‘बिचार अास्थाका अाधारमा राज्यले दमन गरेर गम्भीर मानवअधिकार हनन गर्यो’


असोज १०, नेपालगञ्ज । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजनामा मंगलबार नेपालगञ्जमा भएको मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तक्र्रियामा बोल्ने वक्ताहरुले सबैको जीवन जिउन पाउने सम्मानपूर्ण अधिकार हुनुपर्छ भन्दै वक्ताहरुले कसैलाई विचार आस्थाकै कारण दुख दिनु गलत भएको बताएका छन ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निमित्त प्रमुख टंक खनालले भन्नुभयो– “राज्यले आफू अनुकुलको व्याख्या र पहँुचको आधारमा लागु गरिरहेको छ त्यसैको उदाहरण हो अहिले विचारका आधारमा नेकपाका नेताहरुलाई गिरफ्तार गरेर मुद्धा चलाइरहेको छ, यो जनयुद्धको जस्तो देखिएको छ ।”

राष्ट्रिय मानव अधिकार आयोगले यस्तो गम्भीर मानवअधिकार उलंघन भयो भनेर धेरै सिफारिस गरिरहेको भन्दै उहाँले कानुनी शासन र मानवअधिकार प्रत्याभूतका लागि सबै लाग्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा उच्च अदालत बार एशोसियसनका अध्यक्ष विकास आचार्यले संविधानले दिएको अधिकार कसैले पनि हनन गर्न नहुनेमा जोड दिनुभयो । नागरिक भएर सम्मानपूर्ण रुपले बाच्न पाउने सबैको अधिकार उत्तिकै रहेको भन्दै यदि कसैले पाउनुभएको छैन र भोगिराख्नुभएको छ भने कुरा उठाइदिनुस हामी पनि उठाइरहेका छौं उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका ५ नं. प्रदेशका सचिव शुक्रऋषि चौलागाईले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित हुने गरि ल्याएको देवानी फौजदारी ऐन कुनै हालतमा पनि ठिक नभएको भन्दै सरकारकै लागि त्यो घातक रहेको बताउनुभयो ।

पत्रकारलाई अनुसन्धान गर्ने, छानिबिन गर्ने पाटो छुट रहेको भन्दै एक पत्रकारले गल्ती गरेमा सबैलाई दोष लगाउने खालको फौजदारी देवानी संहिता खारेज हुनुपर्ने माग राख्नुभयो ।

यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य दिनेश विकले सबैभन्दा बढी मानवअधिकार प्रत्याभूत माक्र्सवादले नै गर्छ भन्दै यो पुजीवादी व्यवस्थामा सबैभन्दा बढी मानवअधिकार हनन हुने र भइरहेको उल्लेख गर्नुभयो ।

पूजीवाद र माक्र्सवादले उठाउने मानवअधिकार फरक रहेको भन्दै उहाँले आफूहरुले उठाइरहेको माक्र्सवादी मानवअधिकारमा जनताका समस्या समाधान गर्ने, सबैको हकअधिकार सुरक्षित हुने, राष्ट्रियता, जनतन्त्र, जनजीविका बलियो हुने र भ्रष्टाचार, विकृति विसंगति, तस्करी अन्त्य गरि सभ्य समृद्ध विश्व मानव समाजको लागि लागिरहेको बताउनुभयो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका कृष्ण पाण्डेले देशमा अहिले न्यायमा आधारित व्यवस्था नभएकाले कसैले पनि राज्य भएको महसुस गर्न नसकिरहेको बताउनुभयो । उक्त कार्यक्रममा थर्ड एलाइन्सका ५ नं. प्रदेशका संयोजक आलम खाँ, मानवअधिकार रक्षक रविन्द्र कर्ण, पत्रकार मेनका चौधरी, तारा प्रसाद खत्री लगायतले बोल्नुभएको थियो ।

क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका कोषाध्यक्ष जानकी चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव हिम विष्टले गर्नभएको थियो ।

१० आश्विन २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको