एजेन्सी/कार्तिक ११, काठमाडौं । स्पेनिस लिगअन्तर्गत आइतबार राती स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच एल क्लासिको हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा रातको ९ बजे हुनेछ ।
बार्सिलोनाको गोलरक्षकमा मार्क आन्देर टेर स्टेगन रहनेछन् । डिफेन्समा क्लेमेन्ट लेङलेट र जेरार्ड पिकेलाई जोर्डी अल्बा र सर्जी रोबर्टोले साथ् दिने छन् । मध्य भागमा सर्जियो बुस्केट्स रहनेछन् । आक्रमण र डिफेन्सलाई समन्वय गर्न ब्राजिलियन आर्थर र क्रोएसियाका इभान राकीटिच खटिनेछन् ।
आक्रमणमा लिओनेल मेसीको अनुपस्थितिलाई लुइस सुआरेजले पूर्ति गर्ने प्रयास गर्नेछन् । उनलाई फिलिपे कोउटिन्हो र राफिन्हाले साथ् दिनेछन् । ओस्मान डेम्बेले र माल्कम दुवै राइट विङमा खेल्ने भएपनि इन्टर मिलानविरुद्ध राफिन्हाले राम्रो प्रदर्शन गरेका थिए । त्यसैले तीन खेलाडीमा निकै प्रतिस्पर्धा हुनेछ ।
रियलको लागि यसै सिजन भित्रिएका गोलरक्षक थिबाउट कोर्टूवाले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । तर उनले नाभासभन्दा अगाडी रहेर सुरुवाती ११ मा स्थान बनाउने सम्भावना प्रबल छ । कप्तान सर्जियो रामोस र राफेल भारान डिफेन्सको मध्यभागमा रहनेछन् । ड्यानी कर्भाजल चोटका कारण बाहिर रहेपछि नाचो राइट ब्याक र मार्सेलो लेफ्ट ब्याकमा खेल्नेछन् ।
मिडफिल्डमा क्यासेमिरोलाई लुका मोड्रीच र टोनी क्रुसले साथ दिनेछन् । आक्रमणमा करीम बेन्जेमा एकल फरवार्डका रुपमा रहनेछन् । उनलाई ग्यारेथ बेल र इस्कोले साथ् दिनेछन् । मार्को एसेन्सियो यस खेलका लागि बेन्चमा नै रहनेछन् । लुकास भाज्केज पनि वैकल्पिक खेलाडीका रुपमा आफ्नो प्रभाव जमाउने प्रयासमा हुनेछन् ।
प्रतिक्रिया दिनुहोस