मंसिर ६, काठमाडौँ । सानोठिमी क्याम्पसले मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ ।
शिक्षा मन्त्रालयले शैक्षिक प्रयोजनका लागि क्याम्पसलाई भोगचलन गर्न दिएको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा १० वर्षका लागि भाडामा दिइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
भूकम्पमा स्थानीयले आश्रय लिएको १३ रोपनी जग्गा रेस्टुरेन्ट र क्याटरिङ सञ्चालन गर्न आवश्यक संरचना बनाउने गरी टेन्डर प्रक्रिया पूरा गरेर प्राणनाथ क्याफेलाई दिइएको हो । क्याम्पस र क्याफेबीच असोज २२ मा भएको सम्झौताअनुसार एक रोपनीको वार्षिक ७ हजार १ सय ७५ तिर्नुपर्छ । मध्यपुर ठिमी–२, सानोठिमी क्याम्पसको पूर्व, काठमाडौंबाट भक्तपुर जाने पुरानो बाटोको उत्तर, मगरगाउँ जाने पिच बाटोको पश्चिमतर्फको यो जग्गा सानोठिमी फुटबल मैदानअगाडिको मूल सडकसँगैजोडिएको छ ।
शिक्षकलाई राख्न लाखौं खर्चेर बनाएको क्वार्टरसमेत भाडामा दिइएको जग्गाभित्रै पर्छ । क्याम्पस र क्याफेबीच भएको सम्झौतामा क्वार्टरको विषय उल्लेख छैन । सम्झौताअनुसार शिक्षकका लागि बनाइएको क्वार्टरसमेत ठेक्का पाएकै व्यक्तिले उपयोग गर्न पाउनेछन् ।
क्याम्पस कार्यसमिति सदस्य सोमनाथ ढकालले गुपचुपमा व्यापारिक प्रयोजनका लागि जग्गा भाडामा दिने निर्णय गरिएको आरोप लगाए । ‘हामीलाई बाइपास गरेर यस्तो निर्णय भएको छ, यहाँ बेइमानी भएको छ,’ उनले भने, ‘शिक्षकलाई राख्न बनाइएको क्वार्टरसमेत पर्ने गरी भाडामा लगाइयो ।’
पेप्सीकोला पुरानो ठिमीको फराकिलो सडकसँग जोडिएको र तीनतिरै फराकिलो बाटो भएको जग्गा सस्तो दरमा भाडा दिइएपछि नगरपालिकाले समेत चासो देखाएको छ । ‘मूल सडकभन्दा भित्रको मेरो जग्गा बाली लगाउनेलाई मासिक १५ हजार भाडामा दिएको छु,’ मध्यपुर थिमी नगरपालिका–२ का वडाध्यक्ष राम थापाले भने, ‘मूल सडकमा जोडिएको जग्गा यति सस्तोमा दिँदा चलखेल भएको हुन सक्छ । छानबिन होस् ।’
निर्णय सच्याउन क्याम्पस प्रमुखलाई आग्रह गरिसकेको उनले बताए । ‘क्याम्पसले सरकारबाट जुन प्रयोजनका लागि जग्गा लिएको हो, त्यही काम हुनुपर्छ । व्यापारिक प्रयोजनका लागि भाडामा दिन पाइँदैन,’ उनले भने । नियमअनुसार सरकारबाट भोगाधिकार गर्न लिएको प्रयोजनभन्दा अर्को काम गर्न पाइँदैन । ‘ठेक्का पाउने व्यक्तिले बेकरीका परिकार उत्पादन गर्ने कारखाना खोल्ने भनेका छन्,’ क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले भने ।
उनले भने, ‘भाडामा दिएको जग्गामा कानुनले बर्जितबाहेक अरू काम गर्न पाउने सम्झौता गरेका छौं ।’ शिक्षा मन्त्रालयले १ सय ८७ रोपनी जग्गा क्याम्पसलाई भोगचलन गर्न दिएको छ ।
कोटेसनमा एउटै अक्षर
क्याम्पसले १३ रोपनी जग्गा भाडामा दिँदा मिलोमतो भएको कोटेसन फारम र ठेक्का लिने कम्पनीका सञ्चालकले कबोल गरेको रकमले पुष्टि गरेको छ । गोठाटार–९ को पुडासैनी इन्टरप्राइजेजले प्रतिरोपनी ७ हजार १ सय, न्यु बानेश्वर क्याटरिङ सर्भिस पुरानो बानेश्वरले ७ हजार १ सय ७०, कागेश्वरी मनहरा–८ को प्राणनाथ क्याफेले प्रतिरोपनी ७ हजार १ सय ७६ रुपैयाँ तिर्न कबोल गरेका छन् ।
क्याम्पसले वार्षिक ७ हजार रुपैयाँमा नघट्ने गरी भाडामा दिने सूचना प्रकाशित गरेको थियो । सीमित प्रति छापिने चर्चामा नभएको पत्रिकामा सूचना छापिएको थियो । तीनवटा कम्पनीले कोटेसन राखेका छन् । तीनमध्ये पुडासैनी इन्टरप्राइजेज र न्यु बानेश्वर क्याटरिङ सर्भिसको कोटेसन फारममा एउटै अक्षर छ । कबोल गरेको रकममा समेत ठेक्का पाएको प्राणनाथ र पुडासैनी इन्टरप्राइजेजको अन्तर ७५ रुपैयाँ मात्रै छ ।
क्याम्पस प्रमुख घिमिरेले सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गा भाडामा दिएको बताए । ‘यसलाई अतिरञ्जित गर्न खोजिएको छ, ठेक्का प्रक्रिया पूरा गरेर मात्रै जग्गा भाडामा दिएका छौं,’ घिमिरेले भने, ‘नगरपालिकाले समेत जग्गा दिनुस् भनिरहेको थियो । नगरपालिकालाई दिनुभन्दा १० वर्ष व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन कार्यसमितिले निर्णय गरेको हो ।’ टेन्डर प्रक्रियामा सबैभन्दा बढी रकम कबोल गर्नेसँग सम्झौता गरिएको उनले बताए ।
भाडामा दिन पाइँदैन : सर्वोच्च
सर्वोच्च अदालतले सामुदायिक विद्यालयले आफ्नै नाममा रहेका जग्गासमेत करार गरी व्यावसायिक प्रयोजनका लागि भाडामा दिन वा बिक्री गर्न नपाउने नजिर स्थापना गरेको छ । भरतपुर नगरपालिकाको चितवन उच्च माविविरुद्ध दायर मुद्दामा सर्वोच्चले भाडा संकलन हुने उद्देश्य राखी विद्यालयको जग्गामा स्थायी संरचना निर्माण गर्ने गरी भाडामा लगाउने कार्य नगर्न २०७३ फागुन ११ मा परमादेश जारी गरेको थियो । विद्यालयको जग्गा सार्वजनिक भएको र विद्यार्थीले शैक्षिक वातावरण पाउने अधिकार खोसिने भएकाले यस्ता कार्य गर्न‘ कानुनविपरीत हुने फैसला सर्वोच्चले सुनाएको थियो ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासले यस्तो फैसला गरेको हो । सर्वोच्चको यो फैसलाले शैक्षिक संस्थाले आफ्नो नाममा रहेको जमिन बिक्री गर्न र करारमा दिन रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस