पासो हैन, आशा र भरोसा छ परदेशमा !


पैसा हैन पासो छ परदेशमा… ?

हजुर, यहाँ परदेशमा त पासो नै पासो छ । तपाईंलाई कसले घोक्रेठ्याक लगाएर जहाज भित्र हुलिदेला र यहाँ आएपछि त्यसलाई शुली चढाउँला भनेर मुख मिठ्ठ्याएर बसेको छ परदेश । त्यतिमात्र हैन परदेशबाट तपाईं पैसा कमाएर फर्कने सपना पनि नदेख्नुस्, फर्कने पनि रातो बाकसमा मात्रै हो ।

तपाईंलाई कन्ठ भएका अरु पनि धेरै कुरा छन् यहाँ । जस्तो एअरपोर्टमा झर्ने बित्तिकै ३/४ दिन एअरपोर्टमै अलपत्र पर्नुहुन्छ, भोकभोकै भुइँमा सुत्नुपर्छ । बल्लतल्ल साहुको मान्छे आउँछ । आउने बित्तिकै गाली गर्छ, अझ कुट्नपनि सक्छ । ५० डिग्री तापक्रममा भेडा चराउन पर्छ । बेल्चा हान्न पर्छ । तपाईंसँग खानेकुरा केही हुन्न । खजुरको बोटमुनी बसेर सुख्खा खबुस खानुपर्छ । बिरामी हुँदा उपचार गर्न पाउनुहुन्न । काम नगरेको भनेर साहुले पैसा दिंदैन । हो साथी हो परदेशमा पासो नै पासो छ ।

वाहियात …

ओ मित्र ! तपाईलाई परदेशको बारेमा यति धेरै जानकारी हुँदाहुँदै फेरि पनि किन आउनुहुन्छ त हरेक दिन एरपोर्टमा १५००/२००० को लाइनमा ठेलमठेल गरेर ? दु:ख गर्न अप्ठ्यारो र लाज नमान्ने हो भने ९०% नेपालीलाई आफ्नो माटो खनिखोस्री गरेर खान पुग्छ ।

आफ्नो माटो पर्याप्त हुँदाहुँदै कसले घिसारेर जहाज भित्र हुलिदियो तपाईंलाई ? अब त पहिले थाहा थिएन यहाँ आएर फसियो भन्ने बहाना पनि गर्न पाउनुहुन्न ।

कसले बाँधिदियो यो पासो ?

अरु केही नचलाए पनि फेसबुक त पक्कै चलाउनु हुन्छ होला ! आफू जाने देश, काम र त्यहाँको बारेमा अलिकति जानकारी त पक्कै लिन सक्नुहुन्छ होला ! फेरि कसले बाँधिदियो यो पासो ? अनि यहाँ बसेको कति वर्ष भयो ? भनेर सोध्यो भने ‘१० वर्ष,१२ वर्ष, १५ वर्ष’ भयो भन्नुहुन्छ ।

यत्रो वर्षसम्म पासोमा किन अल्झि राखेको ? लौ २ वर्ष त जबर्जस्ती पासोमा बाँधिनुभयो रे ! फेरि फर्की फर्की किन आएको ?

प्रिय परदेशी मित्र यसरि आभारी सिक्नुहोस्…

मित्र, आफ्नो अन्नदाता मुलुकलाई गाली मात्रै नगर्नुस्, गुनासो मात्र नगर्नुस्, आभारी हुन पनि सिक्नुहोस् । युरोपियन र अमेरिकी मुलुकमा जानेको कुरा एक्कैछिन छोडेर हामी खाडी बस्नेकै कुरा गरौं त !

अहिले तपाईका साना नानीबाबुहरु चिटिक्क परेको युनिफर्म लगाएर महंगा बोर्डिङ स्कुल जान्छन् नि ! हो, त्यो यही परदेशले दिएको हो । तपाईका आमा बा यो जाडोमा कोरियन बल्यांकेट ओढेर ३२ इन्चको एलइडी टिभीमा आस्था र संस्कार च्यानल हेर्छन् नि ! हो, यही परदेशले दिएको हो ।

तपाईंकी प्राण प्यारी अहिले मेलापात जाँदा, घाँस दाउरा गर्न जाँदा पनि एकैछिन फुर्सद निकालेर ए मेरो हजुर, आउनुस् न इमोमा कुरा गरौं भन्छिन् नि ! हो, त्यो सामसुङ र आइफोन यही परदेशले दिएको हो ।

हिजो खरको छानो चुहिन्थ्यो, आज धुरीमा टिलिक्क टल्कने जस्ता पाता हाल्नु भएको छ नि ! हो, यही परदेशले दिएको हो । अझ कतिले त शहरमा ८ इन्चका रड हालेर पक्की घर बनाउनु भएको छ नि ! हो, यही परदेशले दिएको हो ।

हिजोसम्म देशमा ५ हजारको जागीरमा बिक्नु भएको थिएन, २ हजार सापटी माँग्दा कसैले पत्याउँदैन थिए, आज कमसेकम अब नेपाल फर्केर पनि १००० बोइलर कुखुराका चल्ला पालेर, चार माउ भैंसी पालेर, एउटा सेकेन्ड ह्यान्ड ट्याक्सी किनेर चलाएर पनि गुजारा गर्न सक्छु भनेर जुन हिम्मत, शाहस, आत्मविश्वास पलायो नि ! हो, यो पनि परदेशले नै दिएको हो !

सिस्टम के हो सिक्नु भयो । विकास के हो देख्नुभयो । सभ्यता कस्तो हुन्छ जान्नुभयो, मेहनत के हो बुझ्नुभयो । परिश्रमको फल कति स्वादिलो हुन्छ चाख्नुभयो । बा आमाको मुहारमा खुसी भर्नुभयो । बालबच्चाको उज्ज्वल भविष्य दिनुभयो । श्रीमतीको अभाव खोस्नुभयो ।

अब के दिएन परदेशले ? के पाउनु भएन परदेशबाट… ?

त्यसैले म त भन्छु पासो हैन आशा छ परदेशमा, भरोसा छ परदेश सँग, सकिन्छ आफ्नै देशमा बस्नुस् । नत्र निर्धक्क आउनुस् ।

एउटा कुरा याद राख्नुस्, ती रातो बाकसमा कथा, पैसा हैन पासो छ परदेशमा भन्ने रुन्चे गीत पनि यही परदेशीले पठाइदिएको आइफोन/एन्ड्रोइडमा मोबाइल या ल्यापटमा परदेशीले नै तिरिदिएको वाइफाइ/डाटाको निशुल्क प्रयोग गरेर लेखिएको हो । ती रुन्चे र असन्तोकीहरुको पछि नलाग्नुस् ।

(लेखक जे. सागर पत्रकार, साहित्यकार तथा समाजसेवी हुन्)

५ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको