । बरु धमिरैलाई लाज लाग्दो हो । संसद्मा माधवकुमार नेपालले नाउ डुब्न लागेको गीत गाए । माझी बोलाए । दुई चार दिन रमाइलै भयो । तर काठै खायो धमिराले, पात खायो किराले, यो ज्यान खायो तिम्रै पीरले भन्दै गीत गाउनेको लहर कम भएन ।

यति हुँदा पनि मैले धमिराको बारेमा उत्ती चासो राखिन । लाखौं वर्षदेखि पृथ्वीमा अस्तित्वमा रहेको धमिरा उर्फ काठेजुका उर्फ सेतो कमिलाले देशको हरेक संरचनामा कसरी घर बनायो भनेर खोज्ने सामथ्र्य ममा थिएन र छैन पनि । त्यसमाथि तीन हजारभन्दा बढी प्रजातिका धमिरा दुनियाँमा रहेछन्, एसियामै चार सयभन्दा बढी प्रजातिका रहेछन्, नेपालको राज्य संयन्त्रमा कुन जाति र प्रजातिको धमिराको बिगबिगी छ भनेर खोज्ने मुर्खता म किन गर्थें ? गरिन ।

बैज्ञानिकहरुले इजिप्टको प्राचीन पिरामिडभन्दा पनि पुरानो अवस्थामा रहेको धमिराको सुरुंग र कलात्मक प्राकृतिक संरचनाहरु पत्ता लगाए । माटोको परीक्षण गर्दा ३ हजार ८ सय २० वर्ष पुरानो मानिएको धमिराका ती सुरुंग पूरा नाप्दा लम्बाईबाट दुईवटा नेपाल बन्दोरहेछ । अर्थात् झण्डै दुई हजार किलोमिटर । र, आकारमा चाँहि हालको बेलायत भन्ने देशबराबर । अर्थात् दुई लाख तीस हजार बर्ग किलोमिटर क्षेत्रफल बराबर । र, बैज्ञानिकहरुले बीस करोडभन्दा बढी सुरुंगहरु धमिरा निर्मित रहेको पनि दावी गरेका छन् । मलाई लाग्यो यस्तै प्रजातिका केही धमिराले नेपाल खाल्डोमा घरजम गर्यो र शनैःशनैः खोक्रो बनायो ।

२८ वर्षदेखि प्राणी र वनस्पती अध्ययन अनुसन्धानमा सक्रिय रहेर उच्च स्थान बनाइसकेको ‘करेन्ट बयोलोजी’ पत्रिकामा एक हप्ताअगाडि धमिरा प्रतिवेदन देखेपछि झनै आश्चर्य लाग्यो । ब्राजिलको उत्तरपूर्वी इलाकामा केन्द्रित उक्त अनुसन्धानको निश्कर्ष पढेपछि वातावरण र पर्यावरण चक्रमा जिज्ञासा राख्ने भएकाले मनले मानेन र, यो लेख्न बसेंको हूँ ।

खासमा धमिरा विभिन्न रंगमा हुने रहेछन् । कालो, खैरो, रातो, सेतो इत्यादि । यसमा रातो टाउको भएको चाँहि लडाकू स्वभावको रे, सेता चाँहि सोझा वा काम मात्र गरिरहने मजदुर बर्गजस्ता हुन्छन् रे । अनि केलाएँ, देश हिजो पञ्चको पहेंलो धमिराले बिगारे भनियो, त्यसपछि कांग्रेसको सेता धमिराले खाएछन् र अबको पालो रातो धमिराको रहेछ भन्ने ठानेर चित्त बुझाएँ ।

विज्ञान भन्दोरहेछ, सूर्यको प्रकाशमा निरन्तर आएपछि धमिराको दोहोलो हुन्छ र तिनीहरु भागाभाग गर्दछन् । तर, हामीकहाँ जसै राज्यसत्तामा हँसिया हथौडा र सूर्यको राप र ताप देखियो धमिराहरुको बोलवाला र मस्तीको ग्राफ झनै उकालो चढ्दो छ । अस्तीमात्र संसद्को सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद प्रकरणमा ६ अर्बको तलमाथि रहेको बताएपछि राता धमिराको बिगबिगी खोज्न अन्त जानै परेन । आयुर्वेदले नीमको पात वा नीमको तेल, तुलसी वा अन्य गाढा गन्धयुक्त पदार्थको उपयोग गरेर धमिराबाट आराम पाउन सकिने विधि सिकाउँछ । तर हाम्रो देशमा सत्तापक्ष र प्रतिपक्ष दुबै धमिराकै गोलोबाट उत्खनन् भएर आएका प्राणीजस्ता भएकाले यो विकल्प पनि खेरै गए झैं लाग्यो ।

भन्नुहोला, प्रतिपक्षमा धमिरा के छ ? मेरो प्रश्न चाँहि देशमा प्रतिपक्ष छ कि छैन भन्ने भन्ने हो । भए कहाँ छ ? भए के गरिरहेको छ ? भन्ने हो । राष्ट्रिय सरोकारका मुद्दामा प्रतिपक्षले सरकारलाई गरेको सहयोग र राष्ट्रहित विपरीतका मुद्दामा सरकारलाई दिएको ‘चेक’ कुन कुन छ भन्ने मेरो प्रश्न हो । देउवाको दुर्गती र कांग्रेसको अगति सँगै हुनपर्छ भन्ने होइन । कांग्रेस आफैं धमिराहरुको गोलोमा चक्कर काटिरहेको छ भन्न आइतबार कुर्नपर्दैन । सत्तापक्षको दुई तिहाई भएको ठाउँमा प्रतिपक्षले आफ्नो बलियो उपस्थिति देखाउन सकेन भने लोकतन्त्रका मूल्य र मान्यता धूलिसात हुन्छन् । तर प्रतिपक्ष छ चाँहि कहाँ ? बुढानीलकण्ठमा ? वा सानेपामा ? वा बोहोराटारमा ? वा कोइराला जंक्सनमा ?

अन्तिममा, धमिराले खाडल खन्छ । पक्का हो । सुरुंग बनाउँदै जान्छ । पक्का हो । भोजनका लागि आहार भण्डारण गर्दै जान्छ । यो पनि पक्का हो । तर एक दिन त्यही दुलोमा मुसा छिर्छ, राज्य गर्छ र धमिरा स्वाहा बनाउँछ । कि, धर्ती नै खोक्रो भएपछि एकदिन त्यो खस्छ र धमिराको काल पर्छ । नत्र बुढो भएपछि त्यसको पनि पखेटा पलाउँछ र हावामा उड्न थाल्छ । नेपालीमा आहानै छ, ‘कमिलाको प्वाँख पलाउँछ’भन्ने । खासमा प्वाँख पलाएपछि कमिला मात्र होइन, धमिराको पनि राज सकिन्छ । केही होला कि त भन्ने लागेको दुई तिहाईको बामपन्थी गठबन्धन आफैं धमिराको गोलोमा परिक्रमा गर्न थालेको प्रशस्त गतिला दृष्टान्तहरुको ठेली नै बन्दै गएपछि यसको पनि प्वाँख पलाउने दिन कुर्नुको विकल्पभन्दा अरु के नै छ र ?

१२ मंसिर २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको