स्मृतिमा सांस्कृतिक क्रान्तिका धरोहर खुसिराम पाख्रिन: एकबर्ष अघि ‘आज’


मंसिर ६, काठमाडौं । ‘नेताले मात्रै हुँदैन, विश्व बदल्ने शक्ति युवा शक्ति नै हुन् । तिनै युवा शक्तिहरुले साथ दिनुपर्छ । सन्सारका ठुला विद्रोह आमुल परिवर्तनिय क्रान्ति युवा शक्तिले नै भएको छ ।’ मञ्चमा उक्लिएर यती भनेपछि खाली समयको सदुपयोग गर्दै जनवादी गायक खुसीराम पाख्रिनले प्रगतिशिल गीत गाउन थाल्नुभयो ।

युवाहरु हो देश तिम्रै हो, भविश्य तिम्रै हो,
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो

करिव दिउँसोको २ बज्न लाग्दै थियो । गीत संगितको तालमा शरिर हल्लाउँदै गीत गाउँदै हुनुहुन्थ्यो जनवादी गायक ६५ वर्षिय खुसिराम पाख्रिन । गीतसंगितको तालमा देखिएको उहाँको प्रस्तुतिमा युवा जोश भरिएको थियो । बृद्ध भएपनि तन्नेरी झैं हातको हाउभाउमा गीत पस्कँदा दर्शक बनेर आएका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरु पनि उत्साहित देखिन्थे ।

मंगलबार भरतपुरको केन्द्रिय बस टर्मीनलको खाली चौरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’का छोरा प्रकाशको श्रद्धाञ्जलीसभा राखिएको थियो । मध्यान्ह १२ बजे नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आउने कार्यक्रम केही ढिला भएपछि उहाँले मञ्च पाउनुभएको थियो । खाली समयको सदुपयोग गर्दै हुनुहुन्थ्यो पाख्रिन ।

हजारौको बलिदानले कालोयुग ढलेको छ
सिर्जना र समृद्धिको बाटो खुल्न थालेको छ

केही बेर मच्चिएरै गीत गाउनुभयो उहाँले । फुर्तिलो देखिनुभएका पाख्रिनका शरिरमा कुनै विमारको छनक थिएन ।

युवा तिम्रो काँधमा आयो देश बचाउने अभिभारा
छातिखोली अघि बढ्ने अब तिम्ले हिम्मत गर

केहीबेरको प्रस्तुति सकेपछि औपचारिक कार्यक्रममा आसनग्रहण गरेलगत्तै उहाँ अस्वस्थ हुनुभएको थियो । ‘एक्कैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो, तत्कालै २ः५५ बजे अस्पताल पुर्याईएकोमा केही समयपछि नै चिकित्सकले मृत घोषणा गरे ।’ ज्वाई प्रताप गुरुङले घटनाबारे जानकारी दिनुभयो ।

नारायणी सामुदायिक अस्पतालका अनुसार नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार तथा जनवादी गायक खुसीराम पाख्रिन हृदयघात भई मृत्यु भएको थियो । यति जोशका साथ गीत गाईरहेका पाख्रिनको एकैछिनमा मृत्युको खबर आउँदा शुभचिन्तकहरु स्तव्द भए ।

एकजना शुभचिन्तक मानबहादुर स्याङबोले भन्नुभयो पत्याउनै नसकिने घटना भयो । हुन त केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको पनि यसैगरी अप्रत्याशित रुपमा मृत्यु भएको थियो ।

उनकै श्रद्धाञ्जली सभाका क्रममा गीत गाएका पाख्रिन एक्कासी निधनको खबरले स्तव्ध हुनु स्वभाविकै हो ।

कहिल्यै मिडिया नखोज्ने गायक पाख्रिन जनताको घर आँगनबाटै सिक्थे र सिकाउँथे

विसं २००९ साल कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्मिनुभएका पाख्रिन प्रगतिशिल र साँस्कृति अभियानका अगुवा हुनुहुन्थ्यो । झण्डै ५०० गीत रहेको उहाँको करिव २०० गीत प्रकाशित र संगितबद्ध नै भएको अनुमान गर्नुहुन्छ गायक हरि योञ्जन ।

उहाँका अनुसार शुरुआती कालदेखिनै गीत संगितमा रुचि राख्ने पाख्रिन २०३५ सालबाट औपचारिक गीत संगितमा लाग्नुभयो । अहिलेसम्म कुनै मिडिया खोजेर उहाँले प्रचार गर्नुभएन ।

जनताकै घरदैलोमा रमाउने र जनताकै सुखदुख र मुक्ति आन्दोलन तथा परिवर्तनको क्षेत्रमा उहाँको योगदान छ । २०३८ सालमा उहाँले ‘सगरमाथाको काखबाट’ भन्ने प्रगतिबादी गीत औपचारिक रुपमै ल्याउनुभयो ।

‘गैती बेल्चा उचालेर, पहरालाई छिचोलेर’ भन्ने गीत उहाँको निकै चर्चित भएको अनुभव सुनाउनुहुन्छ गायक योञ्जन । योञ्जनले धेरै गीत उहाँसँग गाउनुभएको छ । योञ्जन जनवादी संस्कृतिक मोर्चा मै छँदा पाख्रिन पूर्णकालिन प्रगतिशिल साँगितिक क्षेत्रमा लाग्नुभएको थियो ।

कालो वनको बीचैमा खेतालाको गाउँ
सानासाना झुपडी, छैन आमा बाबु

मजदुरहरुको वास्तविक अबस्थालाई शब्दमा उतारेर उहाँले साँस्कृतिक आन्दोलन नै अघि बढाउनुभयो । त्यो मात्रै होईन । पाख्रिनको महिला अधिकार र मुक्तिको अभियानमा समेत उत्तिकै योगादन रहेको योञ्जन बताउनुहुन्छ ।

हामी चेली विरानो गाउँमा नौ डाँडा पारी
सम्झेर आमालाई रुन्छिन् धरधरी

महिला केन्द्रित यो गतिले त्यो समयमा चर्चा पाएको थियो । उहाँको गीतमा क्रान्तिकारी, साहसी, मुक्तिका कुराहरु छन् । शुरुमा बेदना साँस्कृतिक समुहमा रहेका उहाँ जनवादी साँस्कृतिक हस्ती हुनुहुन्थ्यो । सामना साँस्कृतिक परिवारका संस्थापक पाख्रिनका गीत अहिलेपनि जीवन्त रहेको शुभचिन्तक संगिता भट्टराई बताउनुहुन्छ ।

अर्का गायक चेतन सापकोटा पाख्रिन जनवादी गीत संगितका भिष्मपिताम्मह रहेको बताउनुहून्छ ।

‘मिडिया कहिल्यै खोज्नुभएन, खाली जनताको लागि मात्रै गाउने गर्नुहुन्थ्यो, सापकोटाले भन्नुभयो, विना मिडिया टोलटोलमा जागरण ल्याउने जनताले बनाएको गायक हुनुहुन्थ्यो पाख्रिन ।’

उहाँका अनुसार जनता कै आँगनमा सिक्ने र सिकाउने भएकाले अरु कतिपय गायकहरु मिडिया प्रचारबाट गायक बनेपनि उहाँ जनताको आँगनबाट बनेका गायक हुनुहुन्थ्यो ।

(खुसिराम पाख्रिनको निधन भएको आज एक बर्ष पुरा भयो, उनको मृत्यु पछी नारायण ढुंगानाले तयार पारेको सामाग्री)

५ मंसिर २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको