कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग


साउन १०, काठमाडौं । राप्ती एकता समाज, कुवेतले साउदी अरबमा जेलजीवन बिताइरहेका दिलबहादुर घर्तीको जीवन रक्षार्थ पठाएको १ लाख २७ हजार रुपैयाँ दिलबहादुरकी श्रीमती मनिका बुढामगरलाई आज हस्तान्तरण गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले समाजको प्रतिनिधिका रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै दिलबहादुर घर्तीकी श्रीमती मनिका बुढामगरले मान्छे जहाँ भए पनि आफ्नो श्रीमानको जीवन रक्षाका लागि सहयोग गर्ने कुवेतमा रहने सम्पूर्ण दाजुभाइप्रति हार्दिक आभार र धन्यवाद ज्ञापन गरिन् ।

उनले रोजगारीका लागि कुवेत पुगेर आफ्नो गास कटाएर पनि यति ठूलो गुण लगाएकोमा जीवनभर यसको सम्झना गर्ने बताइन् । सहयोग हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले रोजगारीका लागि कुवेत पुगेका दाजुभाइहरुले “राप्ती एकता समाज कुवेत” स्थापना गरी एकतावद्ध भएको र त्यसमार्फत सामाजिक सेवामा सक्रिय भइरहेको जानकारी दिए ।

समाजले भूकम्पपीडित, अग्निपीडित, बाढीपीडितलाई राहत दिनुका साथै सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा अन्य सामाजिक काम गरिरहेको जानकारी पनि दिएका थिए ।

त्यस अवसरमा “दिलबहादुर घर्ती बचाउ अभियान मूल समिति”का सचिव जीवन रोकामगरले अब दिलबहादुरका लागि आवश्यक ब्लडमनि संसारभरिका नेपाली दाजुभाइहरुको सहयोगबाट लगभग पूरा भएको जानकारी दिए । उनले राप्ती एकता समाज कुवेतलाई पनि विशेष आभार प्रकट गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव मनोज घर्तीमगरले विश्वभर रहेका दानवीर नेपालीहरुकै सहयोगले अब दिलबहादुरको जीवन रक्षा सम्भव भएको बताउँदै राप्ती एकता समाज कुवेतलाई धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै, नेपाल पत्रकार महासंघ, ५ नम्बर प्रदेशका अध्यक्ष मौसम रोकामगरले शुरुमा असम्भव जस्तो लागेको भए पनि सहृदयी दानवीरहरुको सत्प्रयासमा दिलबहादुर घर्तीले नयाँ जीवन पाएको बताए । राप्ती समाज कुवेतका अध्यक्ष कृष्णबहादुर खड्काले पनि कुवेतमा रहेर दिलबहादुर घर्तीको जीवनरक्षाका लागि सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले एक नेपालीको दुःखमा संसारैभर छरिएर रहेका नेपालीहरुको सानो सानो सहयोगबाट उनको जीवनरक्षा हुन सकेकोमा प्रशन्नता व्यक्त गरेका छन् । सडक दुर्घटनामा एकजनाको ज्यान गएपछि रोल्पा थवाङका दिलबहादुर घर्ती साउदी अरबमा जेलजीवन भोगिरहेका छन् । मृतकको परिवारले ब्लडमनि स्वीकार गरेपछि उनको जीवन रक्षाका लागि स्वदेश तथा विदेशमा सहयोग संकलन अभियान चलिरहेका छन् ।

१० श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको