चियापानमा कुटिएका पौडेलको असन्तुष्टि: पार्टीभित्र भ्रष्ट र माफियाहरु मौलाए


असोज ११, काठमाडौं । सत्ताधारी नेकपाकाे चियापान समारोहमा अाफ्नै पार्टीबाट एक कार्यकर्ता कुटिए पछी यतिबेला थप चर्चाको बिषय बनेको छ ।देशको सबैभन्दा ठूलो जनमत पाएको सत्ताधारी पार्टी नेकपाको चियापान समारोहमा असन्तुष्ट कार्यकर्तामाथि कुटपिट हुँदा हरेक कोणबाट प्रश्न उठ्न थालेका छन ।

भृकुटीमण्डपमा सत्ताधारी नेकपाले गरेको चियापान समारोहमा असन्तुष्ट एक कार्यकर्तामाथि सोही पार्टीका एक अगुवाले हमलाको सिकार भए । कसले कुटपिट गरे भन्ने चाहिँ पुष्टि भइसकेको छैन । चियापान समारोहको बहिष्कार गर्दै पर्चा बाँडिरहेको अवस्थामा युवराज पौडेल ‘सफल’ नाम गरेका कार्यकर्ता कुटिएका थिए ।

पौडेलले नेकपा असन्तुष्ट समूहको नाममा एक मोर्चा समेत बनाएका थिए । त्यसको संयोजकको रुपमा उनले चियापानबीच पर्चा बाँडिरहँदा उनीमाथि आक्रमण भएको हो ।

यो घटनापछि युवराजलाई अन्नपूर्णले टेलिफोन गरी तयार पारेकाे उनकाे छाेटाे अनुभूति जस्तको त्यस्तै:

नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला गतिविधि र निर्णयबाट जनता निराश बनेका छन् । बलात्कारका दोषी अझै पक्राउ पर्न सकेका छैनन् । माफियाहरु सक्रिय छन् ।

अपराध, भ्रष्टाचार, महंगी जस्ता समस्यालाई सरकारले सम्बोधन गर्न सकेकै छैन । जनतामा निराशा छाएको यस्तो अवस्थामा ५० हजारलाई बोलाएर चियापान गर्नुको औचित्य छैन भनेर हामीले केही दिन अघिदेखि नै भन्दै आएका थियौँ । यो फजुल खर्च गर्ने समय हैन । चियापानको रकमले बरु अन्य महत्वपूर्ण काम गर्न सकिने थियो ।

चियापानको अघिल्लो दिन मात्रै पनि हामी असन्तुष्ट केही साथी मिलेर विज्ञप्ति जारी गरिसकेका थियौँ । नेकपाका उच्च नेताहरुलाई पनि भेटेरै यसबारे सुझाव दियौँ । तर सनुवाइ भएन । अन्ततः चियापान समारोहमै उपस्थित भएर आम कार्यकर्ता र जनतालाई नै हाम्रो कुरा भन्नु पर्छ भन्ने ठानेर पर्चा बाँड्न पुगेका थियौँ ।

प्रधानमन्त्रीले केही समयअघि कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिइरहेका थिए । त्यसैको परिणाम आज ओली र प्रचण्डबाट पालित पोषित भाडाका कार्यकर्ताले ममाथि आक्रमण गरे । ओलीका अरिंगाल नै ममाथि जाइलागे ।

व्यक्तिगत रुपमा मलाई यसले केही असर परेन होला । आम जनताले अब नेकपा तथा सरकारलाई कसरी बुझ्लान् ? के सोच्लान् ? यस्तो अहंकार देखाउँदै जाने हो भने यो पार्टी जनतामा झनै अलोकप्रिय हुन्छ । म लगायत हामी असन्तुष्ट थुप्रै कार्यकर्ता यस्ता हमला सहेर बस्न सक्दैनौँ ।

साना समूह वा फरक विचारको सामना गर्न नसकेर आक्रमण गरिराख्ने हो भने हामी पनि चुप लागेर बस्ने छैनौँ । हामीलाई धेरै जनताले साथ दिने छन् । अन्ततः सशस्त्र संघर्ष गर्न पनि तयार हुन्छौँ हामी ।

ममाथि आक्रमण भइरहँदा नजिकै थिए नेकपाका नेताहरु । लेखनाथ न्यौपाने, देवेन्द्र पौडेल, शक्ति बस्नेतलगायत नेताहरु नजिकै थिए । प्रहरी अधिकारीकै अगाडि नेकपाका कार्यकर्ताले हमला गरे ।

यो घटना दुखद् हो । मलाई नै कसैले परिचालित गर्यो की भनेर आशंका गरे । तर खासमा ती पिट्ने कार्यकर्ता नै भिजिलान्ते हुन् । विचारबाटै प्रतिवाद गर्न सकिने कुरा हुँदा पनि तिनिहरु हातपातमै उत्रिए । यसले यो सरकारको छवि नै उदांगो पारिदिएको छ ।

वास्तवमा बृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो अभियान हो । भ्रष्टाचार नियन्त्रण गर्ने, माफियालाई कारवाही गर्ने र बलात्कारीलाई पक्राउ गर्न हाम्रो दबाब निरन्तर हुनेछ । यो घटनाले सरकार कायर भएको पुष्टि भएको छ ।

११ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको