कात्तिक ५, काठमाडौँ । कलेजो रोगबाट पीडित भई लामो समयदेखि उपचार गराइरहेका क्रान्तिकारी पत्रकार रामचन्द्र हुमागाईको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
हुमागाईको सानेपा स्थित जेष्ठ नागरिक केयर होममा आइतबार दिउसो करीव पौने ४ बजेतिर निधन भएको हो । हुमागाईको आइतबारै साँझ पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।
क्रान्तिकारी माअाेवादी निकट पत्रकार रहेका हुमागाईप्रति अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य पवनमान श्रेष्ठलगायतका नेता कार्यकर्ता तथा पत्रकारहरु पशुपति आर्यघाट पुगेका थिए ।
क्रान्तिकारी माओवादीका नेताहरुले हुमागाईको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पत्रकार हुमागाईं क्रान्तिकारी माओवादी काठमाडौंका सदस्य समेत रहेका थिए ।
यसैबीच, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक श्रद्धाञ्जली वक्तव्य जारी गरी हुमागाईको निधनले संगठनलाई स्तब्ध तुल्याएको भन्दै हुमागाईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस