ऊर्जामन्त्री पुन बेलग्रेड प्रस्थान


कात्तिक ८, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका छन्।

सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।

सम्मेलन शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ। मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापासमेत भ्रमण दलमा सहभागी छन्।

सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसका साथै उनले आफ्ना समकक्षी ऊर्जा र माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेण्डर एण्टिकसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

सर्विया भ्रमणका क्रममा मन्त्री पुनले त्यहाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसंग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिएका छन्।

सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागीता रहनेछ। उक्त सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावना बारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको छ।

८ कार्तिक २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको