जनमुक्ति सेना बुझाएर पैसा खाएको भन्दै कार्यकर्ताद्वारा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास


मंसिर ६, चितवन । पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास गरेका छन ।

आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीयले प्रचण्डमाथि आक्रमण गर्न खुँडा बोकेर मञ्चतर्फ अघि बढेका थिए । तर सुरक्षार्थ खटिएका सुरक्षा टोलीले उनलाई आक्रमण हुनबाट जोगाएका छन् ।

प्राप्त समाचार अनुसार बिहान ९ बजेतिर भएको उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डको उपस्थित भएको केही समयमै आक्रोशित स्थानीयको एक समूहमा घरेलु हतियार खुकुरीसहित कार्यक्रमस्थल जम्मा भएका थिए । आक्रोशित समूहबीचबाट एकजना हातमा नांगो खुकुरी लिई प्रचण्डलाई गाली गर्दै अगाडि  बढ्ने प्रयास गरेको बताइएको छ ।

समाचारमा जनाइएअनुसार आक्रमणपछि उपस्थित प्रचण्ड पक्षधरले उनको हातबाट खुकुरी खोसेर नियन्त्रणमा लिई कार्यक्रमस्थल बाहिर निकालेका थिए । त्यसपछि पनि ती व्यक्तिले आक्रोशित भावमा चिच्याउँदै प्रचण्डलाई अपशब्दमा गालीगलौज गरिरहे… र, ‘मारिदिने’ धम्की दिइरहे ।

आक्रमण गर्ने व्यक्ति प्रचण्ड नेतृत्वकै स्थानीय पार्टी कार्यकर्ता रिमाल थरका युवा भएको खुलेको छ । उनले प्रचण्डलाई ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको, जनयुद्धको उद्देश्यलाई कुल्चेको र देश र जनतामाथि गद्दार गरेको’ भन्दै तिखो शब्दमा गाली गरेका थिए ।

मिर्मिरे अनलाईनलाई प्राप्त भिडियोमा आक्रोशित एक व्यक्ति (पुरुष)ले आक्रोशित मुद्रामा गाली गर्दै आफूलाई नमातेको भए ‘आज त्यल्लाई मारिदिन्थेँ’ भनेको प्रष्ट सुनिन्छ । ती व्यक्ति उनले ‘त्यो राँ… लाई ….. आज मलाई… तिनीहरुले नसमा… भए, हैन ….. हान्थेँ, खुकुरी खै खुकुरी’ प्राप्त भिडियोमा सुनिन्छ । भिडियो घटना सुनेर घटनास्थलतर्फ जाँदै गर्दा आक्रमण गर्न खोज्ने व्यक्तिलाई केही मान्छेले तानेर बाहिर सडकतर्फ ल्याइरहेको अवस्थामा खिचिएको हो ।

रिमाल जनयुद्धमा सक्रिय र इमान्दार कार्यकर्ता भएको बुझिएको छ । अध्यक्ष प्रचण्डले जनयुद्धका एजेण्डा र उद्देश्यमाथि धोका दिएको भन्दै चौतर्फी आलोचना गर्दै खनिइरहेको समयबीच चितवनको कृष्णचोकमा यो घटना भएको हो ।

यसअघि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष रहेका बेला ६ वर्ष अघि पार्टीले दीपावलीको अवसर पारेर भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा हात मिलाउने मौका पारेर युवा पदम कुवँरले प्रचण्डलाई गालामा झापड हानेका थिए ।

मिर्मिरे अनलाइनबाट 

६ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको