भदौ ६, काठमाडौं । भेनेजुएलाको तटीय इलाकामा भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको मात्रै भूकम्पको गएको बताएका छन् ।
धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । काराकासमा रहेका पत्रकार स्टेफन पोजबनले कम्तीमा १ मिनेटसम्म भूकम्पको धक्का महसुस भएको सीएननलाई बताएका छन् ।
भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण नआएको बताइएको छ । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको औंल्याएका छन् ।
भेनेजुएलाको आन्तरिक मामिला मन्त्री नेस्टर लुइस रेभरोलले ट्वीटवरमार्फत सबै देशबासीलाई शान्त रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस