पहिलो विश्वयुद्ध, समाजवाद र नयाँ राष्ट्रवाद


पुरुषोतम लम्साल/मङ्सिर ५, अमेरिका । फ्रान्समा, जर्मनीमा, अमेरिकामा, भारतमा अतिवादसहितको राष्ट्रवादको विजारोपण बलियो बन्दैछ । भारतमा मोदीको राष्ट्रवाद र नेपालमा ओलीको राष्ट्रवाद उस्तै कस्मेटिक हुन् जसरी अमेरिकामा ट्रम्पको ‘अमेरिका पहिलो’ र मक्रोनको ‘नयाँ फ्रान्स ।’

सय वर्षअघि । पश्चिमा पात्रो अनुसार ११ महिनाको ११ तारीखको ११ बजे सकिएको घोषणा भएको पहिलो विश्वयुद्ध । त्यसैले यो मितिको हल्ला यो वर्ष अलि बढी भयो । पहिलो विश्वयुद्धको सम्झनामा भन्दै कार्यक्रम पनि बढी भए, शान्तिका गीत गाइए । गीत तिनीहरुले गाए जो खासमा मानवताविरोधी अपराधको जगमा उभिएका थिए । विश्व राजनीतिको मञ्चमा आफूलाई बादशाह र बादशाहका आठपहरिया ठान्नेहरुको कर्कश आवाज फेरि ब्यूँतिए । मानवतालाई खरानी बनाएर उठेको जुंगामा उनीहरुले ताऊ लगाइरहेको देख्दा दुनियाँ निरुपाय खुईऽऽ काढेर बस्न विवश बनिरह्यो हिजोको जस्तै ।

तथ्यांक पत्याउने हो भने पहिलो विश्वयुद्धमा प्रतिवर्ष तीस करोड डलरभन्दा बढीको सूर्तीजन्य पदार्थ मात्र आपूर्ति हुन्थ्यो । यो मूल्य युद्धमा सहभागी सैनिकका लागि छुट्याइएको विस्कुटको रकमबराबर थियो । तर हरेक दिन चार करोड डलर बराबरको गोली खर्च हुन्थ्यो । प्रतिदिन चार करोड डलरको गोली । हिसाब आफैं गर्नुहोस्, साम्राज्यवादका मसिहाहरुले विस्कुट र गोलीको मूल्यलाई कसरी रगतसँग साटेका छन् ।

पहिलो विश्वयुद्धमा एउटा नारा चर्चित रहेछ, ‘घरमा बसेर बमको धमाकाले मारिनुभन्दा युद्धमा भाग लिएर गोलीको सामना गर्नु ठीक हुन्छ ।’ राष्ट्रवाद लिपपोत थियो नारामा । नत्र १२ वर्षको बेलायती बालक सिडनी लेविस आफ्नो उमेर ढाँटेर युद्धमा जाने कान्छा सिपाही बन्दैनथे । र, युद्ध दुई देशका सेनाबीचबाट उछिट्टिएर बहूदेशका नागरिक नागरिकको तहमा आइपुग्दैनथ्यो ।

कथा जति घुमाए पनि जर्मनमा विश्मार्कको उदय, उनको महत्वाकांक्षा, फ्रान्सलाई यूरोपको राजनीतिक शक्तिबाट अलग्याउने प्रयास र त्यसका लागि तात्कालीन यूरोपीय शक्ति इटली, अस्ट्रियासँगको गठबन्धन एकातिर रह्यो । अर्कोतिर फ्रान्सले बलियो बेलायत र रुससँग त्रिपक्षीय साझेदारी गरेर मोर्चा कस्यो । यही द्वन्द्व, कटूता र शक्तिको होडबाजीले युद्धको पृष्ठभूमि तयार गर्यो ।

सैनिकवादको उदय पहिलो विश्वयुद्धको जड कारण थियो । बेलायत र जर्मनी जस्ता देशहरु आम नागरिकको सैनिकीकरण हुनुपर्ने र गर्नपर्ने पक्षमा अन्धदृष्टिले लागेका थिए । औद्योगिक क्रान्तिपछिको चरणमा यी देशहरुले आफूलाई शक्तिशाली देखाउन बढाएको सैन्य उन्माद र हतियारको मोह नै परिणामतः विश्वयुद्धको कारक बन्यो । उत्पादनको होडबाजी दैनिक उपभोग्य वस्तुमा भन्दा हतियारको बन्यो । र, बाँकि विश्वलाई दवावमा राख्न वा तर्साउने त्यो उपायले काम गरेन । फलतः विश्व ध्रुविकृत हुँदै गयो ।

जर्मन सेनालाई विश्व शक्ति बनाउने उग्र सैनिकवादी घोषणाको जगमा शुरु भएको कटूताले बढाएको हतियारको बजार अन्ततः यूरोपलाई धुलिसात नबनाइकन सकिएन । उग्र राष्ट्रवादको मोर्चा आमनेसामने हुँदा खतरामा परेको विश्व शान्ति र विश्व भ्रातृत्वको तस्वीरमा सय वर्षपछि तिनीहरुले नै फूलमाला चढाए जो नयाँ विश्वमा विवादास्पद राष्ट्रवादको गीत गाउन र वैश्विक ध्रुवीकरणलाई मलजल गर्न सबै उपाय अपनाइरहेका छन् ।

अफसोच ! विश्व राजनीतिको नक्साबाट यूरोपको साम्राज्य र अटोमन अम्पायरको नाममा दुनिया हल्लाउने टर्कीस साम्राज्य नै इतिहास बन्यो । यूरोप आर्थिक संकट, अनिकाल र महामारीको चपेटामा फस्यो र ब्यूँतन दशकौं लाग्यो । औद्योगिक क्रान्तिको उन्माद यसरी भत्कियो, बजार र प्रभुत्वको खोजीमा उपनिवेशका अभिष्टहरुले गति लियो । तर खुसीको कुरा, पहिलो विश्वयुद्ध अर्को महत्वपूर्ण जग बन्यो रुसमा जारशाही पतन गराउने । र, लेनिनको नेतृत्वमा समाजवादी क्रान्तिले बाटो पायो । भलै जापानसँगको युद्धमा पराजयपछि रुसमा जारशाहीको सत्ता हल्लिइसकेको थियो । पश्चिम यूरोपको जागरणको जबरजस्त प्रभावलाई सफलतापूर्वक उपयोग गरेर लेनीनले युद्धकै बीचमा जारशाहीको किल्ला उखेलिदिए । पहिलो विश्वयुद्ध नभएको हुँदो हो त… रुसकै नेतृत्वमा माक्र्सवादको न विश्वव्यापी बहस हुनसक्थ्यो न समाजवादको रफ्तार विश्वको आधा भूगोल र जनसंख्यामा पैवेश गथ्र्यो ।

फेरि युद्धकै कुरा, पहिलो विश्वयुद्ध विश्वव्यापी युद्ध थियो । दुनियाँले यो युद्ध पछि अरु सबै युद्ध अन्त्य हुने भविश्यवाणी गरे । अर्थात् यसलाई वार टू इन्ड अल वार्स भनियो । तर त्यसो भएन । बरु यो युद्धले अरु युद्धको बाटो खोल्यो । युद्ध सकिएको तीन दशकपछि विश्वले दोस्रो विश्वयुद्ध भोग्यो, अझ भयानक, अझ खतरनाक, अझ विनाशकारी, अझ अमानवीय ।

२८ जुलाई २०१४ देखि ११ नोभेम्बर १९१८ सम्म चल्यो युद्ध । चार वर्ष चार महिनाको यो युद्धमा एक करोड सत्तरी लाख मान्छे मारिए । प्रतिदिन सरदर ६ हजार मान्छे मारिए । यसमा साठी लाख सर्वसाधारण र एक करोड दश लाख विभिन्न देशमा सेना रहेको अनुमान छ । युद्धमा तीन करोड सत्तरी लाखभन्दा बढी घाइते भएका थिए । प्रभावितहरुको के कुरा । बेहिसाब क्षतिको के हिसाब ।

पहिलो विश्वयुद्धको एकतर्फ रुस, फ्रान्स, बेलायत, अमेरिका र जापान थिए । तर अमेरिकाले युद्ध शुरु भएको तीन वर्षपछि मात्र आफूलाई फ्रान्स र बेलायतको पक्षमा धु्रवीकरण गरेको थियो । अर्कोतर्फ हंगेरी, जर्मनी र अटोमन साम्राज्यको नाममा आजको टर्की थियो ।

यूरोपीय देशहरु आपसी तर गोप्य सन्धी गर्दै विश्वमाथि हैकम जमाउने महाअभियानको नेतृत्वमा थिए । खासगरी जर्मनी । उनीहरुको यूरोपीय गठबन्धन सैनिक मात्र नभएर अन्तरदेशीय व्यापारिक एवम् हतियारवद्ध साम्राज्यमा प्रवेश गर्यो । उदाहरणका लागि जर्मनी, अष्ट्रिया, हंगेरी र इटलीबीचको सन् १८८२ को सन्धी । त्यस्तै सन् १९०७ मा फ्रान्स, बेलायत र रुसबीचको त्रिपक्षीय सन्धी विश्व ध्रुवीकरणको अर्को पाइला हो, युद्ध निम्त्याउने पाइला ।

पहिलो विश्वयुद्धताका पश्चिमी यूरोपीय देशहरु अफ्रिका र एसियामा साम्राज्य विस्तारको होडमा थिए । फ्रान्स, जर्मनी, नेदरल्याण्ड, बेल्जियम जस्ता देश अफ्रिका महादेशलाई नै उपनिवेश बनाउने घोषित होडबाजीमा थिए । स्क्रेम्बल अफ अफ्रिकाको अभियानको अर्थ त्यही हो, टुक्राटुक्रा पार र रजाईं गर । उपनिवेश अभियानको नेतृत्व गरिरहेको थियो बेलायतले । यो त्यस्तो बेला थियो जुनबेला विश्वको झण्डै २५ प्रतिशत भूभागमा बेलायती राज थियो । र, कारण थियो उसको सैन्य क्षमता । सेनाको आधुनिकीकरण । बेलायतले भारतबाट मात्र १३ लाख सेना पहिलो विश्वयुद्धका लागि तयार गरेको थियो । बेलायती सेनामा बेलायतीभन्दा भारतीय सेना बढी थियो भन्दा तपाईलाई पत्यार नलाग्ला तर सत्य यही हो । भारतमा राम्रो कपडा र मिठो भोजन गर्न पाइने भन्दै सैनिक भर्ती गर्दै बेलायतलाई भारतीय युवा आपूर्ती गरिन्थ्यो । त्यो पनि विज्ञापन गरेर । तस्वीर हेर्नुहोस् ।

उन्नाइसौ शताब्दीमा पनि पूरा यूरोपमा कट्टरपन्थी देशभक्तिको भावनाले जरा गाडेको थियो । देशभक्तिको अहंकार जोगाउन जर्मनी, इटलीलगायतका देश कुनै पनि मूल्य चुकाउन तयार थिए । कुनै देशको निर्माणका लागि, बलियोको सत्ताको स्थीरताका लागि र महान बन्ने अभियानका लागि पनि युद्ध अवश्यंभावी छ भन्ने कूतर्क नै पहिलो विश्वयुद्धको जड कारण थियो । बाल्कन क्षेत्र आफैं बारुदले भरिएको ट्यांक बराबर थियो । बर्चश्वको लडाई दुई दशकभन्दा बढी चलिसकेको थियो ।

साना मानिएका साइबेरिया, बोस्निया, क्रोयसिया, मोन्टेनेग्रो, अल्बानिया, रोमानिया, बुल्गेरिया जस्ता देशहरु स्वतन्त्रता र शासनको उदात्त अभियानमा थिए । झनै बोस्निया पुगेका अष्ट्रियाका राजकुमार आर्कड्यूज फ्रान्ज फर्डीनाण्डको त्यहीं हत्या भएपछि छोटा देशहरुबीचको वैमनश्य चुलीमा पुग्ने क्रम बढेको थियो । बोस्नियालाई स्वतन्त्रता दिलाउन सहयोग गरिरहेको आरोपका बीच अष्ट्रियाले साइबेरियालाई धम्की दिन मात्र थालेन, आत्मसमर्पण गर्न चेतावनी दिएपछि साइबेरिया रुसको शरणमा गयो ।

सन् १९१४ जुलाइ २८ मा अस्ट्रिया हंगेरीले सर्बीयाविरुद्ध धावा बोलेपछि युद्धको विधिवत् आरम्भ भयो । यो मौकालाई रुसले रणनीतिक रुपमा प्रयोग गर्न रत्तिभर ढिलो गरेन र बाल्टिक क्षेत्रमा प्रवेश गर्यो । लडाई अष्ट्रिया र साइबेरियाबीच भएन, जर्मनी र रुसबीच भयो । जर्मनी र फ्रान्स आमनेसामने भए । रुस, बेलायत, र फ्रान्सको गठबन्धनपछि युद्ध विश्वव्यापी बन्दैगयो । जर्मन सेना बेल्जियम हुँदै फ्रान्स अघि बढ्दै गर्दा बेलायतले जर्मनी माथि धावा बोल्यो । जर्मन सेना फ्रान्स त पुग्यो तर पेरिस छिर्न सकेन । बरु जर्मन र रुसी सेनाको आमनेसामनेमा तीन लाख रुसी सेनाको चिहान बन्यो । रुस कमजोर भएको मौकामा टर्कीस सेनाको नेतृत्वमा रहेको अटोमन साम्राज्य रुसविरुद्ध खनियो ।

युद्ध रोकिएन । दर्जनौं देशका लाखौं सेना किल्ला वा सुरुंग र बंकरमै थिए । जो बाहिर निस्कयो, सकियो । सन् १९१६ मा एकै दिन असी हजारभन्दा बढी सैनिक मारिंदा पनि शक्तिशाली देशहरु पछि हटेनन् । उक्त दिन मारिनेमा अधिकांश बेलायत र क्यानडाका सैनिक थिए । बरु युद्ध अरु विश्वव्यापी बन्दै थियो । त्यहीबेला जर्मनीको उपनिवेश रहेको अफ्रिकाको टोगो, तान्जानिया, क्यामरुनलगायतका देशमा फ्रान्सले धावा बोल्यो । जर्मनीविरुद्ध जापानले अन्यत्र हमला गर्न थाल्यो ।

टर्कीस्थित गल्लीपोलीमा अस्ट्रेलिया र जम्मा दश लाख जनसंख्या भएको न्यूजिल्याण्डबीच अञ्जक आर्मीको लडाईमा भेट भयो । युद्ध जमीनमा सीमित भएन, पानी र आकाशमा मडारिन थाल्यो । ठूला महासागरहरुमा जहाजी युद्धका रचना हुन थाले । सन् १९१७ को एकैदिन आन्ध्र महासागरमा जर्मनीको यू बोट (पानी मुनी रहेर पनि लड्नसक्ने) जहाजले एक हजारभन्दा बढी सर्वसाधारण बोकेर हिंडेका जहाजहरुलाई पनि एकै दिनमा उडाइदियो । यही घटनापछि अमेरिका पहिलो विश्वयुद्धको हिस्सा बन्यो । र, युद्धमा अमेरिकाको प्रवेशले अमेरिकालाई नै विश्वशक्तिको बाटोमा स्थापित गराइदियो ।

आज पनि राष्ट्रवादको नयाँ परिभाषा पहिलो विश्वयुद्धको पूर्वाद्धमा जसरी हुकँदै छ । फ्रान्समा, जर्मनीमा, अमेरिकामा, भारतमा अतिवादसहितको राष्ट्रवादको विजारोपण बलियो बन्दै गइरहेको छ । भारतमा मोदीको राष्ट्रवाद र नेपालमा ओलीको राष्ट्रवाद उस्तै कस्मेटिक हुन् जसरी अमेरिकामा ट्रम्पको अमेरिका पहिलो र मक्रोनको नयाँ फ्रान्स । अर्थात्, बिचार र बजारको द्वन्द्व घनिभूत बन्दै गइरहेको छ । पुटिन र जिनपिंगको तस्वीर ठूलो हुँदै जाँदा विश्वमा भय र तरंग विस्तार हुनु नौलो कुरो होइन । तस्वीर धूमिल छ, तर कुन आँधीले तस्वीरको धूलो उडाएर शीशा फुटाउँछ भन्ने मात्र प्रतीक्षा छ ।

२०७५ मंसिर ५,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको