आईजीपी खनाल युएईमाः नेपालीहरु भन्छन्, ‘भेट्न पाए थप तस्करहरुको नामावली दिन्छौं’


मंसिर ६, युएर्इ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल हाल युएईको भ्रमणमा छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को ८७ औं महासभामा भाग लिन खनाल गत शनिबार युएई आएका हुन् ।

१८ नोभेम्बरदेखि ४ दिनसम्म चल्ने उक्त महासभाले आगामी २ बर्षको लागि ईन्टरपोल अध्यक्षसहित नयाँ कार्यसमिति चयन गर्नेछ । इन्टरपोलको नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम छानिएका छन् ।

आईजीपी खनाल आईजीपीहरुमध्येकै लोकप्रिय मानिन्छन् । उनी युएई भ्रमणमा रहेको जानकारी पाएपछि युएईका नेपालीहरुले विभिन्न किसिमका प्रतिक्रिया दिएका छन् ।

दुबई हुँदै भिजिट भिषामार्फत मानव तस्करी हुने गरेकोले उनको आगमनलाई धेरैले अर्थपूर्ण रुपले हेरेका छन् । नेफ्टा अवार्डमा भाग लिन उनी २ बर्षअघि दुबई आएका थिए । उनी दुबईबाट फर्केलगत्तै तस्करी गरेर लगिएको ३३ केजी सुन पक्राउ गरेर चर्चामा आएका थिए ।

युएईमा सेटिङमार्फत अवैध बाटो भएर दैनिक १०० भन्दा बढी नेपालीहरू आउने गरेको अनुमान गरिन्छ । झन् घरेलु महिला कामदारहरू दुबईलाई ट्रान्जिट गराएर अन्य खाडी मुलुक साउदी, कतार, ओमन, बराइनलगायत तेस्रो मुलुकमा ओसारपोसार गर्ने दलालहरू पनि दुबईमा सक्रिय छन् ।

‘मानव तस्करहरुले विभिन्न प्रलोभन दिएर लाखौं लिएर दैनिक सयौंको संख्यामा भिजिट भीषामा दुबई ल्याउँदै आएका छन्, प्रहरी प्रमुख नै यहाँ आएपछि उहाँले केही कदम चाल्नुहुनेछ भन्ने आशा छ,’ रस अल खैमहका रेशम लामाले भने ।

तत्कालिन माओवादी केन्द्र निकट बाबुराम विश्वकर्माले आईजीपी खनालले दुबईको वास्तविकता बुझेर जानुहुने विश्वास व्यक्त गरे ।

‘उहाँले पहिले आउँदा पनि राम्रो काम गर्नुभएको थियो, यसपाली पनि गर्नुहुनेछ,’ विश्वकर्माले भने, ‘मानव तस्करलाई कारबाहीको दायरामा ल्याए धेरै नेपालीहरु ठगिनबाट जोगिने थिए ।’ युएईमै कार्यरत पत्रकार मेघराज सापकोटाले मानव तस्करहरुलाई कारबाही हुनेमा शंका व्यक्त गरेका छन् ।

‘दुतावासले गतवर्ष मानव तस्कर भनेर कयौं तस्करहरुको सुची नै जारी गरेको थियो, नेपाल सरकारले कुनै एक्सन लिएन,’ सापकोटाले भने, ‘उहाँसँग भेट्ने मौका पाए थप केही तस्करहरुको नामवालीसहित कारबाहीको लागि अनुरोध गर्नेछु । अहिले पनि केही मानव तस्करहरु मान्छे ल्याउने र आईसकेपछि उल्टै शारीरिक र मानसिक रुपमा सताउने गरेका छन् ।’

नेपाली दुतावास आवुधावीले गत बर्ष युएईमा रहेर मानव तस्करी गर्नेहरुको सूची नै जारी गरेको थियो । ती मध्ये कोही पनि कारबाहीको दायरामा आउन सकेका छैनन् ।

कानुनको अभावमा उनीहरुलाई पक्रन नसकिएको बताईएको छ । बरु केही समययता तस्करहरुले अलऐन, आवुधावी, दुबई, शारजाह, अजमान र रासअल खैमहलगायत विभिन्न स्थानहरुमा क्याम्प खडा गरी नेपालीहरुलाई अवैध मार्गबाट युएई ल्याएर भिजिट भिषाको व्यापार गर्ने गरेका छन् ।

दुबईमा कार्यरत क्रिस सुनारले आईजीपी खनालको भ्रमणले निकै आशा जगाएको बताए । ‘पहिलेको नजिर छ । उहाँको युएई भ्रमणको, यसपाली पनि मानव तस्करको जालो तोड्नुहुनेछ भन्ने आशा छ,’ उनले भने ।

अहिले भैरहेको महासभाले मानव दलाल र तस्करलाई कारबाहीको दायरामा ल्याउने आशा युएईमा कार्यरत नेपालीहरुले गरेका छन् ।

६ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको