दाङलाई प्रादेशिक राजधानी बनाउने कुरा मेरो हातमा छैन: मुख्यमन्त्री पोखरेल


कात्तिक ६, दाङ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङलाई प्रादेशिक राजधानी बनाउने कुरा आफ्नो हातमा नरहेको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवा यसमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।

शेरबहादुर देउवाले गरेको गल्तिको दोष जनताले आफूलाई लगाएको पोखरेलको जिकिर थियो । ‘राजधानी तोक्ने देउवा सरकारले, पुत्ला जल्ने शंकर पोखरेल र कृष्णबहादुर महराको ?’ पोखरेलले भने, ‘ हामी कस्तो राजनीतिक धरातलमा छौँ !’

दाङलाई प्रादेशिक राजधानी नबनाएको भन्दै पोखरेलको विरोध यसअघि पनि हुँदै आएको थियो । सोही प्रसंगमा पोखरेलले राजधानी तोक्ने काम देउवा नेतृत्वको सरकारले गरेकोले आफू यसमा जिम्मेवार नरहेको बताएका हुन् ।

उनले बरु सडक विस्तार, चक्रपथ निर्माण र खाने पानीको सुविधा बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै पोखरेलले तुलसीपुरको अञ्चल अस्पताललाई प्रादेशिक स्तरको अस्पताल बनाउन आफूले पहल गरेको बताएका छन् ।

सामान्य उपचारका लागि पनि यहाँका जनता टाढा जान बाध्य भएको भन्दै मुख्यमन्त्री पोखरेलले सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले योजना बनाइरहेको बताए ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले दाङको विकासका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

६ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको