कार्तिक १०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापान स्थलमा ‘चियापान बहिस्कार गरौं’ भन्दै पर्चा छर्ने एक ब्यक्ति कुटिएका छन्। कार्यक्रम स्थलमा ‘कथित चियापान बहिस्कार गरौं’ भन्ने पर्चा छरेर होहल्ला गर्ने ति ब्यक्तिलाई नेकपाका कार्यकर्ताले कुटेर बाहिर निकालेका हुन्।
उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचारप्रसार समितिद्धारा जारी गरिएको पर्चा कार्यक्रमस्थलमा छरेका थिए।
चियापान बहिष्कार गर्न अपिल गर्दै जारी पर्चामा ५ बुँदे माग पनि राखिएको छ। एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०/५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।
वरिष्ठ नेताहरुको पदलोलुपता र व्यक्तिगत इच्छाका कारण कार्यकर्ताले मनभित्रबाट एकताको खुसीयाली मनाउन नसकेको पनि असन्तुष्टि पर्चामा व्यक्त गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकतापछि पहिलो पटक आज विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा भृकुटीमण्डपमा चियापान आयोजना गरेको छ।
हेर्नुहोस पर्चा
प्रतिक्रिया दिनुहोस