भदौ ७, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारा सार्वजनिक गर्न माग गर्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले दर्जनौं राउन्ड गोली चलाएको छ ।
जिल्ला प्रसासन कार्यालय कञ्चनपुर अगाडि प्रहरीले गोली चलाएको हो । गोली लागेर ६ जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ ।
प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय कृष्ण पाण्डेले जानकारी दिए । प्रहरीले भने गोली नचालाएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान सेठीले अश्रुग्यास प्रहार गरिएको बताए ।
बिहानैदेखि बजार व्यवसाय पूर्णरुपमा बन्द गरेर स्थानीयबासी आन्दोलित भएका हुन् । शिक्षण संस्था र यातायात सेवा समेत बिहानैदेखि सञ्चालनमा आएका छैनन्। मंगलबार र बुधबार पनि महेन्द्रनगर तनावग्रस्त भएको थियो ।
बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार अभियुक्त सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको हो । आन्दोलन नेतृत्वबिहीन हुँदा उग्र बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस