रोल्पा: छोरी बचाउन सहयाेगकाे याचना गर्दै सुनार दम्पती


भदौ ८, रोल्पा । ‘छोरी ५ वर्षको उमेरसम्म बाचिन भने अप्रेसन हुन्छ नत्र भन्न सकिदैन रे। गरिब छौ सर। सानो नानिलाई मुटुको रोग लाग्यो। इन्डिया मजदुरी गर्थे उतै उपचार गरेको डाक्टरले मुटुमा प्वाल छ भन्छन ।’

दुई छोरीसँग प्रदिप र चमेली सुनार । तस्बिरः दिनेश सुवेदी, रोल्पा

रोल्पा रुन्टीगढी ५ धौलावाङका ३० वर्षीय प्रदिप सुनारले गहभरी आशु बनाउदै भने, ‘जन्मेको ९ महिनादेखि अलि अलि बिरामी हुन सुरु गरेकी हो। भारतको चन्डिगढमा उपचार गर्दा भए भरको पैसा सके। अब घरबास बाहेक केही छैन। तिन लाख जति सकियो। अब बाँकी केही छैन।’

चार वर्षीया छोरी गिता सुनारलाई काखमा बोकेर सहयोगको याचना गर्दै यताउती भौतारिएका प्रदिपसँगै दुई वर्षीय छोरी रेखालाई काखमा बोकेर उनकी २५ वर्षीय श्रीमति चमेली आर्थिक सहयोगका लागी हार गुहार गरिरहेका छन्।

‘पहाडको ७ रोपनी जग्गा छ। बेचौ त्यो पनि बिक्दैन। बिके पनि घुईयाको भाउमा बिक्ने हो। भएका ५–७ वटा बाख्रा पनि सकिए। कमाउने श्रीमान पनि रोगी हुनुहुन्छ। उहाँलाई पनि नशाको रोग छ। महिनाको हजार–पन्ध्र सयको औषधि लाग्छ।’ चमेलीले सुनाइन।

दुई पाइला हिडेपछि ढली हाल्ने छोरी सहित जिल्ला प्रशासन कार्यालय रोल्पाको बरन्डामा भेटिएका प्रदिप र चमेली सहयोगका लागी सिफारिस लिन आएका थिए। ‘खै सिफारीस गर्न पनि नेपालको अस्पतालको कागज चाहिन्छ भनेर सिफारिस दिएन।

गाउँपालिका र वडा पालिकाले पनि कुनै सहयोग गरेन, प्रदिपले भने, ‘चुनाब ताका हामी छोरीको औषधि गर्न इन्डिया गाथ्यौ। भोट हालिनम त्यही भएर त सहयोग नगरेका होलान। धनी अनि माथिल्लो जातको भए सहयोग पाउथे होला। हामी गरिब त्यसमा पनि दलितलाई के सहयोग गर्थे।’ चमेलीले दुखेसो पोखिन।

यतिबेला प्रदिप दम्पतीले गरिब हुनुको पीडा नराम्रोसँग भोगेका छन। ‘कतिले दुई जना कै हात पाखुरा छन के मागेर हिड्छौ भन्छन। मन कुढिन्छ, भएको भए कसलाई माग्ने रहर थियो र।

मजदुरी गरे रै भएपनि बाच्न सकिन्छ। तर के गर्नु बिरामी छोरी छोडेर कहाँ काम गर्न जाउ। उपचारका लागी पैसा छैन कसरी जुटाउ। ऋण गरु कसले पत्याउने। भगवानसँग दिन दिनै छोरीको आयु बढाउने भिक मागेर बसेको छु। रहरकी छोरी गुमाउन नपरे हुन्थ्यो। कसैले सहयोग गरेर बचाइदिए त काम गरेर पैसा तिर्थे। उसकै सेवा गरेर बस्थे।’ प्रदिपले गहभरी आशु पार्दै भने।

जिल्ला प्रशासन कार्यालयको भुइमा रहेको कार्पेट माथी ढलेकी आफ्नी छोरीको कपाल मुसार्दै चमेलीले भनिन ‘कहिले त छोरीलाई पेटभरी खुवाउने खाना पनि हुँदैन। आफूले त हुँदा खाएपनि नखाए सकिन्थ्यो तर एउटी बिरामी छोरी छ। अर्की सानी छोरी छ।

अलिकती पैसा भए एक पटक काठमाडौं लैजाने मन हो। सिफारिस लिन सीडीओकोमा आएको काम नै भएन। बेकारमा आउदा जादाको खर्च मात्र भयो।’ उनले थपिन, ‘रोग पनि गरिब कै छोरीलाई लाग्नुपर्ने। ५ वर्षसम्म बचाउन सके त अप्रेशन हुन्छ रे। अब एक वर्ष बाचिदिए त हुन्थ्यो।’

अकल्पनीय पीडा बोकेर मृत्युसँग लड्दै गरेकी छोरीलाई काखमा बोकेर भौतारिएका सुनार दम्पत्तीलाई स्वास्थ्य ‘मौलिक हक’ भन्ने नाराले छोएको छैन्। सामान्य उपचार समेतको सम्भावना टरेका उनीहरूलाई एक वर्ष छोरी बचाउनै हम्मे हम्मे परेको हो। गाउँतिर हुने खानेले समेत गरिबको परिचय पत्र बुझेको देखे सुनेका सुनार दम्पतीलाई त्यो के हो र त्यो परिचय पत्र पाउने कस्ताले हो भन्ने पनि थाहा छैन।

जिल्ला प्रशासन कार्यालयमा आएका उनीहरूलाई सहयोग गर्न नसकेकोमा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी असन्तुष्ट देखिन्थे। ‘हाम्रोमा आर्थिक सहयोग गर्ने ठाउँ हुँदैन। सहयोग उठाउनका लागी गाउँपालिकाले सिफारिस दिइसकेको छ।

अस्पतालमा सहुलियतका लागी ३ जनाको सिफारिस समिति हुन्छ। डाक्टरलाई सोधेको पहिला कुन अस्पतालमा उपचार गर्ने र अस्पतालले दिएको कागजका आधारमा सिफारिस दिने भन्नु भएको छ।’ उनले थपे ‘एक पटक कान्ती बाल अस्पतालतिर लगेर अस्पतालको भनाई अनुसार सिफारिस बनाइदिन सकिन्छ भनेको छु।’

स्वास्थ्य, शिक्षा आम नागरिकको ‘मौलिक हक’ भनेर घोषणा पत्रमा राखेर चुनाव जितेका सत्तासीन नेतृत्वले एउटी अबोध बालिका मृत्युसँग लड्दै गर्दा उसको उपचारमा ध्यान दिन सक्ला भनेर अपेक्षा गर्ने अवस्था पनि छैन्।

काखमा रहेकी ४ वर्षीया छोरी बाच्ने निश्चित नभएपछि आत्तिएका सुनार दम्पती सहयोगी मनको खोजिमा छन्। ‘भगवान भरोसा सर। आफैले जन्माएको छोरीलाई उपचार गर्न पनि सकेन। हेरौ कोही भगवान भएर आउछ कि।’

कहाँ गएर के गर्ने टुङ्गो नभएका सुनार दम्पती आर्थिक अभावले अस्पताल जान नसकेपछि भारी मन लिएर घर तिर लागेका छन्। कही कतैबाट छोरीको जीवन रक्षाका लागि पहल नहुने देखेपछि सदरमुकामको महंगी छल्न उनीहरू रुन्टीगढी ५ धौलावाङतिर लागेका हुन।

२०७५ भाद्र ८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको