कञ्चनपुरका अर्का एक निर्दोष युवालाई प्रहरीले ११ दिन थुनेको खुलासा


भदौ १२, काठमाडौँ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ ।

चक्र बडू, तस्बिर: नयाँ पत्रिका

आजकोयाँ पत्रिकामा यो खबर छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन् । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन ।

घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो । बाल जानकी आधारभूत विद्यालय, हल्दुखालका शिक्षक चूडामणि भट्टका अनुसार मानसिक सन्तुलन ठीक नभएका जीवन घटनाकै दिन साउन १० को मध्याह्न भगतपुर खोलानजिक देखिएका थिए ।

ती व्यक्तिलाई त्यहाँबाट हटाइदिन वा पक्रेर लैजान गस्तीमा हिँडेका प्रहरीलाई भट्टले आग्रह गरेका थिए । ‘तर, एक थप्पड लगायो भने मर्ला, चौकीमा लगेर यसलाई पाल्ने लफडा पनि किन गर्ने भन्दै प्रहरी पन्छिएको थियो,’ भट्टले नयाँ पत्रिकालाई भने । तर, अर्को दिन जब निर्मलाको शव फेला प-यो, प्रहरी खोज्दै आएर मगरलाई बलात्कार र हत्याको अभियोगमा पक्राउ गरेर लगे ।

दीपक नेगीलाई पनि प्रहरीले हचुवाकै भरमा पक्राउ गरेको भट्ट बताउँछन् । निर्मलालाई खोज्ने क्रममा ५ प्रहरी र करिब ५० स्थानीय खटिएका थिए । प्रहरीले नै स्थानीयलाई समूहमा बाँडे ।

सबैभन्दा पहिला दीपकले शव देखे र प्रहरीलाई खबर गरे । पछि प्रहरीले ‘तैले कसरी थाहा पाइस् ?’ भन्दै उनलाई पनि पक्राउ ग-यो । ‘मैले पहिला शव देखेको भए मलाई नै पक्राउ गर्ने रहेछन्,’ साढे दुई दशकदेखि शिक्षण पेसामा रहेका भट्टले भने ।

तर, जीवन र दीपक नै मुख्य आरोपी भएको भन्ने प्रहरीको सूचनाका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा उनीहरूको नाम नै उल्लेख गरेर संसद्लाई जानकारी दिए । तर, पछि दीपक गम्भीर प्रकृतिको यौन रोगले ग्रस्त भएको पत्ता लाग्यो । त्यस्तै, जीवनले बयानका क्रममा भने, ‘हो, मैले निर्मलालाई खुकुरीले काटेर मारेँ ।’

जबकि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको घाँटी निमोठी हत्या गरिएको थियो । जीवन मानसिक रोगी भन्ने पनि खुल्यो । दुवैलाई साउन २० मा छाडियो ।

२०७५ भाद्र १२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको