मङ्सिर ८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको विशाल र्याली तथा जनसभालाई पार्टी महासचिव विप्लवले शुभकामना दिने भएका छन् ।
प्रदर्शनीमार्गमा जनसभा सुरु भएपछि महासचिव विप्लवको शुभकामना वाचन गरेर सुनाइने जानकारी पार्टी केन्द्रीय समितिले दिएको छ । कार्यक्रममा सहभागी हुन ७७ जिल्लामध्ये अधिकांश जिल्लाबाट जनसमुदाय, पार्टी नेता र कार्यकर्ता बिहानसम्म काठमाडौँ आइसकेको जानकारी जनसभा प्रचारप्रसार उपसमितिले दिएको छ ।
जनसभा व्यवस्थापन तथा परिचालन समितिका संयोजक नेकपाका स्थायी समिति सदस्य एवम् पार्टी मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को अध्यक्षतामा शुक्रबार अपराह्न काठमाडौँमा बसेको बैठकले र्याली र जनसभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो ।
जनसभालाई नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य प्रकाण्ड, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेको अध्यक्षतामा सम्पन्न हुने कार्यक्रमलाई पार्टी पोलिटब्युरो सदस्य पदम राईले स्वागत र पार्टी पोलिटब्युरो सदस्य उमा भुजेलले सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी प्रचारप्रसार उपसमितिले दिएको छ ।
प्रतिक्रिया दिनुहोस