रक्षामन्त्री र प्रहरी महानिरीक्षकको अभिव्यक्ति नै भ्रामक


पुस १०, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ । गृहमन्त्री रामबहादुर थापा भए पनि उपप्रधानमन्त्री पोखरेलले पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्ने अभिव्यक्ति दुई साताअघि नै दिएका थिए।

तर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी पन्तको हत्यारा अझै पत्ता नलागेको बताए। ‘अनुसन्धान भइरहेको छ।

अनुसन्धान क्रममा कहिले छिटै परिणाम प्राप्त हुन्छ, कहिले धेरै समय पनि लाग्नसक्छ। यो केसमा पनि प्रहरीले अधिकतम साधानस्रोत प्रयोग गरिरहेको छ’, खनालले भने।

मंसिर २२ गते राजधानीमा आयोजित एक कार्यक्रममा उपप्रधामन्त्री पोखरेलले भनेका थिए, ‘निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक गर्छौं।’ रक्षामन्त्री पोखरेलको सो अभिव्यक्तिपछि प्रहरीले हत्यारा पत्ता लगाएको हो कि भन्ने विश्वास जागेको थियो तर महानिरीक्षक खनालले सोमबार हत्यारा पत्ता लगाउन अनुसन्धान भइरहेको बताएपछि भिआइपीका अभिव्यक्ति आधारहीन देखिएको छ।

रक्षामन्त्रीले अभिव्यक्ति दिएकै अघिल्लो दिन कञ्चनपुरका प्रदीप रावललाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी बयान लिन थालेको थियो। दसौं मानवअधिकार राष्ट्रिय महाभेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भनेका थिए, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ। हामी चाँडै विधिसम्मत ढंगले सार्वजनिक गर्छौं।’ उनले कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै राजनीतिक आवरणमा हत्यारा जोगाउन नलाग्न भनेका थिए।

उनले भनका थिए, ‘सरकारले त्यस (हत्यारा) लाई सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ। पुष्पाजी ख्याल गर्नुहोला।’ तर अहिलेसम्म प्रहरीले सो प्रकरणमा कसैलाई पनि अपराधी वा दोषी देखाएको छैन। रक्षामन्त्रीको अभिव्यक्तिअघि प्रधामन्त्री केपी शर्मा ओलीले पनि पन्तको विषयमा विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो।

१० पुष २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको