सहकर्मी कुर्सीमा, प्रकाण्डलाई मुद्दैमुद्दा


भदौ ९, काठमाडौं । दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन् ।

नागरिक दैनिकमा खबर छ, उनका पूर्वसहकर्मीहरु रामबहादुर थापा गृहमन्त्री, वर्षमान पुन ऊर्जामन्त्री, मातृकाप्रसाद यादव उद्योगमन्त्री र चक्रपाणि खनाल कृषि मन्त्री सत्तामा भएका बेला सँगै युद्ध लडेका विश्वकर्मा हिरासतमा छन् ।

२०६२-०६३ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकार र २०६८ सालमा झलनाथ खनाल नेतृत्वमा बनेको सरकारमा विश्वकर्मा मन्त्री भएका थिए । सुरुमा विश्वकर्मालाई व्यापारीबाट सात करोड रुपैयाँ चन्दा असुल गरेको अभियोगमा पक्राउ गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी विप्लवका प्रवक्तासमेत रहेका उनलाई प्रहरीको विशेष ब्युरोले पक्राउ गरी थप अनुसन्धान गर्ने जनाएको थियो ।

अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको समय लिएको प्रहरीले त्यसपछि तीन दिन थपाएको थियो । विश्वकर्माका तर्फबाट नरेन्द्रबहादुर विकले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई १ भदौमा रिहा गर्न आदेश दिएको थियो ।

फेरि पनि पक्राउ पर्ने भएपछि विश्वकर्माका सहयोगीले राष्ट्रिय मानवअधिकार आयोगमा जीवन रक्षाका लागि भन्दै खबर गरे । त्यसपछि आयोगका सदस्य सुदीप पाठक उनलाई लिन आए । राति ९ः३० को समयमा सर्वोच्च अदालतबाट पाठककै गाडीमा निस्केका विश्वकर्मालाई प्रहरीले गाडीबाटै पक्राउ गरी काभ्रेको एक क्रसर उद्योगमा आगजनी गरेको अभियोग लगायो ।

त्यसैदिन उनलाई धुलिखेल हिरासतमा राखियो । त्यसपछि उनका भाइले सर्वोच्चमा पुनः बन्दीप्रत्यक्षीकरणको रिट दायर गरे । सर्वोच्चले भदौ ७ मा उनलाई रिहा गर्न आदेश दियो । रिहालगत्तै सर्वोच्चको गेटबाहिरबाट पक्राउ गरी उनलाई नुवाकोट हिरासतमा राखिएको छ ।

सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै फेरि पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत नुवाकोटमा पेस गरिएको छ । यसअघि नै जिल्ला अदालत नुवाकोटमा उनीविरुद्ध आगजनी मुद्दा दायर भएको थियो । गत महिना नुवाकोटको बेलकोटगढीमा एस्काभेटरमा आगजनी गरेको आरोपमा उनलाई फरार प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको थियो ।

९ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको