विदेश बेचिएका युवाहरुलाई स्वदेश फर्काउने योजना खोइ सरकार ?


लेख प्रसाद रोका । देश बनाउने युवाहरुको जत्था हो । शरीरमा तातो रगत भएका युवाहरु नै विदेश पलायन भएपछी कसले बनाउछ यो देश ? देशलाई चाहिने शिप र श्रम अरुको देश बनाउन हिडेपछि कसरि बन्छ आफ्नो देश ?

हरेकपटक निर्मित सरकारले युवा शक्तिलाई देश भित्रै रोक्न र आफ्नै देशका लागि शक्ति खर्चिने कुनै योजना ल्याउन सकेनन ।

समाज परिवर्तनका नाममा भएको दस बर्षे जनयुद्ध र ०६२/०६३ को आन्दोलनको उपलब्धि स्वरुप देशमा गणतन्त्र आयो । जनता द्वारा कानुन बनाउने भन्दै संविधानसभा चुनाव भयो र संविधान पनि घोषणा गरियो । देश गणतन्त्रमा होम्मिए पछि युवा बेच्न गणतन्त्र आएको जस्तो भान भैरहेको छ ।

शान्ति प्रक्रिया लगतै युबा ब्यबस्थापनमा नेताहरूको ध्यान नपुग्दा देश युवा विनाको रित्तो भएको छ । युवालाइ देशमै कृषि तथा औद्योगिक क्षेत्रमा व्यवस्थापन गरेको भए देशको मुहार फेरिसकेको हुन्थ्यो ।

तर आज घर जग्गा धितो राखेर युवाहरु पराइ भुमिमा दास भए, यता देश पनि बिदेशीको बन्दकी बनेको छ ।

यसको प्रत्यक्ष फाइदा छिमेकी देश भारतलाई पुगेको छ । नेपालको हरेक निर्माण कार्य देखि उद्योग धन्दामा सबै भारतिय मजदुरले धानेको छ । अहिले काठमाडौ लगायतका प्रमुख शहरमा पेन्टर, पलम्वर, इलेक्टि्रकल, कार्पेन्टर र मेकानिक खोज्नु पर्यो भने भारतीय नागरिक मात्रै भेटिन्छ्न।

आफ्नो देशका युबालाइ बिदेशमा बेचेर भारतीय श्रमिकहरुको भरमा गुजरा टार्नु कहाँ सम्मको भयावह अबस्था हो । सरकारले समयमै ध्यान पुर्याउन जरुरी छ । यस्तै अबस्था रह्यो भने सिंहदरबारमा भारतको झण्डा नफर्फराउला भन्न सकिन्न । भारतले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाई रहेको छ ।

आज देशमा आश्रीत (१८ बर्ष मुनि र ६० बर्ष माथीका) जनताको बाहुल्य छ । सिमित युबा बाहेक सबै लाखौं लाख युबाहरु बिदेशी भुमिमा भौतारिनु परेको छ। युवालाई बिदेशी भुमिमा रगत र पसिनाले सिचाइ गरि छिमेकी मुलुक भारत, खाडी मुलुकहरु, जापान, कोरिया देखि लिएर युरोपेली र अमेरिकी देशहरुमा सस्तोमा श्रम बेची ती देशलाई झिलिमिली र हराभरा बनाउन बाध्य बनाइएको छ।

साशकहरुले भने युवालाई बेचेर आएको रेमिटान्सबाट रजाइँ गर्दै, आलिशान महलमा, बिदेशी हुस्किमा चुस्की लगाउदै, बिलासी जीवन जिइरहेका छन् । हुसकिको ह्याङले टाउको दुखे अमेरिका र ज्वरो आए थाइल्यान्ड तिर दगुर्न मै ब्यस्त छन, अनि कसरी हुन्छ देश बिकास !

हाम्रो देशमा अथाह सम्भावनाका खानीहरु छन् । प्राकृतिक स्रोत र साधनको मात्रै सदुपयोग गर्न सकेको खण्डमा जनता नेपाल एसियाकै समृद्ध देश बन्छ । खेतीयोग्य जमिनमा बनमाराको खेती भएको छ। एसियालाई उज्यालो पार्न सक्ने र पुरै भारत सिचाइ गर्न पुग्ने पानीका स्रोत दिनहु खेरा गैइ रहेको छ। हुम्ला जुम्ला र मनाङ्को स्याउ गाई भैसिलाइ खुवाएर तिब्बत र कास्मिरको स्याउलाइ दशै तिहारको कोसेली बनाउनु परेको छ। गुन्द्रुकको भाउमा संजीवनी बुटीहरु भारतलाई बेचेर महङ्गो औषधि किन्नु परेको छ। यो कस्तो दुर्दशा हो?

सरकारले सहि निति लिएको खण्डमा आज नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले बिदेशी भुमिमा अकालमा ज्यान गुनाउनु पर्ने थिएन । अरबिको घरमा बन्धक भइ शारीरिक तथा मानसिक यातना भोग्नु पर्ने थिएन । बिदेशी काल कोठरीहरुमा जीवन र मरणको दो साधमा जिन्दगी खेरा फाल्नु पर्ने थिएन।

सरकारको कमजोरीपन र नेपालीको गरिबिपनको फाइदा उठाउदै दलालहरुले हजारौं हजार नेपाली चेलीहरु छिमेकी मुलुक चिनको खासा बजार र भारतको मुम्बई देखि लिएर अफ्रिकी मुलुक सम्म पुर्याइ बिक्रि गरेका छन् । हाम्रा चेलिहरुले आफ्नो अस्मिता गुमाउन बाध्य बनाइएको छ। सायद यो कहालीलाग्दो दिन देख्नु र भोग्नु पर्ने थिएन।

एक सामान्य नागरिकको हैसियत भएको व्यक्तिले अन्याय, अत्याचार र बिभेदमुक्त समाज निर्माणका नाममा ठुल ठुला आन्दोलन र क्रान्ति गरेर सत्तामा पुगेर आसिन महलमा पुगेकालाई सिकाउन उपयुक्त नहोला । तर पनि देश बनाउने युवाहरुलाई पलायन हुनबाट रोक्ने सरकारी कुनै योजना नहुँदा युवाहरु देशमै बस्ने आशा हराउदै गएको छ ।

देशमै तालिमको ब्यबस्था गरि कृषि तथा औद्योगिक क्षेत्रमा युवाहरुलाई आबद्ध गराउदै, विदेश बिस्थापित भएका युवाहरुलाई स्वदेसमै स्थापित गराइयोस ! आत्मनिर्भर र स्वाभिमानी जीवन जिउने बाताबरण मिलाइयोस… सरकार !

(लेखक अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका महासचिव हुन) 

२०७५ पुष ७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको