पृथीछक बुढा मगर । बगेको खोला हुबहु फर्किदैन । विभिन्न रुपमा रुपान्तरण भएर फेरि पानी बन्छ । पानीको यहि जिवन चक्रको उदाहरण दिएर कतिपयले भनेको सुनिन्छ, राजा ज्ञानेन्द्रै नहोला तर कुनै न कुनै रुपमा अन्ततः राजा आइहाल्छ ।
यो भन्नेहरु कि ज्ञानेन्द्रका चाकरी हुन् वा हिन्दु धर्मका केही स्वघोषित बिद्वानहरु बाहेक अरु कोहि होइनन् ।
गणतन्त्रको गुण भुले छन क्यारे ! अरु देशमा जस्तो निर्वासित हुनु परेको छैन । कालो कोठरीमा हुल्नु परेको छैन । जायजेथा, चलअचल खोसिएको छैन । सुरक्षागार्ड सहित दरबारमा बस्न पाएकै छन ।
दलहरुको कु-आचरण र कु-ब्यबहारका कारण राजनीतिक लाभ लिंदै ज्ञानेन्द्र अहिले कुनै न कुनै रुपमा आफ्नो स्पेस खोजिरहेको अबस्था छ । विभिन्न धार्मिक कार्यक्रमहरुमा पनि देखिन थालेका छन । गणतन्त्रका नेताहरु द्वारा हैरानी बेहोरिरहेका नागरिकहरुलाई उक्साउन इमोस्नल ब्ल्याकमेल गर्दैछन ।
शहरका कतिपय बाबा, माता वा तान्त्रिकहरुलाई प्रयोग गरि धार्मिक ब्ल्याकमेलिङ गर्नमा उत्रिएका छन । माता वा तान्त्रिकहरुले त मिति नै तोकेर नेपालमा पुनः राजा आउनेसम्मको अनर्गल प्रचार गर्छन ।
यी सबै ज्ञानेन्द्रको कुटनैतिक चालवाजी बाहेक अरु केही होइन ।
ज्ञानेन्द्र शाहले इच्छा राख्दैमा नेपाल हिन्दुराष्ट्र हुने अबस्था भने न्यून छ । हिन्दु धर्म भित्र उसले आफ्नो स्पेस सुरक्षीत गर्न चाहन्छ । तर राष्ट्रिय अन्तरास्ट्रिय परिस्थिति भने प्रतिकुल छ । पश्चिमा देशहरुले नेपालमा इसाईकरण गरिरहेको बेला उनिहरुले नेपाललाई हिन्दुराष्ट्र हुन दिनु भनेको आफ्नै मिसनलाई फेल ख्वाउनु हो । यो त मुर्खले पनि गर्न सक्दैन । धर्मको आडमा स्पेस खोज्ने ज्ञानेन्द्रको यो सपना पश्चिमाहरुवाट भने पूरा हुँदैन ।
भारतको संस्थापन पक्ष चाहिँ नेपाल हिन्दूराज्य भएको हेर्न चाहन्छ । तर इसाईहरुले जस्तै मगन्ने डलर र धर्म दुबै दिनसक्ने हैसियत भारतको छैन ।
तर पिकेको कम्युनिस्ट गठबन्धन कमजोर पार्नकै लागि पनि नेपालमा कुनै न कुनै अस्थिरता ल्याउन चाहिँ खोजेकै छ । यसमा उसले गर्न सक्ने भनेको दलाल प्रयोग नै हो । यो उसले प्रयोगमा ल्याउने पुरानै शैली हो ।
अहिले नेपाली कांग्रेस भित्र हिन्दू धर्मको पक्षमा बहस उठेको छ । बिपिले राजा कम्जोर भए नेपाली कंग्रेस पनि कम्जोर हुन्छ भन्ने कथनसंग अहिले उठिरहेको धर्मको बिषयको कुनै न कुनै कनेक्सन छ । प्रत्यक्ष राजाको माग गरियो भने गणतन्त्र बिरोधी शिविरमा दरिने भयले घुमाउरो तरिकाले धर्म उचालेको खण्डमा निशान सहि ठाउँमा लाग्छ भन्ने कुरा कंग्रेस भित्रका कतिपय नेताहरुलाई लागेको छ ।
गिरिजाप्रसाद कोइरालाले पनि बेबि किङको प्रस्ताव ल्याएको ईतिहास साक्षी छ ।
अहिले आफुलाई बिश्वकै दोस्रो ठूलो भिमकाय कम्युनिस्ट पार्टी भन्न रुचाउने दलको पेटमा अलि बेसि बोसो लागेको देखेर अतालिएको कंग्रेस आफुलाई पहिलेकै साइजमा ल्याउन देशमा हिन्दु धर्मको बकालत गरे काइदै हुने कुरा बुझेको छ । यसै मेसोमा कृष्ण प्रसाद सितौलाले हिन्दु धर्मको माग गर्दा पार्टी मोटाउने भए राप्रपा नेपाल उहिलै मोटाइसकेको हुन्थ्यो भनेर स्थानिय चुनावमा धेरै नै दुब्लाएको पार्टीका आफ्नै नेताहरुलाई कटाक्ष गर्न समेत भ्याए । राप्रपा नेपालले हिन्दु राज्य र राजाको पुनर्बहालीको लागि पिल्पिलाउदै भएपनि आवाज उठाउदै आएको छ ।
माथिका यी घटनाक्रमको कुनै न कुनै रुपमा धर्म र राजतन्त्रको कनेक्सन चाहिँ छ तर जनताले साथ नदिएपछि योजना फितलो भएको सजिलै बुझ्न सकिन्छ । नोकरचाकर र दलाल बाहेक अचेलका बाठो जनता धर्मको एकल एकाधिकार स्विकार्न सक्दैन ।
योगको हिसावले सात दस कटेको ज्ञानेन्द्र शाहले आफ्नो गुमेको श्रीपेच लगाउने धोको उ जीउँदो हुँदासम्म पूरा हुन नसक्ने यो स्तम्भकार ठोकुवा गर्दछ । पानी बाफमा रुपान्तरण भए जस्तै ज्ञानेन्द्र शाही पनि आफुलाई रुपान्तरण नगरी सुखै छैन । नत्र योगमा दुखै दुख लेखिने छ । योग आफैले लेख्ने हो, माथिवाट लेखेर कोहि आउँदैन ।
प्रतिक्रिया दिनुहोस