एकाबिहानै सार्वजनिक यातायातमा लुटेरा समूह पसेपछि…


मङ्सिर ७, काठमाडौं । बिहान छ बजे पाँचजनाको समूह महानगर यातायातमा यात्रुका रुपमा पस्छ। उनीहरुले रिङरोड रुटको बालाजुदेखि कलंकीसम्मको यात्रामा यात्रुलाई छानीछानी लुट्छन्।

यो खबर हामीले नागरिक न्युजबाट लिएका हौ । चालक, सहयोगी र यात्रुसमेत डरले प्रतिकार गर्ने या प्रहरीलाई खबर गर्नेभन्दा पनि चुपचाप रहन्छन्। बस गुडिरहन्छ, यात्रु चढिरहन्छन्, लुटेराहरु लुटिरहन्छन्। रिङरोडको सात किलोमिटर दूरीसम्म यो क्रम चलिरहन्छ।

राजधानीमा बुधबार बिहानै भएको घटनाका प्रत्यक्षदर्शी अरुगरुल हकका अनुसार पाँचजना युवाले उनका सामुन्ने एकजनाको मोबाइल र पैसा गाडीभित्र लुटेका थिए। ती व्यक्तिले प्रतिकार गर्न खोज्दा उल्टै घेरेर कुटपिट गरेका थिए।

सानेपास्थित नेसनल कलेजमा अध्ययनका लागि गइरहेका हकलाई लुटेरामध्येका एकजनाले आफूसँगैको सिटमा आउन भनेका थिए। उनी बस्नेबित्तिकै ती व्यक्तिले गोजी छाम्न थाले। उनले भने, ‘मेरो गोजीमा हात हाल्दा केही नभेटेपछि अन्य व्यक्तितर्फ बढे।’ बसमा यात्रुहरु कोही पनि बोल्ने अवस्थामा समेत नभएको हकले बताए।

लुटेराले एक यात्रुको मोबाइल झिकेपछि उनले चोरचोर भनी हल्ला गरे। त्यसपछि लुटेरा समूहकै व्यक्तिले उनलाई कुटपिट गरे। प्रत्यक्षदर्शी हकले भने, ‘मैले एकजना यात्रुलाई प्रहरीलाई खबर गरौं या प्रतिकार गरौं भन्दा उल्टो आक्रमणको प्रयास गरेपछि ओर्लिएर बचें।’ डरका कारण आफू अर्को गाडी चढेर कलेज आएको हकले बताए।

राजधानीमा चोरी र लुटपाटको घटना बढ्दै गर्दा बिहानै मुख्य सडकमा चल्ने सार्वजनिक यातायातमा भएको लुटपाटलाई गम्भीर रुपमा लिइएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहसँग घटनाबारे अनुसन्धान गरिने बताए। यसबारे औपचारिक उजुरी आइनसकेको उनले बताए। प्रहरी प्रवक्ता उत्तमराज सुवेदी पाँच वर्षअगाडि यस्तै समूह राजधानीमा सक्रिय रहँदा नियन्त्रणमा लिइएको बताउँछन्।

पछिल्लो घटनाबारे प्रहरी गम्भीर भएको भन्दै दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याइने बताए। उनले भने, ‘दोषी खोजी कारबाही हुन्छ।’ महानगरीय यातायातले घटनाबारे कुनै जानकारी नआएको बताउँदै आफूहरुको नाममा अन्य यातायात पनि सञ्चालनमा रहेकाले अरु यातायातमा घटना भएको हुनसक्ने दाबी ग-यो।

प्रत्यक्षदर्शीका अनुसार लुटेरा समूहका सदस्य २० देखि ३० वर्ष उमेर समूहका छन्। उनीहरु संगठितरुपमा लुट्ने उद्देश्यले गाडीमा आएको प्रत्यक्षदर्शीले बताए। उनीहरुले कतिजनालाई लुटे भन्ने यकिन भएको छैन।

७ मंसिर २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको