छोरीलाई जव पहिलोपटक रजस्वला भयो…!


जुनु राना । ‘मम्मी मेरो पिरियड स्टार्ट भो, छिटो आउनु!’

छोरीले एकाबिहानै फोन गरिन। म चाहिँ एकछिन आत्तिएँ। के भो होला, उनलाई कस्तो महशुस भो होला? जीवनमा पहिलोपटक महिनावारीको अनुभव जो थियोे। आफुलाई भने हिजो भर्खरै उनलाई जन्माएको, हात समाउँदै खुवाएको र आमाको कर्म निभाएको जस्तो लाग्छ।

उप्स!

उनी भने सहजै यस्तो भन्छिन्।

मनमा अनेकौं कुराहरु खेल्न थाले। एक छोरीको कर्म र मर्म अर्को आमा वा छोरीले मात्रै बुझ्न सक्छन्। र, मैले पनि एक छोरी र आमाको कर्तव्यबोध गरिसकेकी छु। पहिलोपटक महिनावारी हुँदाको कौतुहलता र डर मैले अनुभव गरिसकेकी छु। त्यो बेग्लै अनुभव थियो। सानो हुँदा आमा–फुपुहरुले रगतको थोपा निधारमा टीका जस्तै लाग्छ भनेको भन्दा बेग्लै थियो त्यो अनुभव। महिनावारी हुँदा घर वरपरकासँग छोइएला भनेर डराउँदै हिंड्नेदेखि छुट्टै भाँडा, ओड्ने ओछ्याउने दिएर अलग्याउने गरेको भोगाइ छ।

छिटोछिटो पसलमा गएँ र प्याड किनेर छोरीलाई लगिदिएँ। म हतासिए पनि छोरी भने मैले सोचेजस्तो चिन्तित थिइनन्। हाम्रो पुस्ताले जस्तो महिनावारी हुँदा पानी नछुने, माइतीको अनुहार हेर्न नपाउने, पाँच दिनसम्म लुकेर बस्नुपर्ने अवस्थादेखि कोसौं दुर छ छोरीको पुस्ता। यो परिवर्तनको साक्षी आज म आफै बनें। पहिलो पटक महिनावारी हुँदा मैले जे भोगें, छोरीको पुस्ताले त्यो सुने पनि सायदै विश्वास गर्छन्।

छोरीहरूले प्राइमरी लेभलदेखि नै यी सबै कुरा पढिसकेका हुन्छन्। जुन हाम्रो पुस्तामा सम्भव थिएन। यौनाङ्गबारे खुलेर पढाउन सक्ने शिक्षक पाउन पनि धौधौ थियो। अर्को समस्या के थियो भने महिला शिक्षकले मात्र महिनावारीबारे खुलेर भन्न सक्थे। धेरैपछि मात्रै यौन शिक्षाबारे खुलेर पढ्न पाएका हौं। शारीरिक र मानसिक अवस्था फेरिने भएकाले पहिलो पटक महिनावारी हुँदाको अवस्था छोरीका लागि अत्यन्तै संवेदनशील हुन्छ।

महिनावारीले शरीरसँगै हर्मोनमा परिवर्तन हुने भएकाले पूर्ण प्रजनन क्रियाका लागि सक्षम बनाउँछ। तल्लो पेट, कम्मर र टाउको दुख्ने यही बेला हुन्छ।

खैर!

पहिलो पटक महिनावारी हुँदा हाम्रो पुस्ताले जे भोग्यौं अहिले त्यो अवस्थामा सुधार आएपनि अझै कतिपय ग्रामिण समुदायमा त्यस्तो प्रथा जिवित नै छ। छाउपडी र गोठ बस्ने यस्तो प्रथा अझै कतिपय ठाउँमा जीवित नै छ, जसबेला उचित स्याहारसुसार र स्वास्थ्य सम्बन्धि ज्ञानको अभावले कैयौं युवतीको पीडादायी मृत्यु हुने गरेको छ। यस्तो सुन्दा एकदमै नराम्रो लाग्छ। यो त्यस्तो प्रथा हो, जस अन्र्तगत बढी साथ सहयोग, पौष्टिक आहार र सरसफाइ चाहिले बेला झन् कष्टदायी अवस्था सामना गर्नुपर्छ।

म छोरीलाई भाग्यमानी ठान्छु। जसले महिनावारीको निहुँमा ती सामाजिक कुसंस्कारहरुको सामना गर्नु परेन। यदि नेपालको कुनै विकट ठाउँमा भइन्थ्यो भने त्यहीँको चलन चल्तीको सिको गर्दै म पनि सायद छोरीलाई कसैको घर वा छाउपडी गोठमा बस्न पठाउन बाध्य हुने थिएँ।

तर अहिले म हङकङमा बस्छु र यहाँको अवस्था त्यस्तो छैन। म मेरी छोरीका लागि चिन्ता गर्नुपर्ने अवस्थामा नरहेछु। हाम्रा छोरीहरुले छुट्टै खाना, छुट्टै ओछ्यान र कसैलाई छोइएला कि भन्ने डर र असजिलो सामना गर्नु परेन। आफ्नो अवस्थाबारे आफै बुझ्न सक्ने र विशेष अवस्थाको ख्याल गर्न सक्ने पुस्ताको प्रतिनिधित्व गर्ने छोरीको आमा बन्न पाउनु गर्वको विषय हो। अहिले एउटी आमाका रुपमा हाम्रो कर्तव्य भनेको छोरीको व्यक्तित्व विकासमा सहयोग पुर्याउने मात्रै हो। किनकी आजका छोरीहरु विश्व समाजको संस्कारमा हुर्केका छन्। जसले कुरिती र कुसंस्कारको बाधा भत्काउने सामर्थ्य राख्छन्।

तर आमा? आमा त हिजो पनि छोरीका निम्ति चिन्तित नै बन्थिन। महिलाका निम्ति १२ घन्टा सुत्केरी ब्यथा लाग्नु भन्दा झन् कठिन हो आमा भएर बाँच्नु। सन्तानलाई जन्म दिएपछि शरीरमा आउने अनेकौं परिवर्तनलाई वेवास्ता गर्दै सन्ततिप्रति लगाव र आशक्ति आमाका निम्ति सधैं प्राथमिकता बन्छ। उनीहरूले संघर्षका अनेकौं मैदानमा उभिनु पर्छ। छोराछोरीको खुशी र आवश्यकताका अगाडि आमा भोकै बस्न पनि तयार हुनुपर्छ।

छोरीका पाइला र उनका मुस्कानमा आफ्ना रहरहरु फुलाउने हरेक आमाको चाहना हुन्छ। कहाँ सजिलो छ र आमा भएर बाँच्न? आफ्ना रहर र सपनाहरूको देहावसान आफ्नै अगाडि भैरहेको देख्न!

(जुनु राना नेपाल खबरमा नियमित लेखिका हुन्) 

७ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको