मल्ल र तुलाधरः सीमान्तीय चिन्तनका मेरुदण्ड


“तुलाधरले अल्पसंख्यक सीमान्तकृत, पिछडाबर्ग, उत्पीडित समुदायको आवाज बोलिरहे । व्यवस्थाविरुद्ध लड्न व्यवस्थाभित्रै उभिएका तुलाधर र भारदारहरुको बीचबाट भारदारहरुविरुद्धै बोल्न सक्ने मल्लको समान चरित्र संयोग मात्र होला ।”
……..

“ऐतिहासिकको हैसियतले नयराज पन्तले पाएको तालिम के हो ? विक्रमको बीसौं शताब्दीको पछिल्लो दशाब्दीमा वनारस संस्कृत पाठशालामा सिद्धान्त ज्योतिष पढेको वा घरैमा पाणिनी, कौटिल्य, कालिदासका ग्रन्थ पढेको नै इतिहाससम्बन्धी तालिम हो कि ? …ऐतिहासिकको हैसियतले उनका मौल ग्रन्थ यति मौल छन् कि यी शास्त्रीय ग्रन्थ उनीबाट हटाइदिएको खण्डमा ज्ञानको हिसाबले उनी नांगिए जस्तै हुन्छन्” (नेपाल भाषाको इनाप, सं कृष्णसुन्दर मल्ल, २०४१ मा प्रकाशित सामाग्रीको अनुवाद पूर्णिमा अंक ६२ बाट उधृत)

“आजभन्दा ४० ५० वर्षपछि अजम्बरीको बूटी नखाएका भए न यहाँ कमलप्रकाश नै रहनेछन् न महेशराज नै बाँकि रहनेछन् । …जब आफूले चिताएको पुग्दैन तब उसले आफूलाई नियन्त्रण गर्न सकेन भने ऊ बहुलाउँछ । जातिगत द्वेष र मौकापरस्तीलाई घोलमेल गरी विद्दतशिरोमणीको पगरी गुथ्ने सुर कसेका कमलप्रकाश मल्लको करतूतको भण्डाफोर महेशराज पन्तले गरिदिएका हुनाले कमलप्रकाश मल्लको क्रोध नियन्त्रित हुन सकेन” (पूर्णिमा अंक ५८ बाट उधृत) ।

माथिको पहिलो अनुच्छेद कमलप्रकाश मल्लले इतिहास संशोधन मण्डलका जनक नयराज पन्त र मण्डलको इतिहास अध्ययन परम्पराप्रति कटाक्ष गर्दै लेखेका थिए । र, दोस्रो अनुच्छेद मल्लको विचारको खण्डन र इतिहास संशोधन मण्डलको प्रतिरक्षामा प्रकाशित हो ।

यो त्यही बहस हो जसलाई नेपालको प्राज्ञिक क्षेत्रमै सबैभन्दा कटू र विवादास्पद मानिन्छ । र, बहसको केन्द्रीय पात्र अरु कोही नभएर हालै दिवगंत कमलप्रकाश मल्ल हुन् ।

स्थापित अनुसन्धान परम्परा र समूहमाथि मात्र होइन नामूद बौद्धिकको छाप लागेकाहरुको खिलापमै आगो ओकलेपछि हर्क गुरुंग, जगदिश घिमिरेसँग मात्र होइन महेशराज, दिनेशराज पन्तहरुसँग पनि मल्लले विचारको मल्लयुद्ध लडे । मल्ल भन्थे, ‘संगठित बौद्धिकहरुले तार्किक प्रतिकारभन्दा संकुचित र कलुषित विचारले लडाई छेडे । उनीहरु पनि लडे तर जितेनन्, मैले पनि लडें तर हारिन ।’

कुनै एक विधा जसमा नामी प्राज्ञहरुको समूह छ र आफ्ना क्षेत्रमा राष्ट्रमा बर्चश्व स्थापित गरिरहेको छ, उक्त समूहविरुद्ध चोरऔंला उठाउन सजिलो हुन्छ ? हुँदैन । यो दुई अवस्थामा मात्र सम्भव हुन्छ । पहिलो, व्यक्तिको मुर्खता उत्कर्षमा पुगेको अवस्थामा, दोस्रो व्यक्तिको ज्ञान र क्षमताप्रति आफू विश्वस्त भएको अवस्थामा । किनकि, घमण्डका दुई अवस्था र कारण हुन्छन् । पहिलो, कि पात्र ज्यादै कमजोर छ, दोस्रो कि पात्र आफ्नो क्षेत्रमा प्रतिष्पर्धीभन्दा अब्बल छ । त्यसैले इतिहास संशोधन मण्डलविरुद्ध कमलप्रकाश मल्लको असहमति र आक्रोशलाई यथास्थितिविरुद्धको जायज र तार्किक बौद्धिक विद्रोहको रुपमा समेत स्वीकार गर्नपर्ने हुन्छ ।

राजनीति र साहित्य समाजको नेतृत्व गर्ने अलगअलग दुई विधा हुन् । दुबै जनपक्षीय हुँदा सकारात्मक परिवर्तन अपेक्षित हुन्छ । राजनीतिमा जस्तै साहित्यमा बर्गीय पक्षधरता जति स्पष्ट र बुलन्द हुन्छ त्यति त्यसले पहिचानका स्वरहरुलाई सङ्कलित रुपमा प्रकट गर्न सक्दछ । नेपालमा यो महिना दुई त्यस्ता पात्र अस्ताए जसले अलग्गै मानक, मान्यता र पहिचान बनाएका थिए र जसको सम्बन्ध राज्यसँग हुँदाहुँदै पनि सिधा राज्य वा राज्यनिर्देशित नीतिविरुद्ध थियो र दुबैले पहिचान र पक्षधरतामा श्रेष्ठता हासिल गरेका थिए । दुबैको पक्षधरताले उनीहरु सबाल्र्टन चिन्तनका द्रष्टा थिए भन्ने विषय उठाउनु आजको बसाईको तात्पर्य हो । दुबै कहिले मूलबाटो त कहिले सहायक बाटोबाट हिंडे तर निर्दिष्ट गन्तव्यमा सँगै भेट हुन्थे । अस्ताएका दुई पात्र हुन् प्राध्यापक डाक्टर कमल प्रकाश मल्ल र अधिकार÷राजनीतिकर्मी पद्यरत्न तुलाधर ।

यदि सबाल्र्टन चिन्तनले अभिजात्य स्रोत र तहबाट बाहिर आएर जनताका लागि इतिहास विनिर्माण गर्दछ भन्दछ भने निःसन्देह दुबै पुरुष सबाल्र्टनका श्रेष्ठ हुन् । समाजका उत्पीडित, पछाडि पारिएका वा सीमान्तकृत बर्गका लागि आवाज मुखरित गर्ने र तिनको पक्षधरतामा चिन्तन गर्ने प्रवृति यदि सबाल्र्टन हो भने स्वर्गीय कमलप्रकाश मल्ल र स्वर्गीय पद्यरत्न तुलाधर आ—आफ्नो विधा र क्षेत्रका कोशेढुंगा हुन् । इतिहासमा छुटाइएका वा छुटेका यावत् सत्यको उजागर गर्ने मान्यता यदि सबाल्र्टनले बोक्दछ भने दुबै आ—आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउने योद्धा हुन् । राजनीति र साहित्य तथा अनुसन्धानको कर्मबाट ब्यूँझाउने र ब्यूँझने अभियानका सन्दर्भमा दुबैले आफ्नो रथलाई लक्ष्यसम्म लैजान गरेको संघर्ष स्मरणीय छ ।

‘जुन बर्गले इतिहास लेख्छ त्यो बर्गले आफ्नो बर्गको महत्ता स्थापित गर्न कुनै कसर छाड्दैन । तर इतिहासमा अरु बर्गको भूमिका अन्देखा गर्नु आफैंमा ऐतिहासिक अपराध हो’ इतिहास लेखनमा त्रुटी औंल्याउँदै मल्ल भन्थे ‘राज्य नियन्त्रित वा राज्य निर्देशित चरित्रको इतिहास अध्ययन परम्परामा प्रश्नै गर्दैमा अपराधी करार गर्ने सोचबाट मुक्त नहुन्जेल सन्तुलित इतिहासको परिकल्पना नै भ्रम हो ।’

मल्लको विमति पृथ्वीनारायण शाहको दिव्यपदेश लेखनमा मात्र होइन, सजातीय र विजातीय दृष्टीमा देखिएको विभाजनमा समेत थियो । जातजातीको, भूगोलको, संस्कृतिको सह—सम्बन्ध, सह—अस्तित्व, सहकार्यलाई अस्वीकार गरेर हैकमवाला बर्गको मात्र प्रस्तुतीमा जोड दिंदा वास्तविक इतिहास चाँहि मर्ने डर देख्थे कमलप्रकाश मल्ल । त्यसैले मल्लको प्रश्न र प्रश्नको तरंगले ज्ञान र विद्धताको सीमा नाघेर जाती, समुदाय र योग्यतासम्ममा विवाद र बहस जन्माउँथ्यो । र, राजनीतिको मियो समातेर पद्यरत्नले उचालेको अधिकार र परिवर्तनको झण्डाको अन्तर्य पनि यो भन्दा फरक थिएन । लोकले पद्यरत्न रोएका भाषणहरुलाई किस्तामा मात्र गन्यो । उनले निरन्तर बोकेको राज्यविरुद्रको विद्रोह र संघर्षको स्थायी युगीन आवाजलाई सम्प्रदाय र जातको घानमा हालेर पिस्ने नकाम गर्यो ।

कुनै बेला शुद्धसँग कंगो उच्चारण गर्न नजान्दा छात्रवृत्तिबाट वञ्चित भएका थिए कमलप्रकाश मल्ल । तर अन्तततोगत्वा तिनै कमलप्रकाश भए घाघडान इतिहासकारहरुविरुद्ध तर्कसहित प्रश्न सोध्न चोरऔंलो ठड्याउने । नेपाली इतिहास अनुसन्धान परम्परामा नयराज पन्त नेतृत्वमा २००९ मा स्थापित ‘इतिहास संशोधन मण्डल’ भर्सेज कमलप्रकाश मल्ल सम्भवतः बौद्धिकहरुको उम्दा युद्ध जस्तै थियो । कतिसम्म भने विद्वानहरु व्यक्तिगत, जातिगत गालीगलौजमा उत्रिएका थिए । नेपाल भाषा (नेवारी) को इनाप र नेपाली भाषाको पूर्णिमा । यिनैबीचको जुहारी नै पनि अब इतिहासको तथ्य बनिसकेको छ । यसका सबै दस्तावेज उपलब्ध छन्, मात्र अनुहार कम हुँदै गएका छन् । उदाहरण माथि पढिहाल्नु भयो ।

फेरि सबाल्र्टनकै वरिपरि बसौं । मल्ल र तुलाधर दुबैजना एउटै उद्देश्य प्राप्तीका लागि फरकफरक बाटोमा थिए । दरबारका अंग्रेजी शिक्षक भए पनि मल्ल एक भाषा एक भेषको पञ्चायती नीतिविरुद्ध लेख्थे बोल्थे । दुबैले बहूभाषा, बहूजाती, बहूसंस्कृतिका लागि राज्यले नीति, कार्यक्रम र लगानी गर्नपर्दछ भन्दथे । र, यसलाई जातीय रंग दिएर उनीहरुको हुर्मत लिइने प्रयास पनि हुन्थ्यो बहूमतवाला बर्गबाट । वामपन्थी राजनीतिको मैदानबाट पद्यरत्नले उचालेको अभियान र प्राज्ञिक तहमा मल्लको अभियानको अभीष्ट एकै थियो र हो । तर स्वभावतः तुलाधरले समन्वयको नरम बाटोबाट परिवर्तनको पांग्रा गुडाइरहे भने मल्लले आक्रामक आलोचनाबाट बौद्धिक एकाधिकारवादको प्रतिकार गरिरहे, आफैं अभिजात्य हुँदाहुँदै अभिजात्य सभ्रान्त प्राज्ञिक बर्गको उछितो काढिरहे ।

यसको स्पष्ट अर्थ के हो भने सबाल्र्टन हुन अभाव र विपन्नताको दूलो चिरेर मात्र आउनपर्छ पर्ने होइन सम्पन्नता र अभिजातको द्वारबाट पनि सबाल्र्टन जन्मन्छ, विस्तारित हुन्छ र मौलाउँछ । दासताका जञ्जीर भनेर कोरा भाषण गर्ने आदत परेकाहरुलाई विलासको कोठाबाट पनि सबाल्र्टनको गन्ध निस्कन्छ भन्दा नपच्ला, पचाउनपर्छ । त्यसैले मल्ल र तुलाधरहरुलाई विनिर्माणको गीत गाउनेहरुले स्मरण गर्दा अनुचित हँदैन ।

प्रज्ञा शिक्षा निकेतन, दरबार हाइस्कूल, बिहार विवि, त्रिविवि, लिड्स विश्विविद्यालय, इडेनबर्ग विश्वविद्यालय हुँदै वर्कले विश्वविद्यालयको अतिथि प्राध्यापकसम्मको यात्रामा मल्लको सबैभन्दा ठूलो देन इतिहास उत्खनन् र अनुसन्धानमा पश्चिमा पद्धतिको वकालत गर्नु हो ।

यता राजनीतिको मैदानबाट तुलाधरले पनि अल्पसंख्यक सीमान्तकृत, पिछडाबर्ग, उत्पीडित समुदायको आवाज बोलिरहे । व्यवस्थाविरुद्ध लड्न व्यवस्थाभित्रै उभिएका तुलाधर र भारदारहरुको बीचबाट भारदारहरुविरुद्धै बोल्नसक्ने मल्लको समान चरित्र संयोग मात्र होला । जातीय उमेदवारको रुपमा पञ्चायतको दूलोभित्र पसेर व्यवस्थाविरुद्ध बोल्ने पात्र हुन् तुलाधर । तुलाधर नेपाल भाषा मंका खलःका अभियन्ता, नेपाल भाषा पत्रिकाको सम्पादक मात्र थिएनन् रातो युगधारा नामको वामपन्थी समाजवादी कर्नरको गेष्ट पनि थिए । नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत र शंखधर साख्वालाई राष्ट्रिय विभूती घोषणा गर्न राजनीतिको तीर सोझ्याउने तुलाधर र ज्ञानको तरबार चलाउने कमलप्रकाश मल्ल आफैं तथ्य हुन् । यो मानेमा नेपाल भाषाका दुई मेरुदण्डको अवसानले पुर्याएको क्षति पुर्न सहज छैन ।

सीमान्त बर्गलाई अधिकार दिंदा सभ्रान्त बर्गले आफ्नो अधिकार कटौती गर्न पर्ने हुन्छ । त्यसैले तुलाधर र मल्ललाई जातको चश्माले हेर्ने गल्ती नेपाली समाजले गरेकै हो । पहिलो संविधानसभाताका ककस, जनजाती आन्दोलनमा पद्यरत्नको अनुहार देखाएर अनुदारी जातीवादीहरुले मोर्चा बलियो बनाएकै हुन् । तुलाधरको उदार अनुहार देखाएर स्वार्थको रोटी बेल्नेहरु चिनिएकै हुुन् । उत्तरार्धमा पर्दापछाडि तुलाधरले पनि पश्चिमा दाताहरुको दानमा ट्रान्जिसन टू पिसमार्फत विरोधाभाषी चरित्र देखाए । तर, उनको भूमिका र चरित्र र योगदानका अगाडि त्यो खत ठूलो भएन । अर्थात प्रजातन्त्र स्थापनापछिका हरेक आन्दोलनमा आन्दोलनकारीसँग राज्यलाई जोड्ने तुलाधरको भूमिका इतिहासमा लेखिनेछ लेखिनपर्छ । अझ अगाडि वाममोर्चाका बनाउन समन्वय गर्नेदेखि संयुक्त जनआन्दोलन संयोजनको प्रारुपसम्ममा तुलाधरको भूमिका लेखिएला । नेवार आन्दोलन, दलित आन्दोलन, महिला आन्दोलन, हलियादेखि कमैयासम्म, बालिघरेदेखि वादी आन्दोलनसम्मको मोर्चामा राज्यसँग सेतु स्थापित गराइदिने तुलाधरको सुकर्ममा भविश्यले पनि नमन गर्नेछ ।

दुबै ऐतिहासिक पात्रप्रति श्रद्धासुमन

६ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको