रियलको हारको यात्रा टुंगियो, युभेन्टसद्धारा म्यानचेस्टर युनाइटेड पराजित


कार्तिक ६, काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता स्पेनिस क्लब रियल मड्रिडले रुसी क्लब भिक्टोरिया प्लेजेनलाई पराजित गरेको छ ।

च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा रियलले भिक्टोरियालाई २–१ ले पराजित गरेको हो । जितसँगै रियलले पछिल्ला पाँच खेलपछि जितको स्वाद चाखेको छ । रियलले सेप्टेम्बर २२ मा इस्पान्योललाई पराजित गरेयता पछिल्ला पाँच खेलमा जित हात पार्न सकेको थिएन ।

यो जितले रियलका प्रशिक्षक जुलियन लुप्टेगुईंलाई पनि केही राहत मिलेको छ ।

रियलको जितमा करिम बेन्जेमा र मार्सेलोले गोल गरे । भिक्टोरियाका प्याट्रिक रोसोभस्काईले एक गोल फर्काए । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले ११औं मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा अग्रता बनाएको थियो । भास्क्वेजको क्रसमा अनमार्क रहेका बेन्जेमा फ्रि हेडरमार्फत गोल गरेको थिए ।

त्यसअघि रियलले खेलको तेस्रो मिनेटमा आक्रमण बुनेको थियो । तेस्रो र पाँचौ मिनेटमा कप्तान सर्जियो रामोसले गोलको मौका खेर फालेको थियो ।

शुरुवातदेखि भिक्टोरियालाई दवावमा राखेपनि रियलले दोस्रो गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५५औं मिनेटमा मार्सेलोले ग्यारेथ बेलको पासलाई सदुपयोग गरेपछि रियल खेलमा २–० ले अघि बढेको थियो ।

त्यसपछि पनि रियलले भिक्टोरियाको पोस्टमा पटक पटक आक्रमण बुनेपनि गोल गर्न सफल भएन । बरु उल्टै ७८औं मिनेटमा एक गोल खान पुगेको थियो । भिक्टोरियाका प्याट्रिकले गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा रियल २–१ ले विजयी हुन सफल रह्यो ।

जितपछि रियल तीन खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित भिक्टोरिया १ अंक जोडेर पुछारमा छ ।

मंगलबार राति नै भएको समूह ‘जी’ को अर्काे खेलमा इटालियन क्लब रोमाले रुसी क्लब सिएसकेए मस्कोलाई ३–० ले पराजित गरेको छ । रोमाको जितमा रोमाको सहज जितमा इडेन जेकोले २ तथा सेन्जिक अन्डरले एक गोल गरे ।

जितपछि रोमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लदा मस्को भने तेस्रो स्थानमा झरेको छ । मस्कोको समान ३ खेलबाट ४ अंक छ ।

युभेन्टसद्धारा म्यानचेस्टर युनाइटेड पराजित

इटालियन महारथी युभेन्टसले यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

युभेन्टसले युनाइटेडलाई उसकै मैदान ओल्ड ट्राफर्डमा १–० ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा युभेन्टसलाई जिताउन अर्जेन्टाइन पाउलो डिबाला निर्णायक गोल गरे । आफ्नो पूर्व क्लब फर्किएको सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने गोल गर्न असमर्थ रहे ।

प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले १७औं मिनेटमा नै खेलमा अग्रता लिन सफल भएको थियो । रोनाल्डोको क्रस पासमा जुवान क्वाडराडोले उपलब्ध गराएको पासलाई डिबालाले सदुपयोग गरेका थिए ।

पहिलो हाफमा घरेलु टोलीलाई दवावमा राखेको युभेन्टसले गोलका केही मौका खेर फालेको थियो । २२औं मिनेटमा क्यानसिलोको प्रहार युनाइटेडका गोलरक्षक डेभिड डे हेयाले बचाएका थिए । ३०औं मिनेटमा प्यानिचको प्रहार आकासिएको थियो । ३८औं मिनटमा करिव ३० यार्डबाट रोनाल्डोले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक डेभिडले मुस्किलले बचाएका थिए । लगत्तै जुवानको प्रहारलाई पनि जियाले विफल पारिदिएका थिए ।

पहिलो हाफमा पुरै युभेन्टसको दवावमा खेलेको युनाइटेडले दोस्रो हाफमा सुधारिएको खेल पस्किएपनि गोल गर्न सकेन । ५२औं मिनेटमा युनाइटेडका डेभिड डे हेयाले अर्काे सुन्दर बचाउ गर्दै संकट टारेका थिए । ७५औं मिनेटमा पल पोग्वाको प्रहार बारमा लागेर फर्कदा युनाइटेडले बराबरी गोल गर्नबाट चुक्यो । ८३औं मिनेटमा मार्सियलले गोलको मौका खेर फाले । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड घरेलु मैदानमा १–० ले पराजित हुन पुग्यो ।

समूह ‘एच’ मा अपराजित रहेको युभेन्टसको ३ खेलबाट ९ अंक पुगेको छ । युभेन्टससँग पराजित भएको युनाइटेड ४ अंकसहति दोस्रो स्थानमा यथावत छ । यो समुहमा योङ ब्वाइज र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

७ कार्तिक २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको