समुद्रमाथी चाइना पुल, जहाँ छ नेपाली श्रम (तस्विर र भिडियो)


कार्तिक ७, काठमाडौं । समुद्रमाथि संसारकै लामो पुल बनाएर चिनले दुनियाँको ध्यान आफूतिर तानेको छ । चिनियाँ राष्ट्रपति सी जीनफिङले मंगलबार एक भव्य समारोहका बीच हङकङ र मकाउलाई चिनको मुख्य भुमी जुहाईसँग जोड्ने उक्त पुलको उद्घाटन गरेका हुन ।

५५ किलोमिटर लामो पुल मध्ये २२.९ किलोमिटर भाग समुद्रमाथि छ भने ६.७ किलोमिटर समुद्रमुनि टनेल खनिएको छ । टनेल जोड्न दुइटा कृत्रिम टापु पनि निर्माण गरिएको छ ।

यो समुद्रमाथि बनेको संसारकै लामो र सबै पुलहरूमध्ये छैंठौं लामो पुल हो । संसारकै लामा ४ वटा पुल पनि चीनमै छन भने एउटा ताइवानमा छ । ताइवान पनि चिनकै स्वसासीत क्षेत्र हो ।

सन् २००९ मा निर्माण सुरू गरिएको यो पुल निर्धारित समयभन्दा २ वर्ष ढिला गरी यही वर्षको जनवरीमा सम्पन्न भएको थियो । यो पुल बनाउने क्रममा दश जना कामदारले ज्यान गुमाएका थिए भने ६०० जना घाइते भएका थिए । दुनियाँको ध्यान तान्ने यो पुल निर्माणमा हङकङ्गमा रहेका नेपालीले पनि पसिना बगाएका छन ।

हङकङ अन्तराष्ट्रिय विमानस्थलबाट झुझाई पुग्न करिब चार घण्टा यात्रा गर्नुपर्छ, तर अब यो पुलले चार घण्टाको दुरीलाई केबल ४५ मिनेटमा छोट्टाइदिएको छ । यस पुलबाट हरेक दिन करिब ४० हजार गाडी आवत–जावत गर्ने अनुमान छ ।

यो पुल बनाउन १२० अर्ब युआन खर्च भएको छ । यो खर्च हङकङ, मकाउ र झुझाइले बेहोर्ने छन । यस परियोजनाको कन्सेप्ट सन् २००३ मा आएको थियो, तर सन् २००९ मा निर्माण शुरु गरिएको थियो । यो पुलबाट तीनवटै शहर केबल एक घण्टामा पुग्न सकिन्छ । यसबाट आर्थिक विकासमा पनि मद्दत पुग्ने अनुमान छ ।

चीनको सरकारी अखबार साउथ चाइना मोर्निङ पोस्टका अनुसार यस पुलमा चार लाख टनभन्दा बढी उच्च गुणस्तरको स्टिल प्रयोग गरिएको छ । यसले ८ रेक्टर स्केलको भूकम्प र कडा समुद्री आँधीलाई थेग्न सक्छ । इन्जिनियरहरुका अनुसार यो पुलको आयु १२० वर्षभन्दा बढी छ ।

यो पुल बनाउन इन्जिनियरहरुलाई समुद्रभित्र चारवटा मानवनिर्मित द्वीप बनाउनु परेको थियो । यसको माध्यमबाट पुललाई जमिनसँग जोडियो ताकि समुद्रका ठूला छाल र आँधीहरुबाट पनि पुल नडमगाओस् ।

हङकङ–झुहाई–मकाउ पुल प्राधिकरणका सहनिर्देशक यू लीका अनुसार पुल निर्माणमा करिब १४ हजार मजदुरहरुलाई खटाइएको थियो । यसबाहेक सामान ओसारपसार गर्न समुद्रमा ३०० जहाज परिचालन भइरहेका थिए ।

यो पुललाई यस्तो किसिमले बनाइएको छ कि मकाउ–हङकङ र झुझाईको यातायात बिना कुनै रोकावट चलिरहने छ । छ लेनको यो पुलमा चार वटा सुरुङसमेत बनाइएको छ ।

पुल निर्माणको क्रममा यसको एउटा हिस्सा हङकङको व्यस्त एयरपोर्ट भएको मार्गसँग पनि जोडिएको थियो । यसैलाई ध्यानमा राखेर इन्जिनियर र कामदारहरुले पुलको करिब ६ दशमलव ७ किलोमिटर लामो हिस्सामा ३०–४० मिटरभित्र गहिराइमा रहेर काम गरे ।

हङकङ र मकाउ चीनका दुई अलग स्वायत्त क्षेत्र हुन् । चीनले यस पुलमार्फत हङकङ र मकाउमा आफ्नो नियन्त्रणको राजनीतिक सन्देश दिएको आलोचकहरुले बताउने गरेका छन् ।

हङकङ र मकाउ दुवै सन् १९९० देखि चीनको नियन्त्रणमा छन् । यी दुवै ‘एक देश, दुई प्रणाली’को सिद्धान्तमा चल्दै आएका छन् जसले उनीहरुलाई ५० वर्षसम्म चीनबाट स्वतन्त्र रुपमा आफ्नो सरकारी तन्त्र चलाउने अनुमति छ ।

यसरि निर्माण भयो पुल 

विश्वको सबैभन्दा लामो सामुद्रिक पुल २४ अक्टोबर, बुधबारदेखि सञ्चालनमा आउँदैछ, जहाँ करिब पाँच हजार नेपालीले ठूलो जोखिम उठाएर काम गरेका थिए।

हङकङ–मकाउ–चुहाई जोड्ने ७ किलोमिटर सामुद्रिक सुरङसहित ५५ किलोमिटर लामो पुल बनाउन हङकङको मात्रै १२० अर्ब हङकङ डलर खर्च भएको छ। सन् २००९ बाट निर्माण सुरु भएको ६ लेनको पुलको आयु १२० बर्ष तोकिएको छ।

यो पुल सञ्चालनमा आएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ घण्टा सडकमार्गबाट पुगिने मुख्यभूमी चीनको चुहाई ४५ मिनेटमै पुग्न सकिने छ। त्यसैगरी फेरि भन्दा कम समयमा हङकङ जस्तै अर्को विशेष प्रशासनिक क्षेत्र मकाउ पुग्न सकिने छ।

बुधबार उद्घाटन भएपछि सर्वसाधारणका लागि पुलबाट यात्रा गर्न खुला गरिने छ। हङकङका बस व्यवसायीहरूले यो पुल हुँदै हङकङ–मकाउ–चुहाईका लागि दैनिक ४०० ट्रीप सम्म सेवा दिन सकिने बताएका छन्। साथै १७५ हङकङ डलर पुल शुल्क तिरेपछि नीजि सवारी साधनबाट यात्रा गर्न सकिने छ।

हङकङको यातायात विभागले सन् २०३० सम्ममा प्रतिदिन २९००० सवारी साधन यो पुलबाट गुड्ने बताएको छ।

‘रगत र पसिनाको परियोजना’ मानिएको यो मेगा प्रोजेक्ट सम्पन्न गर्ने क्रममा एक जना नेपाली सहित १० जनाको ज्यान गएको छ। त्यस्तै ६०० बढी घाइते भएका छ्न्, जसमा दर्जनौं नेपाली छन्।

हङकङ–मकाउ–चुहाई पुलमा काम गर्ने क्रममा २०७३ चैतमा समुद्रमा खसेका अरनोल गुरुङको मृत्यु भएको थियो

‘तीन चार करोड गुमाएँ, स्मरण शक्ति पनि गुमाएँ ’

त्यस्तै एक जना घाइते हुन्– पूर्व बेलायती सैनिक कृष्ण कुमार गुरुङ, जसले यो पुलमा काम गर्ने क्रममा भएको दुर्घटनामा मुस्किलले ज्यान जोगाएका थिए।

पहिले बेलायती सेनामा रहेर र पछि हङकङ आइडी लिएर करिब ३० बर्ष हङकङमा बिताएका गुरुङले आफ्नो कथा यसरी सुनाए, ‘मैले २०१४ मा करिब एक वर्ष हङकङ–मकाउ–चुहाई पुलको साइटमा काम गरें। नेपालीकै स्वामित्व रहेको फेवा कन्स्ट्रक्सन कम्पनी मार्फत म समुद्रमाथिको त्यो पुलमा काम गर्न पुगेका थिएँ। कामको शिलशिलामा क्रेनमा लिफ्ट गर्दै गरेको निकै गह्रौं सामाग्री टाउको माथि बजारिँदा बेहोस भएर ढलें। त्यो भारले हान्दा मेरो करङ समेत डिसलोकेट भएको थियो।’

दुर्घटनापछिको अवस्था व्यख्या गर्दै गुरुङले भने, ‘बेहोस भएपछि मलाई एम्बुलेन्सको सट्टा प्राइभेट कारमा राखेर अस्पताल पुर्याइयो। साथै कम्पनीले मुद्दा नगरिदिनु भनेर फकायो। गुरुङको छोरो, बढी स्वाभिमानी भइएछ। त्यसबेला धेरैले ‘फेक इन्ज्युरी’ दाबी गरेर क्षतिपूर्ति लिइरहेका थिए। मलाई पनि ठग भन्लान भनेर ३–४ महिनाको ‘सिक लिभ’ पछि अदालतमा मुद्दा नहालि काममा गएँ।’

‘मुद्दा गरेको भए कम्तिमा तीन चार करोड रुपैयाँ हात लाग्ने थियो, त्यो त्यतिकै गयो’, गुरुङले दुखेसो पोख्दै नेपालखबरसँग भने, ‘त्यो दुर्घटनाले गर्दा अहिले मेरो स्मरण शक्ति गुमेको छ।’

नेपाली गोर्खाहरुले हङकङको सिमा सुरक्षादेखि निर्माण क्षेत्रमा ठूलो जोखिम मोलेर काम गरेपनि यसबारे कहिँ कतै चर्चा नभएको कृष्ण कुमार गुरुङको भनार्इ छ।

‘आफैले पसिना बगाएको पुलबाट यात्रा गर्ने रहर छ’

नेपालीकै अर्को कम्पनी प्यासिफिक क्राउन मार्फत त्यो पुलमा २०१३–२०१४ तिर २५ महिना काम गरेका श्याम सुन्दर थापा भने अहिले पुल सञ्चालनमा आउन थालेको विषयमा अनविज्ञ रहेछन्।

हङकङ–मकाउ–चुहाई पुलमा काम गर्ने क्रममा २०७३ चैतमा समुद्रमा खसेका अरनोल गुरुङको मृत्यु भएको थियो

‘यो निर्माण क्षेत्रको काम भनेको आइकभर लगाएको घोडा जस्तै रहेछ, दिनभरको कामले लखतरान भएपछि राती घर फर्कियो, कहाँ के हुँदैछ केही हेक्का नहुने रहेछ’, आफुले उक्त पुलमा काम गर्दाको अवस्था सम्झँदै थापा भन्छन्, ‘हिउँदमा मुटु चिल्ने जाडो र बर्खामा मुटु उमाल्ने गर्मी सहियो, समुद्रमा जाडोमा खुब जाडो र गर्मीमा झन् गर्मी हुँदोरहेछ, समुद्रमाथि त्यो पुल बनाउँदा भोगियो।’

समुद्रमाथि पुल निर्माण गर्ने क्रममा डुङ्गाबाट यात्रा गरेको र समुद्रको सिरेटोको थप्पड बेस्सरी खाएको थापाले सम्झिए। ‘ज्यान हत्केलामा राखेर पसिना बगाएको पुलबाट अब मकाउसम्म यात्रा गर्ने रहर मनभरी पालेको छु’, थापाले भने।

‘समुद्रमा १३५ मिटर गहिरोसम्म खनियो र पिलर ठड्याइयो’

नेपाली सेनाका पूर्व कप्तान किशोर गुरुङले भने प्यासिफिक क्राउन कम्पनीबाटै यो पुल सुरु भएदेखि अन्तसम्म काम गर्न भ्याए। ‘त्यो पुलको पहिलो पिलरका लागि खाल्डो खन्ने र ठड्याउने काम गर्नेमा म पनि एक जना हुँ’, गुरुङले भने, ‘पुलको अन्तिम सेगमेन्ड जोड्नेमा पनि म संलग्न भएँ।’

समुद्रमाथि काम गर्दाको रोमाञ्चक कथा छ गुरुङसँग। ‘समुद्रमा १३५ मिटर गहिरोसम्म खनियो, अनि पिलर ठड्याइयो’, गुरुङले भने, ‘नेपालमा नारायणी नदीमा आक्कल झुक्कल डुबुल्की मारेको मेरा लागि अथाह समुद्रको बिचमा विश्वकै लामो सामुद्रिक पुलमा काम गर्न पाउनु सुनौलो अवसर थियो।’

Media Tour of the The Hong Kong Zhuhai Macau Bridge. (Edmond Tang / China Daily)

बिहानै झुल्के घाममा हङकङबाट डुङ्गा चढेर काममा हिंड्दा र घाम पश्चिम क्षितिजमा डुब्दै गरेको बेला कोठा फर्कंदा चितवनको फाँटबाट फिँजिएको नारायणी नदीमा डुब्दै गरेको गोधुलीको याद गर्थे कप्तान गुरुङ।

‘१२ घन्टा समुद्रमा काम र आतेजाते गर्दा झन्डै १५ घन्टा बिताउनु परेपनि त्यहाँ काम गर्दा कहिल्यै दिक्क लागेन’, कप्तान किशोर गुरुङले पनि आफ्नो धोको सुनाए, ‘आफुले पसिना बगाएर मेहनत गरेको पुलबाट कुनै दिन आफैले कार हाँकेर वारपार गर्ने धोको छ।’

निर्माण क्षेत्रमा काम गर्ने हङकङका नेपाली कम्पनीहरूको आँकडा हेर्दा ८–९ वर्षसम्म निर्माण कार्य चलेको हङकङ–मकाउ–चुहाई पुलमा करिब ४–५ हजार नेपालीले काम गरेको देखिन्छ। हङकङका नेपालीले ठूलो मात्रामा रोजगारी पाएको यो परियोजनाबाट कामदार भन्दा ठेकेदारले धेरै गुणा बढी कमाए।

नेपालीले सञ्चालन गरेका प्यासिफिक क्राउन, युनाइटेड, फेवा, जी क्लाड्स, लिङमा, प्यारा माउन्ट आदि कम्पनीले यो परियोजनाको सव कन्ट्रयाक्टरका रुपमा लेवर सप्लाई गर्ने काम गरे।

(नेपाल खबरको सहयोगमा)

२०७५ कार्तिक ७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको