न्याय, कानुन र अधिकार पहुँचवालाको खेलौना, लाचार सरकार


निश्चल दाहाल । न्याय, कानुन र अधिकार गरिबको लागि हैन । अझ एक नारी पनि परिन् र त्यो पनि गरिब परिवार भित्र भने त कुनै गुञ्जायसै रहन्न ती कुराहरुको ।

एउटा काल्पनिक कथा सुनाउन मन लाग्यो । यसले धेरै बिषयबस्तु समेट्न सक्छ।

कल्पनाको कुनै सुन्दर नगरीको सुन्दर गाउँमा एक मध्ययम बर्गीय सुखी परिवार बसोबास गर्दथिए । दुई छोरा र एक छोरी भएको त्यो परिवारमा बाबु आमा सबै मिलि बस्थे । साना दुई भाइका जेठी दिदी सुशिला पढाइमा अति तेज र उति नै सुन्दर पनि थिइन् । कलेज भरिकी राम्री मानिन्थ्यो उनलाई ।

सुखी त्यो घर छेउमा अर्को एक नेताको (मन्त्री) बसोबास थियो । एक्लो छोरा र श्रीमतीसँग बसोबास गर्ने ती मन्त्री कहिले काठमाडौ त कहिले त्यही ठाउँ ओहोर दोहोर गर्दै ब्यस्त हुन्थे । बडेमानको घर ठड्याएका मन्त्रीका छोरा टिलिक्क टल्कने कार लिएर कलेज जाने गर्दथ्यो । त्यही कलेज जहाँ सुशिला अध्ययन गर्दथिन् ।

सुशीला प्रती मोहित नेताको छोराले कामवासनाको उन्मात खप्न सकेन । धेरै प्रयास गर्यो सुशिलालाइ मनाउन तर सुशिला इज्जतिलो परिवारकी जिम्मेवार छोरी, मान्ने कुरै भएन । एक साँझ सुशिला अलिक अबेर फर्कदै थिइन कलेजबाट, जब नेताको छोराले उनलाई जबर्जस्ति आफ्नो गाडिमा हालेर नजिकैको जङ्गलमा लगेर बलात्कार गर्यो ।

केही दिन रुदै मात्र बस्ने छोरिसँग कुरा खुस्काएरै छाडिन् आमाले र न्यायको लागि प्रहरिको शरण परिन् । कागजी काम गरेर प्रहरीले अदालतमा मुद्दा त पुर्यायो तर मन्त्रीको छोराको गिरफ्तारी भएन । सुशीलाको लागि वकालत गर्ने वकिल कोहि ननिस्किए पछि सुशिला आफैले आफ्नो मुद्दा हेर्नु पर्ने भयो । कति लज्जित हुँदै उनी अदालत धाइरहेकी थिइन् । गहभरी आँसु बोकेर सलले अनुहार ढाकेर आफ्नी आमाको काधमा टाउको झुकाउदै उनी अदालत जान्थिन् ।

धेरै दिन पछि एक दिन आयो जहाँ मुद्दामा बहस हुने भयो । वकिल बिहिन उनी आफै लड्दै थिइन र प्रतिपक्षी वकिलको प्रश्नले अझ लज्जित बनाउदै थियो उनलाई । तिमिलाई कसरी बलात्कार गर्यो, कहाँ कहाँ समायो, के खोल्यो, के भन्यो आदि सबै सबिस्तार उनलाई सोधियो । रुदै हिम्मत जुटाएर उनले सबै भनिन तर वकिलले एउटा यस्तो नजिर ल्यायो सुशीला छागाबाट खसे झै भइन् ।

वकिलले जर्जसाहेबको अगाडि नेताको छोरालाइ उभ्याएर भन्यो । उक्त मितिमा (बलात्कार भएको दिन) सुशिलाले जोडले चिच्याएर यी बाबुको कानको जाली फुटेको छ । उ कान सुन्न सक्दैन । सुशिलालाई कारवाही गर्नु पर्यो । सुशिलाले मैले उसको कानको जाली फुटाएको हैन, मैले त्यसरी चिच्याएको हैन बरु उसले मेरो बलात्कार गरेको हो भनिन् । त्यो वाक्य भुइमा झर्ने बित्तिकै वकिलले भन्यो “उनले चिच्याएको थिएन भनेर भनी रहेकी छिन” त्यसैले यो समझदारिको सम्पर्क थियो बलात्कारको हैन । उसले आरोप मात्र लगाएको हो यो बाबुलाई । केस ढिसमिस ।

पहुँचवाला मन्त्रीले आफ्नो छोराको लागि कानुन किन्यो, न्याय किन्यो र इज्जत लिलामी गरिदियो । यतिमात्र कहाँ हो र सुशिलाको लास केही दिनमा त्यही जङ्गलमा नाङ्गो अवस्थामा भेटियो । प्रष्ट थियो उनको फेरि बलात्कार गरेर हत्या गरिएको हो तर कानुनले आत्महत्या भनी दियो ।

हो! माथिको कथा बनावटी हो तर यसका धेरै पलहरु अहिलेको हाम्रो नेपाली अवस्थासँग मिल्ने कुरा नकार्न सकिन्न । न्याय बास्तवमा मरेको छ । दुई तिहाइको धक्कु लगाउने सरकार आफनो पार्टिगत समस्यामा ब्यस्त छ । खरो रहनु पर्ने प्रतिपक्षी मुद्दा बिहिन छ र हरेक कुरालाई राजनितिक रङ्ग दिन तल्लिन छ ।

हनुमानका बिल्ला भिरेर युवाहरु आफ्नो दिमागको प्रयोग नगरी रटाइएको कुरा बखान्नमा ब्यस्त छन । सामान्य ब्यावाहारिक ज्ञान नभएजस्तो भेडा झै अघी बढी रहेका छन । कुनैबेला म पनि त त्यही भेडा थिएँ जहाँ मालिकले हिडायो हिड्ने, तर अहिले मैले मेरो मार्ग भेटे । मेरो मार्गमा कसैले बनाएको स्वार्थी नीति लादिदैन । मेरो मार्गमा सत्य र असत्य बिच ठूलो खाडल छ र त्यो देखिन्छ ।

गुह्य कुरोमा जान अघि राजनीतिका सबै बिल्ला उतारेर सबै अरु निहित सोच फ्याकेर यसमा बिचार गर्न अनुरोध गर्दछु ।

नेपालमा बलात्कारको घटना नयाँं हैनन । बिगत देखि नै भएका हुन र बलात्कारीले सजाय नपाएका पनि हैनन, छन केही उदाहरण । तथापी कानुन चुनिन्दा हालिमुहालीकर्ताको पेवा भएको भने प्रष्ट देखिन्छ ।

अहिले सार्वधिक चर्चामा रहेको निर्मला हत्याकाण्डका केही पक्ष हेरौ । यी प्रष्ट छन र सबैले मनन गर्न सक्ने कुरा हुन् यदि तपाईंको आँखामा कुनै पट्टी लगाइएको छैन भने । मेरो नजरमा निर्मला ती धेरै ज्ञात अज्ञात अनुहारहरुका प्रतिनिधि हुन जसले कसैको क्षणिक सुखको लागि ज्यान गुमाउन पर्यो । निर्मला कानुन गुमराहमा रहेको र दबिएको ज्वलन्त उदाहरण पनि हुन् । निर्मला सरकार लगायत न्यायको जनता प्रतिको बेवास्ताको नमुना हुन र निर्मला कसैको राजनितिक मुद्दा हुन् ।

तल सामन्य रुपमा हेरौ देशको अभिन्न र शक्तिशाली अङ्गहरुलाइ यस् प्रसङ्गमा जोडेर ।

प्रहरी

ख्याति प्राप्त नेपाल प्रहरी एक स्वतन्त्र रुपले काम गर्ने संस्था हैन भनी हामी सबैलाइ ज्ञान छ । नेता भनाउदाको औलामा प्रशासन नाच्दैन भनेर छाती चौडा बनाई लड्न खोज्ने प्रहरी दिउसै जागिरबाट सहिद भएका छन । थेचार्न सकिने र पहुँच नभएकालाई उदाहरण बनाउन प्रहरीले बर्दिवाला दादागिरी देखाएको धेरै उदाहरणहरु पनि छन । के बास्तवमा प्रहरीसँग यति पनि सामर्थ्य छैन जसले निर्मलाको हत्यारा पत्ता लगाओस ।

सरकारको प्रत्यक्ष निगरानिमा रहेता पनि शान्ती सुरक्षाको हकमा अडिग रहेर काम गर्नु पर्ने प्रहरी जाबो केही रुपैयाको लागि भन्सार, अड्डा अदालत, एयरपोर्टमा र्याल काट्दै बसेको छ । के यी कुराबाट बेखबर होला त सरकार र प्रहरी प्रमुख ? तर यिनिहरु यस्तै त हो भन्दै बसिरहेका छन ।

अरे, हुँदा हुँदा पोलमा न्यायको माग गर्दै टासिएको एक मृतकको पोस्टर च्यात्न आदेस दिने र आदेस मान्ने ती प्रहरीहरु कलङ्क हुन मानवको नाममा । बर्दी लगाएर आफ्नो धक्कु जमाउन पाइन्छ भनेर जागिर खानेको चर्को प्रतिनिधित्व भएको जस्तो छ प्रहरी सङ्गठन । अब के आस गर्ने र ? न्याय देला त यस्तो अस्तब्यस्त निकायले?

नाङ्गो लासमा परिवर्तित निर्मलाको नाङ्गो शरीर कति पटक हेर्न पुग्यो प्रहरी ? कति कपडा च्यातेर परिक्षण भन्दै समय ब्यतित गर्यो ? कति श्रोत र साधनको दुरुपयोग गर्यो ? तर यथार्थ बोल्न सकेन । किन मौन रह्यो त प्रहरी ? कतै माथिको कथा झै हाइप्रोफाइल बलात्कार त हैन यो ? कतै प्रहरी बिकेका त छैन ?

सरकार

सरकारको उदासिनताको कति कुरा गर्ने ! शरिरका हरेक रौ ठाडा हुन्छन रिसले । एक बालिकाको इज्जत लुटेर मारियो । हत्यारा पत्ता लगाउ भन्दै सरकारलाई सम्झाउनु नपर्ने हो ।

खैर! आफ्नै भागबण्डामा ब्यस्त छ कि सरकार भनेर जनताले सम्झाउन आन्दोलन गरे, न्याय मागे थप केही ज्यान गयो । एक मृतकको न्यायको लागि अर्कोले मृत्यु अङ्गाल्यो । कर्फ्यु लाग्यो र दैनिकी अफ्टेरोमा रह्यो । यसरी बलेको आगोलाई सरकारले निभाएन बरु आफै खरानी बनी सेलाओस भनी चुप बस्यो ।

निर्मला त एक प्रतिनिधि पात्र हुन । कति आवाज हराएकाहरु छन जो प्रती उदासिन छ सरकार । आफुलाई सरकारको हिमायती जताउन चाहनेको एउटा जमात नै खडा भएको छ । यिनिहरुको नित्य कर्म भनेको हुँदै नभएको कुरा सम्प्रेषण गरी गलत खबर बाड्ने र हरेक झुटलाई दिन रात लगाएर गोयबल्स शैलिमा सहि बनाउने हो ।

दिन रात नारी लुटिएर हत्या भैरहेको देशमा नारीको नामबाट चर्चा बटुलौ भन्दै सरकार र उसका हिमायती खोक्दै छन् विश्व सुन्दरी प्रतियोगीताको बारे । राम्ररी अङ्ग बिकसित पनि भै नसकेकी चेलीहरु लुटिएर मारिए पछि पनि कडा रुपले प्रस्तुत हुन नसक्ने लाचार सरकार नारी प्रतिनिधित्वको फुई लगाउदै हिड्छ ।

सद्नमा पैसा कम भयो भन्दै उफ्रने कुन महिला प्रतिनिधि बलात्कार हत्या तथा अन्य यौन हिंसाको बारेमा जागरुक भएर हिडेका छन ? कसैले सकेको छ अभियान लिएर हिड्न ? अनि नारिबादी फुई लगाउछन सदनमा बसेर केही महिला नेत्रीहरु । अनि चुलामा ब्यस्त नारीलाई अधिकार दिन्छौ भनी भट्भटाउछन चुनावी सभाहरुमा । यी सब वाईहत नारा हुन् यिनका ।

माथिको कथामा झै कतै कुनै मन्त्री भनाउदाको ठाडो सम्बन्ध त छैन यो घटनामा पनि ?

प्रतिपक्षी (सरकारमा रहेदेखी बाहेकका सबै)

यो एउटा दरिलो शक्ति हो। लोकतान्त्रिक पद्धतिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ यो शक्तिले पनि । सम्बन्धित मुद्दा समाधान गर्न प्रतिपक्षी पनि सक्षम अवश्य छ तर सरकारलाई अफ्टेरो पार्ने धाउन्नमा मात्र देखिन्छन । हत्यारा हामी पत्ता लगाउछौ भनेर काठमाडौमा धक्कु दिदै भाषण गरेर सोझा जनताको समय बर्वाद गर्न पनि थालीसके कति दल त ।

हालको नेपाली अवस्थामा रहेका सबै प्रतिपक्षीको सरदर मत जोड्ने भने सरकार पक्ष भन्दा बढी छ । त्यति कार्यकर्ता बोकेका प्रतिपक्षीहरु भिख माग्दै सडकमा लडिरहेका छन । राजनितिक मुद्दा बनाएर सरकारलाई काम गर्न दिएन भन्ने आरोप खप्नुको सट्टामा सरकारी काम काज नै ठप्प बनाउन सकिन्न र ? हरेक निकायमा प्रतिनिधित्व छ प्रतिपक्षीको यदि इच्छा हुने हो त यो हत्या प्रकरण लगायत धेरै मुद्दा झन्झट बिना नै सुल्झी सक्ने थिए । तर के गर्ने राजनितिक मुद्दा जिवन्त राख्नै पर्यो । ईच्छाशक्ती हुनु पर्‍यो नि !

हामी जनता

हामीले हाम्रो पहिचान सिमित बनाइसकेको छौ । हामी या त नेकपा या त काङ्ग्रेस या त फोरम या त कुनै राजनीतिक दलको नामले चिनिन्छौ । हामीलाई हाम्रो बा आमा भन्दा सम्बन्धित दलका नेता प्यारो र महत्त्वपूर्ण लाग्न थालेको छ। हामीलाई जे रटाइन्छ त्यही फलाक्दै हिड्न थालेका छौ । एउटाले सरकार बिरोधी कुनै कृयाकलाप ल्यायो भने सच्चाइ नबुझी हाम्रो पार्टी भन्दै हाम्फाल्छौ हामी । सरकारको कामहरु एक रति बोल्न सकेको छैन, देखिएको छैन, नभएको काम यो भयो भन्दै फलाक्ने सरकारवादी झुण्डका प्रतिनिधि भएका छौ हामी ।

हामी अरुको दुखलाई कुनै दलले बनाएको मुद्दामा बेरिएका छौ । बास्तवमा न्यायको लडाई त हामीले लडेको नै छैनौ । एक मिनट बस एक मिनट आँखा चिम्म गरेर आफुलाइ खोजौ त । के हामी कुनै दलको गुलामी गर्न जन्मिएका हौ त ? हामीले भोलि यी समस्या हाम्रोमा पनि पर्न सक्छ भन्ने महशुस गरी यसलाई कसैको मुद्दा हुन नदिन सचेत रहनु पर्छ ।

हामी यौटा कुरामा भने ढुक्क रहन सक्छौ कि न्याय, कानुन र अधिकार हुनेखानेको गोजिमा हुन्छ । हामी निम्न र मध्यम बर्ग त उनिहरुको सवारी हो । हामी माथि चढेर युद्ध लड्छन, हाम्रो काधमा राखेर बन्दुक हान्छन । हो त्यही हामी बिचका निर्मला र उनी जस्तै अन्य धेरैका बा आमा र परिवारसँग खेल्दैछ सरकार, प्रशासन र राजनितिक दलहरु ।

कमजोरी सबैको छ अब के त ? जिम्मेवारी बहन कसले गर्ने त ? माथी उल्लेखित सबै चार निकायमा कमजोरी चौथो (हामी जनता) को छ । किन हामिले हामी माथी रजाई गर्न दियौ । अब यी पश्च्तापका कुरा होलान । जिम्मा लिने सन्दर्भमा यी र यस्ता घटनाको जिम्मा सरकारले लिनुपर्छ। सरकारमा रहेर झुटको खेती गर्न हुदैन । सायद लाचार छ सरकार कुर्सीको लागि र यो बास्तवमा नै हाइप्रोफाइल केस भएकोले सरकार मौन रहेको हुनुपर्छ । नत्र खै त चुइक्क बोलेको ।

ए सरकार ! मैले तिमीलाई पोलपोलमा देखे तर दुखीको टोल टोलमा देखिन । ए सरकार ! मैले तिमीलाई करोडौको पार्टिमा देखे तर न्याय नपाएकाहरुको कुटिमा देखिन। ए सरकार! मैले तिमीलाई सम्मेलनमा सामेल देखे तर पिडितको पिडामा सामेल देखिन । ए सरकार! मैले तिमीलाई कमेडी भाषण गर्दै गरेको देखें तर न्याय र समताको सासन गरेको देखिन ।

निर्मला हत्याकाण्ड बहुसंख्यक गरिब र मध्ययम बर्गले भरिएको नेपालीहरुको यथार्थ हो । जसको लागि न्याय, हक, समानता र अधिकार चुनावी नारा मात्र हुन तर यथार्थमा यी छैनन । आम जनताहरु निराश छन् ।

९ पुष २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको