दाङ दुर्घटनाः रित्तियो शिक्षालय, शोकमा दाङका बजार


पुस ८, दाङ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्वका एक-एकजनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

१२ घाइतेलाई काठमाडौं लगियो

गम्भीर घाइते रोल्पाको परिवर्तन गाउँपालिका–४ का प्रकाश ओलीसहित १२ जनालाई शनिबार दिउँसो कोहलपुरस्थित मेडिकल कलेजबाट काठमाडौं लगिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेलाई काठमाडौं लगिएको हो । घाइतेको उपचार खर्च सबै सरकारले व्यहोर्ने प्रक्रिया अघि बढाइएको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिए । मृतक सातजनाको शव शनिबार हेलिकोप्टरमार्फत जुम्ला लगिएको छ ।

बिहे गरेको सात दिनमै मृत्यु

दुर्घटनामा ज्यान गुमाउने बसका सहचालक तुलसीपुर–१८ का गणेश विकको एक हप्ताअघि मात्र विवाह भएको थियो । उनको मृत्युको खबरले पत्नी कमला मुर्छित छिन् ।

शोकमा बजार बन्द

एउटै विद्यालयका २३ जनाको मृत्युले दाङ शोकमा डुबेको छ । शोकका कारण शनिबार जिल्लाका प्रायः सबै बजार बन्द भए । घटनाको शोकमा आइतबार जिल्लाका घोराही र तुलसीपुर क्षेत्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द हुने भएका छन् ।

दुवै उपमहानगरपालिकाले शोकमा विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । दाङबाट निर्वाचित सांसदहरूले विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभामुख कृष्णबहादुर महरा, प्रदेश मुख्यमन्त्री शंकर पोखरेललगायतले विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् ।

रित्तियो शिक्षालय

दुर्घटनामा परेका विद्यार्थीले अध्ययन गर्ने घोराही १७ स्थित सहिद कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालय सुनसान भएको छ । जिल्लामै पहिलोपटक वनविज्ञान अध्यापनका लागि शिक्षालयले अनुमति पाएको थियो । करिब एक महिनाअघिबाट मात्र शिक्षालयमा पढाइ सुरु
भएको थियो ।

४० जना विद्यार्थी अध्ययनरत शिक्षालयबाट शुक्रबार ‘बोटनी’ र ‘जुलोजी’तर्फका ३२ जना विद्यार्थी र दुईजना शिक्षक अध्ययन भ्रमणका लागि सल्यानको कपुरकोट पुगेका थिए । शिक्षालयका १९ जना विद्यार्थी र दुईजना शिक्षकको दुर्घटनामा मृत्यु भएको शिक्षालयका प्रिन्सिपल यादव सुवेदीले बताए ।

२०७५ पुष ८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको