कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हट्यो


भदौ १०, कञ्चनपुर । कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्र्यू हटेको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कर्फ्यू हटेको हो।

दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो ।

पाँच घण्टाका लागि कर्फ्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ। यसअघि सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

पन्तको घटनाको छानबिनको मागका क्रममा भएका प्रदर्शनलाई उत्तेजक बनाउने प्रयास भइरहेका बेला मन्त्रीपरिषद्ले गम्भीर समीक्षासहित जिल्लास्थित सर्वपक्षीय बैठकको सुझावसमेतलाई ध्यान दिई सो निर्णय गरेको हो ।

गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो ।

१० भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको