‘सुल्ताना’ [अरबको डायरी]


दुबई । दशैँकाे पूर्वसन्ध्या ।

युनियन मेट्राे स्टेसनकाे विशाल अन्डरग्राउन्ड स्टेसन । रेडलाइनबाट जाबेल अलि – रसिदिया जाने मेट्राे र ग्रीनलाइनबाट इतिसलात-क्रीक जाने मेट्राेहरू छुटिने तथा भेटिने ठाउँ – इन्टरजङ्कसन ।

याे स्टेसनमा हजाराैँ यात्रीहरूसँगै उनीहरूका दिल मिल्छन्, छुटिन्छन् ।

मलाई जानु त कहिं पनि थिएन, बस् मेट्राे चढेर दुबई देख्ने रहरले चढेको थिएँ । मेट्राे सुनसान थियाे । खासै यात्रीहरू थिएनन् । हातमा अरबीक साहित्यकाे किताब बाेकेकाे थिएँ । निकै रहरले शिरमा “घाेत्र” भन्ने अरबी कपडा बाँधेकाे थिएँ । याे अरबी लूक मलाई निकै मनपर्थ्याे । ध्यान चाहिँ किताब भन्दा बाहिर हेर्नुमा थियाे ।

म सीटमा एकसुरले बसेर सुरुङ मुनि छँदा अन्डरग्राउन्डकाे अँध्याराेसँगै शान्त हुन्थेँ अनि बाहिर निस्केपछि गगनचुम्बी महलकाे उचाईसँगै अग्लिइन्थेँ ।

“सलाम अलैकुम !”
निकै मधुर नारी अावाजले मलाई बाेलायाे ।

“वालेकुम सलाम!” मैले फर्केर हेरेँ । काखमा सुँकसुकाइरहेकाे बच्चा लिएकी ती महिलाका अति सुन्दर नीला अाँखा मात्रै देखिएका थिए । बाँकी शरीरलाई पुरै कालाे “अबाया”ले ढाकिरहेकाे थियाे । बच्चा मानिरहेकाे थिएन ।

उनकाे सुन्दरतालाई उनका अाँखाले स्पष्ट बाहिर देखाउँथे । दुइ अाँखाबीचकाे भागमा काला बाक्ला अाँखिभाैँ ! गाेराे रङ्ग । मानाैँ – कुनै गुलाबलाई कालाे कपडाले पर्दा गरेजस्तै ।

हादा फादी? (के याे खाली हाे ?) मेराे छेउकाे सीट देखाएर भनिन् ।

सानाे झाेला छेउमा राखेर मेरै सीट नजिक अाएर बसिन् । म उनलाई सजिलो हाेस् भनेर उठेँ । भनिन् – ला ला ! जलिस् ! माफि मुस्किल । (हाेइन हाेइन बस । केही समस्या छैन) ।

“इन्ता आरफ अरबी ? (अरबी अाउँछ तिमीलाई ?)” । म‌ैले भनें – अल हमदुलिल्लाह ! (भगवानकाे कृपा छ।)

उनले मुख ढाकेकाे कपडा हटाएर लुकाएको चन्द्रमुहार देखाइदिइन् । साक्षात् पूर्णिमा । मानाैँ, कुनै देवी सशरीर मेराे सामुन्ने उपस्थित छन् ।

साेधिन् –
“सू इस्मक?” (के नाम तिम्राे?)
– अना अविरल !
– माशाअल्लाह ! हिन्दी ?
(कति राम्रो नाम ! इन्डियन हाै )

ल्या, निबाली ।
(हाेइन, म नेपाली)
– निबाली ? माशाअल्लाह ! निबाली वाइद हेलो, तैइब यानी।
(नेपाली अति सुन्दर र असल हुन्छन् )

– हाम्दुलिल्लाह ( भगवानकाे कृपा)
– सू इस्मि ? (तिम्राे नाम नि )
– सुल्ताना
– सुब्हान अल्लाह !!

– इन्ती मघरिबी ? (तिमी माेरक्कन हाै )
– ल्या, सूरी ! (हाेइन, सिरियन)

सुँकसुकाइरहेकाे बच्चा मलाई हेरेर रून थाल्याे । मलाई देखेर डरायाे कि भनेर मैले भनेँ – लेस इब्कि बच्चा ? खाैफ ? (बच्चा किन राेएकाे, डराएर हाे ?)

सन्नाटा छायाे । केवल रेल गुडेकाे अावाज मात्रै कानमा अाइरह्याे । एकछिन पछि रसिला अाँखा पारेर भनिन् – यसकाे बाबा “अहमद” तिमीजस्तै अग्लाे थियाे, ठूलाे ज्यान, हेन्सम । अार्मीमा थियाे, सिरियामा शहीद भयाे । यसले बाबालाई खूब माया गर्थ्याे, अाज तिमीलाई देख्दा बाबा सम्झियाे सायद !!

अस्तघफिरूल्लाह ! – मैले अरबी भाषामै सहानुभूति जनाएँ ।

“जन्नत(स्वर्ग)जस्ताे सिरिया हेर्दाहेर्दै जेहन्ना (नर्क) भयाे । म लतिफा (कविता) लेख्थेँ, उ मेराे काखमा सुतेर सुन्थ्याे । घरमा अाउँदा मलाई पार्कमा लैजान्थ्याे । आरुस (विवाह) भएकाे रात उसले मलाई पत्थर भएकाे सुन्दर अङ्गुठी उपहार दिएकाे थियाे……!

उ मारिएपछि सेनाकाे परिवार बस्न सक्ने अवस्था रहेन । भागेर तुर्की जाने पानीजहाजमा चढेँ । जहाजमा मान्छे धेरै भएर मेरा बुबाअामासहित सबै समुद्रमा डुबे । म भाग्यले बाँचे । मरेकाे भए पनि हुन्थ्याे, दुख लेखेकाे । काखमा याे बच्चा, खबुस र पानीकाे भर । अनिष्टकाे अाशङ्का । कुनै गुनाह नगरी अल्लाहले यत्राे “कहर” दियाे । ठुलाे मुस्किलले म बाँचेर याे देश इमारातमा अाएँ । मलाई अल्लाहसँग ठूलाे गुनासाे छ…!

सरकारले खबुस र घुर्फा (काेठा) त दिएकाे छ तर म लासजस्ताे भएकी छु ! न “अहमद” साथमा, न परिवार ।

“हेर ! उसले दिएको अङ्गुठीकाे पत्थर हरायाे तर अङ्गुठी छ मसँग………… !” हातका अाैँला ढाकेकाे कपडा हटाएर उसले अङ्गुठी देखाई ।

“उ पत्थर रहेछ, म अङ्गुठी ! पत्थर हराएकाे अङ्गुठीजस्तै मेराे जीवन !” उसकाे अन्तरस्करण बाेल्याे ।

“याे बच्चाकाे व्यवस्था राम्रो भैदिए म “अहमद” लाई भेट्न छिटै जन्नत (स्वर्ग) जानेथिएँ………… इन्शाअल्लाह !!”

त्यसमाथि “अहमद” जस्तै तिमी अाज भेटिएर उसकाे घाउ झन् दुखाइदिइयाै ……!

मलाई हजार बिच्छीले टाेकेकाे भान भयाे । मेराे पत्थर दिल पग्लियाे । अाँखाकाे डिल फुट्याे । बच्चालाई काखमा लिन मन लागेकाे थियाे तर फर्केर हेर्ने हिम्मत अाएन । वाक्य फुट्नै सकेन । मेराे पत्थर-दिलले अाज मलाई नराम्रोसँग धाेका दियाे र परेलीकाे डिल भत्काइदियाे ।

सिरियाकाे युद्धले म लाखाैँ किलोमिटर टाढा बस्ने नेपालीलाई पनि नराम्ररी रुवाइदियाे !

रेल DAFZ स्टेसनबाट अघि बढ्याे । मैले पछाडि फर्केर हेरेँ । अधिकांश मान्छे झरिसकेछन् । मेट्राे लगभग खाली थियाे । स्पिकरमा अावाज अायाे – अर्काे स्टेसन “अल कुसैस” हुनेछ ।

उसले भनी – ……… खलास्, अना नेजिल हिना। माअस्सलामा अविरल ! (तिमीसँगकाे यात्रा पनि “अहमद”सँगकाे जस्तै छाेटाे रहेछ अविरल ! म जान्छु । तिमीलाई अल्लाहले खुशी राखुन्)

रेलले गति लियाे । उसलाई झाेला हातमा दिन उठेकाे मात्र थिएँ, एक्कासी बच्चासहित मलाई अँगालो हालेर झम्टेर राेइ । बच्चाले पनि मलाई “बाबा !” भनेर च्याप्प समातेर राेयाे, म केही गरे पनि सम्हालिनै सकिनँ र राेएँ । सबै सँगै राेयाैँ । अपरिचितसँगकाे याे रुवाई परिचितसँगकाे भन्दा बढी पिडादायी भयाे ।

जाने बेला “५०० दिरहाम जरिवाना” काे प्रवाह नगरिकन भिजेका परेला र चिसाे अाेठले हृदयसम्म पुग्ने गरी मेराे निधार, गाला र अाेठ चुमी र एकपटक पनि मतिर नहेरी बाहिर निस्की !

४० मिनेट अघि भेटिइ र जीवनभरिकाे लागि सम्झेर रुने पलहरू उपहार दिएर “सुल्ताना” कता हाे कता गइ । हेर्दाहेर्दै उसकाे अाकृति स्टेसनभित्रै धमिलाे भयाे अनि हरायाे ।

८ कार्तिक २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको