भदौ ८, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिना सर्त रिहा गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सर्वोच्च अदालतले रिहा गरिसक्दा बिना प्रमाण प्रहरीले पटक-पटक पक्राउ गरेको भन्दै प्रकाण्डका आफन्त वीरेन्द्र विकले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन्। उनले रिटमा प्रकाण्डलाई तत्काल बिना सर्त रिहा गर्न माग गरिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका ‘प्रकाण्ड’लाई गएराति नुवाकोट लगिएको छ । साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन उनलाई नुवाकोट लगिएको हो ।
गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस