भदौ १२, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौंथो सम्मेलन बिहीबार र शुक्रबार काठमाडौंमा हुँदैछ ।
सम्मेलनमा सहभागी हुन मंगलबारबाटै अतिविशिष्ट पाहुना नेपाल आउनेक्रम शुरु हुँदैछ । पाहुनाका कारण अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल मंगलबारदेखि शनिबारसम्म ५ दिन प्रभावित हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख वा सरकार प्रमुखको आवागमनका समय कम्तीमा आधा घन्टा विमानस्थल बन्द हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आधादेखि सवा दुई घन्टासम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द हुने छ ।
बिहीबार अर्थात् भदाै १४ गते बिहान ८ बजेदेखि साढे १० बजेको बीचमा तीन अतिविशिष्ट उडान हुँदैछन् । यस अवधिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चनओचा नेपाल ओर्लनेछन् । यो अवधिभर विमानस्थलमा सर्वसाधारण यात्रुको आवागमनसमेत बन्द हुनेछ भने व्यावसायिक उडानका जहाजको उडान–अवतरण हुने छैन ।
अतिविशिष्ट उडानका कारण तोकिएका व्यावसायिक उडान ‘डिले’ भए पनि पूर्णप्रभावित नहोऊन् भन्ने उद्देश्यले बिहीबार र शुक्रबार विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिने विमानस्थलले जनाएको छ । भदौ १४ र १५ गते दुई दिनसम्म विमानस्थल २४ सै घण्टा खुल्नेछ ।
सम्मेलनका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुख काठमाडौं आउँदैछन् ।
प्रतिक्रिया दिनुहोस