भाषाको पिरलो


पृथीछक बुढा मगर/पोष्टपाटी । गाउँमा नेपाली बोल्न टोपल्ने  मै थिएँ । केहि अक्षर ज्ञान सिकेको । गाउँको पहिलो एसएलसी पास गरेको मान्छे । सबभन्दा बढी पढेलेखेको मान्छे मै गनिन्थें । छिमेकमा टाढावाट पत्र आयो भने मैलाई बोलाउन आउँथे । जवाफ पनि मैलाई लेख्न पठाउँथे । अलिअली अङ्ग्रेजी पनि हान्ने हुनाले कहिलेकाही खैरेहरु आउँदा ज्वरोको ओखती माग्न पनि मैलाई नबोलाई सुख थिएन । मान्छेहरुले त्यसरी महत्व दिएको देख्दा आफुलाई कहिँ नभएको भाषाको ठुलै ज्ञाता भएको मान्थें । आफुलाई खस कुरा प्रष्ट आउँछ जस्तै लागेको थियो । बोलाईमा कुनै टिक्काटिप्पणी थिएन । यो मेरो गाउँ भित्रको कुरा थियो ।

गाउँमा मेरो बोलाईमा कुनै टिक्का टिप्पणी नआएको जब मेरो गाउँ खाम क्षेत्रवाट खस क्षेत्रतिर आएँ तब गाउँमा शुद्ध खसकुरा बोल्न टोपलेको मान्छेको बोलाईमा टिप्पणीको वर्षा हुनथाल्यो । भनियो, मलाई नेपाली भाषा बोल्न आउँदैन । मलाई खसकुरा बोल्न आउँदैन ? कस्तो सरमको कुरा ? लाजले पानी पानी भएको क्षण अझै सम्झिन्छु । आत्म ग्लानिले पिरोल्न थाल्यो । के साच्चिकै म खसकुरा बोल्नै आउँदैन ? तब बोल्दा पनि डर र ढक जस्तो स्थितिले पिरोल्न थाल्यो ।

समस्या के थियो र छ भने त र ट, द र ढ को सहि उच्चारण मलाई आउँदैन । यहि हो कुरा । साथीभाइ यसलाई सुधार गर्न सुझाउथे । प्रयास नगरेको होइन । कोसिस नाकाम भएपछि न्वारान देखिको शक्ति निकालेरै कुन भाषा नेपाली भाषा हो ? खोज्न जागर चलेर आएको हो ।

म जन्मेको भुगोलमा मैले बोल्ने भाषालाई खाम कुरा भनिन्छ भने जसलाई नेपाली भाषा भन्छौं त्यसलाई खस कुरा भन्छौँ । नेपाली भाषा भनेर त्यहाँ कसैले भन्दैन र अहिलेसम्म कसैले भनेको पनि सुनेको छैन । कसैले भनुन या नभनुन खोजी मेरो शुद्ध नेपाली भाषाकै थियो । आम जनमानसमा हामीले भन्दै आएको खस कुरालाई नै नेपाली भाषा भनेर बुझ्दै आएका छौँ ।

शुद्ध नेपाली भाषा खोजिकै क्रममा खाम क्षेत्र भन्दा पश्चिमको भाषा शुद्ध नेपाली हो जस्तो लाग्यो । होइन रहेछ । पश्चिम पनि पुगें, सुदुरपश्चिम पनि पुगें, काठमाण्डौ पनि पुगें, पुर्वको भाषा पनि सुनें । जहाँ पनि फरक भाषा । काठमाडौको मुलवासी र सोलुतिरको सेर्पालाई पनि नेपाली बोल्न आउँदैन भनिन्छ । कसले बोल्छ ? र कहाँ बोलिन्छ शुद्ध नेपाली ? खसकुराको ईतिहास खोज्ने हो भने सुदुरपश्चिमतिर जानुपर्छ, जहाँ पक्का खसकुरा बोलिन्छ । तर समस्या के हो भने ती खसकुरा बोल्नेहरुलाई पनि नेपाली भाषा बोल्न नजान्ने शिविरमा राखिन्छ । अब भो ?

चेतनाको केही ढकनी नखुल्दासम्म शुद्ध नेपाली भाषाको खोजिक्रम जारी रह्यो । तर अहिले मलाई नेपाली भाषा आफैभित्र लुकेर रहेको तथ्य फेला पारेको छु । आफै भित्र ? बडो गजवको रहस्य ! अचेल आफैले बोल्दा निस्किने `त´को ठाउँमा `ट´ उच्चारण हुँदा गर्वले गजक्क छाती फुल्छ । किनभने यहि मेरो वास्तविक परिचय हो । हिजो खसकुरालाई मात्रै नेपाली भाषा वा राष्ट्रिय भाषा मानिन्थ्यो । तर आज राष्ट्र भित्र बोलिने सबै भाषाहरुलाई नेपाली भाषा मानिन्छ । यस अर्थमा मैले बोल्ने भाषा पनि नेपाली भाषा हो । बोल्दा ब्याकरणमा केही तलमाथि परेपनि त्यहि मेरो भाषा हो । त्यही मेरो नेपाली भाषा हो । त्यही मेरो मगर पहिचान र परिचय हो ।

मैले बोल्ने नेपाली खाम कुरा उनिहरुलाई बोल्न लगाउने भए उनिहरु पनि यसरी नै बोल्थे जो मैले खस कुरा बोल्दा उनिहरुको लागि अनौठो जवज निस्किन्छ । त्यहाँ पढाउन आएका मैथली मुलका सिराह सप्तरीका महतो र यादव सरहरु र अन्य खसकुरा बोल्ने सरहरुले बोलेको खाम कुरा नसुनेको हो र ? कसरी बोल्छन् हामीलाई पनि थाहा छ । हो, मैले खसकुरा बोल्दा निस्किने लवज त्यस्तै हो । त्यसैले भाषाको लवजलाई लिएर टिप्पणी गर्नु अशल कुरा होइन भन्छु । अब नेपाली भाषा खोजिरहन जरुरत छैन । किनभने मैले बोलिरहेको `त´को ठाउँमा `ट´ र `द´को ठाउँमा `ढ´ लवज आउने भाषा नै मेरो नेपाली भाषा हो भनेर बुझिसकेको छु । म नेपाली हुँ । मैले मनाउने पर्व नेपाली पर्व हो । मैले बोल्ने भाषा नेपाली भाषा हो । मेरो लवज नेपाली लवज हो । मैले अनुसरण गर्ने सस्कृती नेपाली सस्कृती हो । त्यसैले अब उप्रान्त आफ्नै लवज मासेर कसैको नक्कली लवजको अनुशरण गरिनेछैन । यहि लवज मासियो भने कहाँ पाइन्छ भाषाको बिबिधता ? कहाँ पाइन्छ मेरो जातिय पहिचान ? र मेरो मगरत्व ।

११ मंसिर २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको