शान्ति दिवसले पुर्नवहाली गर्न नसकेको शान्ति


‘सँयुक्त राष्ट्र संघले सन १९८१ सेप्टेम्वर महिनाको तेस्रो मंगलवार अन्तर्रा्ष्ट्रिय शान्ति दिवस मनाउने घोषणा गरे अनुसार २१, सेप्टेम्वर सन १९८२ देखि यो दिवस मनाउन थालिएको थियो । नेपालमा भने सन २००८ देखि मनाउन शुरु गरियो । यो पहलकदमी आफैमा खुसीको क्षण हो । यो अवधिसम्म विश्व जगतले धेरै दिवसहरु मनाई सकेको छ । धेरै सभा, सम्मेलन, गोष्ठि र रयाली निकाली सकेको छ । आजको दिन नेपालमा पनि रयाली निकालीने छ । हामी पनि रयालीमा सहभागी हुने छौँ । हरेक वर्ष आजको जस्तै रयाली निकालेर दिवसमा सहभागि हुने छौँ, उत्सव मनाउने छौँ । परेवा उडाईने छ । द्धिप प्रज्वलन गरिनेछ । विश्वमा शान्ति छाओस् भनि कामना गरिनेछ । यो वर्षौँ देखि निरन्तर चल्दै आईरहेको छ र पछिसम्म पनि निरन्तर चलिरहने छ ।

पृथ्वीमा धेरै वाद र सिद्धान्तहरुको उदय भए । हामीले वाद वनायौँ । पथ वनायौँ । सिद्धान्त वनायौँ । तर दुर्भाग्य मान्छेको भविष्य वनाएनौँ । भाग्य वनाएनौँ । देश वनाएनौँ । त्यस तर्फ हामीले ध्यान दिएनौँ । सिद्धान्तले हामीलाई एकतामा वाँध्न सकेन । हामी विभाजित भयौँ । टुक्रा भयौँ । सँधै कलहमा अल्झियौँ । झगडामा फस्यौँ । जातमा फस्यौँ । पहाड र मधेसको विचमा दरार ल्यायौँ । सिद्धान्तका विविध धारहरुमा उभियौँ । धेरै शाखाहरुमा वाँधियौँ । एकतामा वल हुन्छ, भुल्यौँ । अनेकता भयौँ, कमजोर भयौँ, अनुभूति गरेनौँ । तेरो र मेरो भयौँ । यो हावा, पानी, आकास, सुर्य, तारा न तेरो हो न मेरो हो, विचारै गरेनौँ । हामीलाई सिद्धान्त प्यारो भयो । विचारधारा प्यारो भयो । तर मान्छेको लागि मान्छे कहिल्यै प्यारो भएन ।
आज सेप्टेम्वर २१, आजैको दिन धेरै देशहरुले यो दिवस मनाउदै होलान् । तर यहि दिन, यसै समयमा कयौँ हतियार कारखानाहरुमा वम र गोलाहरु पनि उत्पादन गरिँदै होलान् । सिमाहरुमा सशस्त्र जत्थाहरु मेसिनगनको ट्रिगर डवाउन करोडौँ हातहरु तम्तयार होलान् । कुनै पहाडको फेदीमा छापामारहरु कार्वाहीको योजना वुन्दै होलान् । कयौँ गोप्य कार्यालयहरुमा शान्ति दिवसको अवशरलाई उपयोग गरेर कतिपय माफियाहरु भयानक खेलको योजना बनाउँदै होलान् । भुगोलको कुनै न कुनै भागमा मानिसहरुका डर र त्रासका कति चित्कार र क्रन्दनहरु गुन्जिरहेका होलान् ? कति मानिसहरु हताहत भईरहेका होलान् ? कति मानिसहरु विस्थापित भइरहेका होलान् ? कति मानिसहरुले आनो परिवार गुमाईरहेका होलान् ? कति वालवच्चाहरु अनाथ भईरहेका होलान् ? कति मानिसहरु विधुवा–विदुर भइरहेका होलान् ? कति विकासका पुर्वाधारहरु नष्ट भइरहेका होलान् ? परिणामतः आज रोग र भोकको सिकार भईरहेका छौँ हामी विश्वका मान्छेहरु ।

शान्तिको मुहान कहाँ छ ? शान्ति कसरी हुन्छ ? शान्तिको श्रोत के हो ? कसरी त्यसलाई पाउन सकिन्छ ? त्यसका आधारहरु के–के हुन् ? यो खोजको विषय हो । हामी यसलाई खोज्न भौतारिरहन्छौँ । तर खासमा शान्ति टाडा छैन । हामी सवैको विचमा छ । हाम्रै निकटमा छ । हाम्रै साथमा छ । हामी भित्रै लुकेको छ । जानीजानी हामीले लुकाएका छौँ । त्यसलाई वाहिर निकाल्नु पर्छ । कसरी निकाल्ने ? आजको वहस यहि विषयमा केन्द्रित हुनुपर्छ । आज सवैले एकपटक यसको समिक्षा नगरि हुँदैन ।

शान्ति धेरै संवेदनसिल हुन्छ । शान्ति कमोल हुन्छ । यो कुनै एउटा सानो भन्दा सानो अणुले पनि अस्तव्यस्त हुन सक्दछ । सानै कोलाहलले पनि त्यो हल्लिन सक्दछ । सानै थक्करले पनि यो चक्नाचुर हुन सक्दछ । त्यसैले त आज त्यो हामीवाट गायव भएको छ । हामीवाट कतै लुकेको छ, हराएको छ । मान्छेसँग जुन घाटक तत्व छ त्यसवाट शान्ति तर्सिएको छ । यदि शान्तिलाई ल्याउने हो भने मान्छेको सँगतमा रहेका तमाम घाटक अस्त्र र शस्त्रहरुलाई यो पृथ्वीवाट नष्ट गरिनुपर्छ । तव शान्ति हाँसी खुसी आउनेछ । रमाई रमाई आउनेछ ।
अहिले विश्व रँगमञ्च रगतले रँगिएको छ । मान्छे नमरेको कुनै समय छैन । हाम्रो शिरमा हरदम मृत्यु नाचिरहेको छ । मृत्युले हामीलाई निल्न खोजिरहेको छ । त्यो मृत्युलाई छल्ने प्रयत्नमा हामी परिवेशवाट भागिरहेका छौँ । तर मृत्युले हामीलाई पछ्याईरहेको छ । जताततै मृत्यु मात्रै छ । अघि–पछि, दायाँ–वायाँ जताततै छ मृत्यु । तर हामीहरु वाँच्न चाहन्छौँ । अस्वभाविक मृत्यु टार्न चाहन्छौँ । शान्तिमा वाँच्न चाहन्छौँ । स्वभाविक स्थितिमा वाँच्न चाहन्छौँ ।

आज विश्वका शक्तिशाली राष्ट्रहरुको विचमा नयाँ–नयाँ घाटक हतियारहरु उत्पादनमा प्रतिस्पर्धा भईरहेको छ । किन यस्तो भईरहेको छ ? यसको अर्थ के हो ? रात दिन नयाँ–नयाँ शक्ति र क्षमताका हतियारहरु परिक्षण गर्नुको कारण के हो ? यो कस्को लागि हो ? कस्को सुरक्षाको लागि हो ? कस्को हत्या गर्नको लागि हो ? जवसम्म नदिको मुहानलाई व्यवस्थापन गर्न सकिँदैन तव त्यसको प्रवाहलाई कसैले रोकेर रोक्न सक्दैन । नदि वग्छ । जसरी पनि वग्छ । पर्खाल टोडेरै वग्छ । ठिक त्यस्तै विश्वका सरकारहरुले सर्वसाधारण मान्छेहरुलाई हतियार प्रयोगमा कानुनी रुपमा प्रतिवन्ध लगाएको त छ तर त्यसको उत्पादन प्रणालीमा भने कुनै रोकटोक छैन । त्यसैले यसलाई जति रोक्न खोजे पनि यो गैरकानुनी रुपमा जसरी पनि मान्छेहरुको विचमा आईरहेको छ । त्यसैले विश्वका सरकारहरुले त्यसको उत्पादन प्रणालीमै प्रतिबन्ध लगाउनु पर्छ तर सरकार स्वयँ हतियार निर्माण गरिरहेको छ । स्वयँले खरिदविक्रि गरिरहेको छ ।

हतियार उत्पादन गरिसके पछि त्यसको लागि वजार चाहिन्छ । हतियारको बजार युद्ध क्षेत्रमा फस्टाउँछ । चिजको खपत त्यतिखेर मात्रै हुन्छ, जतिखेर वस्तुको आवस्यक्ता पर्छ । हतियारको आवस्यक्ता अस्थिरतामा हुन्छ । त्यसैले हतियार विक्री हुनको लागि अस्थिरता चाहिन्छ । युद्ध चाहिन्छ । यदि युद्ध नहुने हो भने हतियार विक्री हुनेछैन । त्यसैले मुनाफाको लागि युद्धको वातावरण सृजना गरिन्छ । आज त्यहि मुनाफाकै कारणले अस्त्रहरु वैधानिक र अवैधानिक दुबै रुपमा उत्पादन र खरिद विक्री हुँदै आएको छ । अन्ततः त्यो मान्छेहरुको विचमा आईपुगेको छ । मान्छेहरुको मनमा मानवताको सिमा टोडिदिएको छ । मान्छेसँग मान्छेले डराएर हिँडने वातावरण वनाएको छ । किनभने मान्छेको विचमा हतियार छ ।
एकातिर खरवौँ डलर नष्ट हुने गरि युद्ध भईरहेको छ भने अर्को तिर खान नपाएर रोग र भोकले कति मानिसहरु मरिरहेको दृष्टान्त हाम्रो पृथ्वीमा छ । जुन ग्रहमा मान्छेहरुको हत्या गर्नको लागि अस्त्र र शसस्त्रको व्यापार गरिन्छ त्यो ग्रहमा द्धन्द नभएर के हुन्छ ? त्यस ग्रहमा बर्वादी शुरु नभएर के हुन्छ ? त्यस ग्रहमा भोकमरी नभएर के हुन्छ ? आज हामी वर्वादीको धरातलमा उभिएका छौँ । भोकमरीको भुमरिमा पिल्सिरहेका छौँ । हामी शान्तिपुर्ण वातावरणमा वाँच्न पाउनु पर्छ । त्यसको प्रत्याभुति दिलाउने काम राज्यको हो तर पृथ्वीका सयौं राज्यहरु सिँगो पृथ्वीलाई ससाना द्धिपहरुमा विभाजन गरेर सिमा रक्षाको नाममा नौ जवानहरुलाई हतियार भिराएर मान्छेको सिकार गर्न लगाइरहेको छ ।
त्यसैले हामी पृथ्वीका मानिसहरु एक भयानक दुःखमा वाँचिरहेका छौँ । विश्वका राज्यहरुसँग सँगठित सशस्त्र दस्ता छ । पृथ्वीलाई खरानी वनाउन सक्ने आणविक अस्त्र छ । अब ती शसस्त्र युवाहरुलाई सिमामा होईन, मानव सेवामा परिचालन गरिनु पर्छ । ध्वँश होईन, सिर्जनामा लगाउनु पर्छ । जरजर मानव वस्तिमा पुगेर अस्पतालहरु निर्माण गर्नुपर्छ । स्वच्छ खानेपानीको अभाव खेपिरहेका मानिसहरुको वस्तिहरुमा गएर पँधेराहरु निर्माण गर्नुपर्छ । युद्धले ध्वस्त भएका पाठशालाहरु निर्माण गर्न स्वयँसेवक दस्ताको रुपमा रुपान्तरण गरिनु पर्छ । पृथ्वीका मान्छेहरुले त्यही चाहेका छौँ । यो आवाजलाई विश्वका सवै १९८ राज्यका नेताहरुले सुन्नुपर्छ । शान्ति दिवसको दिन हामी पृथ्वीका मान्छेहरुले राज्य र सँयुक्त राष्ट्र सँघसँग यहि माग गरिरहेका छौँ । यो मेरो आवाज हो । यो जनताको आवाज हो । पृथ्वीवासीहरुको आवाज हो ।

दिनहुँ हामी सुन्छौँ, आज फलाना देशले यति दुरीको शक्तिशाली मिसाईल परिक्षण गरयो । फलाना देशले यस्तो हतियार वनायो । फलाना देशमा यति आतँकवादी मारिए । यति सर्वसाधारणको नरसँहार भयो । यति सैनिकले विरगति प्राप्त गरे । चाहे जनता होस्, चाहे आतड्ढवादी होस्, चाहे सैनिक होस्, पेशा जुनसुकै भए पनि यहाँ मान्छेले मान्छे मारिरहेको छ । मान्छेले मान्छेलाई जितिरहेको छ, मान्छेले मान्छेसँगै हारिरहेको छ । मान्छेको जित र हारको लडाइँ भित्र मान्छेले सिँगो लडाईँ हारिरहेको छ । यहाँ कसैको वावु मरिरहेको छ, कसैको आमा मरिरहेको छ, कसैको दाजु, कसैको भाई, कसैको छोरा, कसैको छोरी, कसैको दिदि, कसैको वहिनी । नातामा त्यो आनै पर्छ । मानवताको नाता । मान्छेले आफ्नैसंग पराजयको लडाईँ लडिरहेको छ । र त हामी हारिरहेका छौँ ।

हामी दश वर्ष लामो द्धन्दमा फस्यौँ । ध्वस्त भएका भौतिक सँरचनाहरुको पुर्ननिमार्ण हुन नपाउँदै ७२ वैशाख १२ मा गएको महाभुकम्पले हामीलाई फेरि थिलोथिलो पारेर गयो । प्रकृतिले पराजित गरेर गयो । मान्छेको लडाईँ प्राकृतिकसँगको लडाईँमा केन्द्रित हुनु जरुरी थियो । तर मान्छेले आनो शक्ति मान्छे मार्न मै केन्द्रित ग¥यो । मान्छे आनै कलहमा अल्झियो । शक्ति सँचय गर्न सकेन र प्रकृतिसँगको लडाईँमा पनि हाम्रो भागमा पराजय परयो ।

आजको विश्वमा पचास हजार भन्दा वढि नाभिकिय हतियारहरु छन् । तिनिहरुको कुल शक्ति विस हजार मेघाटन भन्दा वढि छ । सन १९४५ मा अमेरिकाले जापानको हिरोसिमामा खसालेको वम मात्र ०.५ मेघाटनको थियो । उक्त वमले एक लाख पचास हजार मानिसहरुको ज्यान लियो र ६० प्रतिशत भन्दा वढि घरहरु ध्वस्त भए । यो वम लिटिल व्वाईको नामले चिनिन्छ । हिजो आज दश मेघाटनसम्मका वमलाई मध्यम श्रेणीमा राखिएको छ । अमेरिका र रुससँग सय मेघाटनसम्मको वम छ । हिरोसिमामा खसालिएको वम भन्दा आजको विश्वमा भएका पचास हजार नाभिकिय हतियारहरुमा सत्र लाख गुणा वढि नाभिकिय शक्ति छ । यो शक्तिले विश्वलाई सत्र पटकसम्म ध्वष्ट पार्न सक्दछ । अमेरिका र रुस जस्तो एक देशलाई ध्वष्ट पार्न मात्र चार सय मेधाटन नाभिकिय शक्ति भए प्रयाप्त हुन्छ । यहि वास्तविक्ता हो । यहि वास्तविक्ता भित्र हाम्रो शिरमा मृत्यु नाचिरहेको छ । हाम्रो जिवन केवल एउटा स्विचको भरमा वाँचिरहेको छ ।

२४ अक्टोवर १९४५ मा स्थापना भएको सँयुक्त राष्ट्र सँघ जसको स्थापनाको उद्देश्य दोस्रो विश्वयुद्धमा भोगिएको विध्वँस सँसारले फेरि भोग्नु नपरोस भन्ने हो । तर अहिलेको अस्त्रशस्त्रको होडवाजी देख्दा यस्तो भान लागिरहेको छ कि मानौँ अव छिट्टै दुनियाँमा तेस्रो युद्ध हुने वाला छ । शक्ति राष्ट्रहरु हतियार उत्पादनमा प्रतिस्पर्धा गर्नुको कारण यहि हो । हामी यहि अनुमान लगाउन सक्छौँ, एक दिन अवस्य युद्ध हुनेछ । विश्व युद्ध हुनेछ । सिमाको नाममा युद्ध हुनेछ । धर्मको नाममा युद्ध हुनेछ । जातको नाममा युद्ध हुनेछ । पहिचानको नाममा युद्ध हुनेछ । शान्तिको नाममा युद्ध हुनेछ । न्यायको नाममा युद्ध हुनेछ । स्वातन्त्रताको नाममा युद्ध हुनेछ । प्रजातन्त्रको नाममा युद्ध हुनेछ । समाजवादको नाममा नाममा युद्ध हुनेछ । साम्यवादको नाममा युद्ध हुनेछ । आजको गतिविधि त्यहि युद्ध अन्तर्गतको एउटा अध्याय हो । एउटा तयारी हो । एक दिन यो विस्फोट हुनेछ । पक्कै हुनेछ ।

जापानको हिरोसिमामा अमेरिकाले खसालेको आणविक वम नजिकै भएकाहरु त्यसै विलाएका थिए । वम हानिएको मुख्य स्थान वरपर धेरै टाडासम्म पनि कुनै मानिसको अवशेष फेला परेन । अहिले रुस र अमेरिकासँग त्यो भन्दा लाखौँ गुणा शक्तिशाली वम तयारी अवस्थामा छ । त्यहि वमले सँसारका ठुला ठुला शहरहरुलाई एकै सेकेन्डमा भग्नावशेषमा परिणत गरिदिन सक्छ । हिरोसिमा र नागासाकीमा खसालेको वमले उत्पन्न गरेको रेडियो विकिरणले ६ करोड भन्दा वढि मानिसहरु मरेका थिए । यो भन्दा खतरनाक हाईड्रोजन वमले यस्ता करोडौँ मानिसहरुलाई एकै सेकेन्डमा खरानी वनाउन सक्छ । यस्तो कुनै प्रकारको भयानक युद्धले सँसारको अन्त्य नै हुने अवस्था आयो भने वमले उत्पन्न गरेको कार्वणले पृथ्वीको तापक्रम ह्वात्तै वढाईदिने छ भने पर्यावरणमा शताव्दियौँसम्म पनि असर रहनेछ । पृथ्वीमा कुनै जिवको अस्तित्व रहने छैन । पृथ्वी खाली हुनेछ । शुन्य हुनेछ । महा शुन्य हुनेछ । उजाड मरुभुमि मात्रै हुनेछ । वाँकि सवै रित्तिएर जानेछ । सिद्धिएर जाने छ । पृथ्वी रित्तो हुनेछ । सुनसान हुने छ । निस्सार हुनेछ । सवै समाप्त भएर जाने छ । वाँकि रहने छ त केवल नाँगार फुस्रा काला पहाडहरु, प्राणघाटक वायुमण्डल, महासागरहरु, निरन्तर चलिरहने दिन र रात । आणविक दुनियाँमा मान्छेले पाउने उपहार यहि हो ।

चर्चित वैज्ञानिक स्टेफिन हकिङले भविष्यमा पृथ्वीको महाविपत्तिको रुपमा तिन वटा खतराहरुलाई अघि सारेको थियो । आणविक युद्ध, जलवायु परिवर्तन र अनुवांशिक रुपले सृजित भाईरसहरु मानव अस्तित्वको लागि भविष्यका खतराको रुपमा सँकेट गरिसकेको छ । त्यस्तै, २०औँ शताव्दीका भौतिक विज्ञानका महान ज्ञाता अल्वर्ट आईन्स्टाईन जसले प्रतिपादन गरेको शुत्रको प्रयोग गरि अमेरीकाले जापानको हिरोसिमा र नागासाकीमा खसालेको आणविक वम र त्यसले गरेको विनास तर्फ ईँगित गर्दै सँभावित तेस्रो विश्व युद्ध भएमा कस्ता खाले हतियार प्रयोग होलान् भनि सोधिएको प्रश्नको जवाफमा उनले भनेका थिए, ‘तेस्रो विश्व युद्धको अनुमान त मैले गरेको छैन, वरु चौँथो विश्व युद्धमा भने केवल ढुँगा र माटोको मात्र प्रयोग हुनेछ ।’ उनको भनाईँको अर्थ, यदि पृथ्वीमा आणविक युद्ध भयो भने त्यसवाट पृथ्वीमा जिवनको अस्तित्व खतम हुनेछ । मानव जातीले अहिलेसम्म प्राप्त गरेका सवै उपलव्धिहरु नामेट भएर जानेछन् । त्यस पछि आउने मानव सभ्यता फेरि ढुँगे युगवाट शुरु हुनेछ । आज मान्छे यहि धरातलमा उभिएको छ । खतरै खतरामा उभिएको छ । विनाशै विनाशको वाटोमा अघि वढेको छ ।

अस्त्रशस्त्रको दुनिँयामा सँयुक्त राष्ट्र सँघले सवै खाले हतियार उत्पादनमा प्रतिवन्ध लगाउनु पर्छ । दुनियाँमा भएका घाटक हतियारहरु सवै नष्ट गरिनुपर्छ । पृथ्वीका मान्छे अमेरिकी विरोधी हुँदै होईन । रुसी विरोधी हुँदै होईन । भारत विरोधी हुँदै होईन । चिनियाँ विरोधी हुँदै होईन । युरोप विरोधी हुँदै होईन । वुलेटको विरोधी हो । वारुदको विरोधी हो । वमको विरोधी हो । ती मान्छेहरु मध्ये म पनि एउटा हतियार विरोधी हुँ ।

मानव ईतिहास रगतले लेखिएको छ । ईतिहासलाई पल्टाएर हेरियो भने यहाँ विगत तिन हजार वर्षमा पन्ध्र हजार लडाईँहरु भए । त्यहि युद्धकै जगमा धेरै राज्यहरु उदाए । धेरै राज्यहरु विलाए । नयाँ–नयाँ द्धपहरुमा विभाजित भए । आज आएर मान्छे देश देशमा विभाजन भएको छ । वाद वादमा विभाजन भएको छ, तन्त्र मन्त्रमा विभाजन भएको छ, जात जातमा विभाजन भएको छ, रँग रँगमा विभाजित भएको छ, पहिचान पहिचानमा विभाजन भएको छ, धर्म धर्ममा विभाजन भएको छ, पहाड र तराईमा विभाजन भएको छ । समग्रमा मान्छे मान्छेमा विभाजन भएको छ । त्यसैले मान्छे आज आफैसँग परतन्त्र भएको छ, आनै कारणले, आनै व्यवहारले ।

मान्छेको कुनै फरक जात हुँदैन । कुनै फरक धर्म हुँदैन । कुनै राष्ट्र हुँदैन । रगतको मुल्य चुकाएर निर्माण भएका युद्धमा आधारीत यी राज्यहरु र यसका सिमारेखाहरु, धर्मको नाममा यहाँका हिन्दु, मुसलमान, ईसाई र वौद्ध धर्महरु, आर्थिक विपन्नताले जन्माएका वर्ग र जातहरु जसले मान्छे मान्छेको विचमा विभाजनको विउ रोपेको छ । मान्छेको कुनै रँग हुँदैन । कोहि एसियामा वस्छ भने उ एसियन वन्न सक्छ । कोहि अफ्रिकामा वस्छ भने उ अफ्रिकन वन्न सक्छ । कोहि अमेरीकामा वस्छ भने उ अमेरीकन वन्न सक्छ । कोहि युरोपमा वस्छ भने उ युरोपियन वन्न सक्छ । त्यसैले मान्छेको प्राकृतिक रँग हुँदैन । हाम्रो रँग नक्कली हो, जात नक्कली हो, पहिचान नक्कली हो, थर नक्कली हो, राष्ट्र नक्कली हो, वाद नक्कली हो, धर्म नक्कली हो । सवै कपटी हो । यी तत्वहरुको नाममा मान्छेले मान्छे मारिरहेको छ । यसवाट मान्छेले उन्मुक्ति पाउनै पर्छ । यी सिविरहरुवाट मान्छेलाई वाहिर निकाल्नै पर्छ । तव यहाँ शान्ति हुनेछ । तव यहाँ समृद्धिको ढोका खुल्नेछ । तव मान्छेले यहाँ मान्छे भएर वाँच्ने छ ।

२१ सेप्टेम्वरको विश्व शान्ति दिवसको सार्थक यहि हुनुपर्छ । आजकै दिन मान्छेहरुले विद्रोह गर्नुपर्छ । यो शान्तिको निम्ति विद्रोह हुनेछ, यो वन्दुकको विरुद्धको विद्रोह हुनेछ, आणविक अस्त्र शस्त्र विरुद्धको विद्रोह हुनेछ, रँगभेद विरुद्धको विद्रोह हुनेछ, जात पात विरुद्धको विद्रोह हुनेछ, धर्म र अन्धविश्वास विरुद्धको विद्रोह हुनेछ । मानव सभ्यतालाई वचाउने हो भने यहि अन्तिम विकल्प हो ।”

५ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको