निर्मला हत्या प्रकरणले लियाे नयाँ रुप : साथी रोशनी र बबिता पक्राउ


भदौ ९,  कञ्चनपुर ।  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको छानबिनको क्रममा शंकाको घेरामा रहेका दुई दिदी बहिनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मलाकी साथी १८ वर्षीया रोशनी बम र उनकी दिदी बबिता बम छन् ।

साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला घर नफर्किएपछि सबैको ध्यान रोशनीको परिवारमाथि गएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्त अबेरसम्म नफर्किएपछि छोरी खोज्न रोशनीको घरमा जानुभएको थियो । छोरीको बारेमा रोशनीसँग साथीसँग सोधखोज गर्दा उनकी दिदीले आफूलाई हकारेको दुर्गाको भनाई छ ।

‘तिम्री छोरी कहाँ गई हाम्ले ठेक्का लिएका छौँ’ दुर्गाले भन्नुभयो ‘कतै पोइला गई कि ? आफ्नो माल कस्तो छ हेर्नु छैन । हाम्लाई आरोप लगाउने भन्दै बबिताले मलाई हकारिन ।’

छोरीलाई राख्न आफूलाई झुट बोलेका हुन सक्ने भन्दै आफूले भित्र हेर्न खोजे पनि भित्र पस्न नदिएको उहाँले बताउनुभयो ।

‘पहिलो पटक एक्लै गएकी थिएँ । रोशनीले त निर्मला गइहाली भनिन्’ दुर्गाले भन्नुभयो, ‘भित्र हेर्न त मन थियो तर  बबिताले हकारेपछि त्यसै फर्किएँ ।’ फर्किएर घर पुग्दा पनि निर्मला नआएपछि उहाँ फेरि छिमेकीसँग रोशनीको घर पुग्नुभयो । यो पटक पनि बबिताले त्यसरी नै हकारेपछि उहाँले रोशनीको घरमा निर्मला भएरनभएको हेर्दिनका लागि नजिकको अस्थायी प्रहरी चौकीमा गुहार माग्न गएको बताउनुभयो ।

‘मलाई किन–किन छोरी भित्रै छ जस्तो लागेर रोशनीको घरभित्रै हेर्ने मन थियो’, उहाँले भन्नुभयो, ‘तर प्रहरीले पनि रातिमा अरुको घरभित्र हेर्न मिल्दैन भन्दै टार्यो ।’ सँगै पढ्ने साथी हराउँदा खोज्न जानु त परको कुरा उल्टै परिवारलाई हकारेपछि छरछिमेकीले पनि रोशनीको परिवारमाथि शंका गरेका छन् ।

उनीहरुले साउन ११ गते निम्बुखेडा खोलामा निर्मलाको साइकल भेटिएपछि बबिताले साइकल भेटिए शव पनि त्यहीँ वरपर हुन सक्ने बताएको भन्दै त्यसले अझ सशंकित बनाएको बताएका छन् । निर्मलाको शव भेटिएपछि पनि रोशनी (साथी) र बबिता (साथीकी दिदी) घटनास्थल नगएको परिवार तथा आफन्तको भनाई छ ।

निर्मलाको घटनाको प्रकृति र रोशनी (साथी) र बबिता (साथीकी दिदी) को प्रतिक्रिया पछि परिवार तथा स्थानीय बासिन्दाले उनीहरुमाथि पनि अनुसन्धान गर्नु पर्ने माग गर्दै आएका थिए ।

९ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको