बिप्लव, बैध्यले माओ दिवश मनाए, तर प्रचण्ड, बाबुरामले मनाएनन


पौष १२, काठमाडौं। वि.स. २०५१ सालमा प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस पारौँ । नयाँ जनवादी क्रान्ति पुरा गर्न महान जनयुद्धको दिशामा अघि बढौं भन्ने नाराका साथ फागुन १ गते तात्कालीन माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरूमा फौजी आक्रमण गर्यो भने गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा कब्जा गर्यो ।

त्यसको जिम्मा लिँदै तात्कालीन माओवादीका महामन्त्री प्रचण्डले फागुन ६ गते विज्ञप्ति जारी गरे । दश बर्षसम्म माओवादीको नेतृत्व गर्दै आएका प्रचण्डको नेतृत्वमा करिब १७ हजार बढी मानिसको ज्यान गएको थियो भने देशैभरीका सयौ प्रहरी चौकी तथा तात्कालीन शाही सेनाको व्यारेकमा हमला भए ।

माओवादलाई मुलमन्त्र मानेर प्रचण्ड र बाबुरमले सशस्त्र युद्धको नेतृत्व गरे । त्यसैलाई आधार बनाएर आफ्नो राजनीतिक व्यक्तित्व स्थापित गराउन सफल भए तात्कालीन जनयुद्धका कमाण्डर प्रचण्ड र बाबुराम भट्टराई । प्रचण्ड र बाबुराम भट्टराई राष्ट्रिय राजनीतिक व्याक्तित्वका रुपमा स्थापित गराउन आफ्नो प्राणको प्रवाह नगरी युद्ध लड्ने जनमुक्ति सेना अहिले कोही सहिद भए ।

कोही घाईते तथा अपाङ्ग भएर दुखदायी जीवन विताईरहेका छन् । भने अधिकांश पूर्व जनमुक्ति सेना खाडीमा छन् । जसले आफ्नो श्रम सस्तोमा बेचिरहेका छन् । आफ्नो विगतको त्यागको बदला अपमान सहेर बसिरहेका छन् । दश बर्षे जनयुद्धपछि माओवादी पार्टी फुटेर अहिले विभिन्न पार्टीका रुपमा विभक्त रहेको छ । जसमध्ये जनयुद्धका कमाण्डर माओवादको त कुरै छोडौं ।

कम्युनिस्ट विचारधारा नै गलत भएको भन्दै बाबुराम भट्टराईले गैर कम्युनिस्ट पार्टी नयाँ शक्ति खोलेर आफ्ना राजनीतिक गतिविधि गरेर बसेका छन । त्यस्तै जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड माओवादलाई त्यागरे एमालेसँग पार्टी एकता गरिसकेका छन् । जुन पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद रहेको छ ।

त्यस्तै वि.स. २०६९ सालमा प्रचण्ड र बाबुरामले धोका दिएको भन्दै पार्टी फुटाएर नेकपा माओवादी पनि दुई बर्ष नपुग्दै फुटबाट अछुतो रहन सकेन । सो पार्टीका सचिव नेत्रविक्रम चन्द विप्लवले बुढाहरुले क्रान्ति नगर्ने भन्दै नयाँ क्रान्तिको मोडल (एकीकृत क्रान्ति) अगाडी सारे । जसको पछि दाङ सम्मेलनले (एकीकृत जनक्रान्ति) नामांकरण गर्यो । यसरी दश बर्षे युद्धको बेला एकै पार्टीमा रहेका शीर्ष नेतृत्व नै फरक फरक साना-साना पार्टी चलाएर बसेका छन् अहिले । समग्रमा भन्नु पर्दा माओवादी आन्दोलनको विरासत बोकेका पार्टीहरुको आवस्था रक्षात्मक जस्तो देखिन्छ । यद्यपि पछिल्लो समय बिप्लव पार्टीको प्रभाव भने बढ्दो देखिन्छ ।

हिजो अर्थात् पुस ११ गते माओ दिवसका दिन जनयुद्धका शीर्ष नेतृत्व प्रचण्ड र बाबुराम भट्टराईले भने माओ दिवस मनाएनन् ।

उता जनयुद्धका सिद्धान्तकार मानिने मोहन बैद्य किरण र माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका विप्लवले भने माओ दिवश मनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कुपण्डोलमा एक कार्यक्रम गरी माओ दिवस मनायो । जसलाई क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सीपी गजुरेलले माओ दिवस मनाउनुको अर्थ मालेमावादको रक्षा, प्रयोग र विकास गर्नु भएको बताए ।

उता नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढी तथा बुटवल लगाएत लगभग देशैभरी माओ दिवसको अवसर पारेर जनसभा गर्यो । धनगढीमा नेकपाका प्रवक्ता प्रकाण्डले सम्बोधन गरे । माओको विचारलाई आफूले अनुसरण गर्ने र पार्टीका तर्फबाट बलिदान, त्याग र तपस्या गर्ने प्रवक्ता प्रकाण्डले बताएका थिए ।

उता राजधानीको प्रज्ञाप्रतिष्ठानमा नेकपा उपत्यका व्युरोले आयोजना गरेको कार्यक्रमका बोल्दै नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले अबको युद्धमा मिसालको प्रयोग हुने बताए । त्यस्तै अर्को प्रशंगमा नेता ओलीले भने, ‘हामीलाई तराईको सीके राउतसँग मिसाएर वार्ता गर्ने भनेका छन्, त्यो गलत छ । अहिले वार्ताको कुनै औचित्य छैन । सत्ताधारीहरू जब हार्ने अवस्थामा पुग्छन् तब मात्र वार्ताको कुरा गर्छन् ।

वार्ताको कुरा गर्दा हाम्रो ८० प्रतिशत भूगोलमा चलेको जनसत्ता, ४० हजार जनमुक्ति सेनाको विषय के हुन्छ ? १७ हजारको बलिदानी भएको छ, त्यसको मूल्य के हो ? यी सबै विषयहरू छन् । प्रचण्ड र केपी काङ्ग्रेसजत्तिको पनि इमानदार नभएको बताए । कम्युनिस्ट विचारको मूल्य–मान्यता नराख्ने नेपालका नामधारी कम्युनिस्टहरूको भारतका ज्योति बसुका मान्छेजत्तिको पनि नैतिकता नरहेको उनको विश्लेषण थियो । उनले भने, ‘ज्योतिका मान्छेले त कम्तीमा भैँसीपूजा गर्दैनन् ।

चीनमा सी जिङ पिङले चर्च भत्काउँदै हिँडेको बेलामा नेपालमा दलालहरू माक्र्सवादी आदर्श, मूल्य र मान्यताबाट विचलित भएर होली वाइन खान पुगेका छन् ।’ त्यस्तै प्रचण्ड र ओलीलाई इंगित गर्दै उनले भने, अबको युद्ध लाल झण्डाका विरुद्ध लाल झण्डा प्रयोग गर्नेहरु र दलाल पुँजीवादका बिरुद्ध हुने चेतावनी दिए ।

उता जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुराम भट्टराईले भने माओ जयन्ती मनाएनन् । प्रचण्ड सत्तारुढ नेकपाको स्थायी समितिको बैठकमा व्यस्त थिए, भने बाबुरामले कम्युनिस्ट पार्टी नै छोडिसकेका छन् ।

अहिले नेपालमा माओवादी आन्दोलनको पृष्टभूमि बोकेका पार्टीहरुको आत्मगत आवस्था एकदम रक्षात्मक देखिएको छ । जे भएपनि प्रचण्ड र बाबुराम भट्टराईले हिजो माओलाई आदर्श पुरुषको संज्ञा दिने गर्दथे भने आज उनीहरुलाई माओप्रति वितृष्णा जागेको छ भन्ने हिजोको माओ दिवसले प्रमाणित गरेको छ । कतिपय जानकारहरुले त्यसलाई राजनीतिक बेईमानी भन्ने गरेका छन् । – मेरो दैनिक ।

२०७५ पुष १२,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको