‘दयालु प्रधानमन्त्री ओली, भाग्यमानी राष्ट्रपति भण्डारी’


पृथीछक बुढा मगर । नेता हुनु त केपि शर्मा ओली जस्तो पो हुनु । कति उद्धार नेता ! कमेडी सिरियल किन हेर्नू ? हाम्रो प्रधानमन्त्री ओलीको भाषण सुने भैगो त । नेपाललाई यस्तै जननेता चाहिन्छ ।

उहाँ प्रधानमन्त्री भएदेखि जनताले ढलेको सिन्को ठाडो बनाउनु परेको छैन । प्रधानमन्त्रीको आदेशमा कर्मचारीहरु जनताको घरघरमा गएर ओछ्यानमै खाना टक्र्याइदिन्छन् त अरु के चाहियो ? खानै सरकारले उपलब्ध गराएपछि घरघरमा ग्यासका पाइप नजोडे पनि भो । बरु जाडो याम लाग्यो, हिटर चलाउनको लागि बिजुली चाहिन्छ, बिजुली हावावाट निकालिसकेको छ । पानी जहाज आउने बर्षको साउन भाद्र तिर आइसक्छ होला ।

हाम्रो जस्तो दयालु प्रधानमन्त्री दुनियाँमा खोजेर पाइदैन । चिची मागे चिची, पापा मागे पापा पाइन्छ । कार्यकाल सकिएपछि राष्ट्रपति बिद्यादेवि भन्डारीले दोस्रो कार्यकाल के मागेका थिए ओलीले फ्याट्टै दिइहाले । राष्ट्रपति निबास चौडा बनाउन के आँ गरेका थिए, तालिम केन्द्र नै सारियो । गाडीको के लालच देखाए फ्याट्टै १८ करोड कबुले । औंला दिदा दुदुल्की निल्ने भने जस्तो हुँदाहुँदै राष्ट्रपति बिद्यादेवि भन्डारीले हेलिकप्टर नै मागे । त्यो पनि फ्याट्टै एक अरव असि करोड फाल्ने कम्मर कसे । कति दयालु मान्छे हुन् प्रधानमन्त्री ओली । अब आकाशको तारा मागे पनि प्रधानमन्त्रीले पाखुरा सुर्काउनु हुन्छ । यतिको आँटिलो र जागरिलो मान्छे दुनियाँमा कमै भेटिन्छन् ।

तर मेरो बहिनी त्यति भाग्यमानी बन्न सकिनन् जो डोके एम्बुलेन्स मार्फत काठमाडौ पुर्याएकै दिन उनको इहलिला समाप्त भयो । डाक्टरले भन्यो, समयमा अस्पताल ल्याएको भए बचाउन सकिन्थ्यो । ल्याउन त समयमै ल्याएकै हो तर बाटोले खायो छ दिन । सडक छैन । गाडी कसरी पुगोस् । रेलको लिग नवन्दै चाइनावाट नेपालको लागि रेल छुट्यो भनेर गफ लगाए जस्तो सजिलो थिएन मेरो गाउँ देखि काठमाडौसम्मको यात्रा । हेलिकप्टर चार्टर गर्न तीन लाख लाग्छ । केपि ओली जस्तो दयालु मान्छे त्यो वेलाको प्रधानमन्त्री भएको भए बिद्या भन्डारीलाई १ अर्ब ८० करोड फ्याट्टै फ्याँकिदिए जस्तै तीन लाख रुपैयाँ पो फ्याँकिदिने थिए कि ?

श्री ५ को सरकारहरुले २४० बर्ष राज गरे । श्री ३ राणाहरुले १०४ बर्ष शासन गरे । देश उभो लागेन । उद्धार द्वय श्री पिके (प्रचण्ड/केपी)को शासन कालमा भने फलिफाप हुने निश्चित छ ।

अहिले हरेक नागरिकको थाप्लोमा तीस हजार बढी ऋण छ । हेलिकप्टर प्रकरणले फेरि सबै नागरिकको थाप्लोमा कम्सेकम ६० रुपैयाँ ऋण थपिने छ । ओली जस्तो उद्दार प्रधानमन्त्री पाए ६० रुपैयाँ खासै बढी होइन । ऋणको बोझले जनता दुब्लाउदै गए पनि त्यति आपत्तिको बिषय होइन । यस्तो उद्दार प्रधानमन्त्रीको लागि अझै दुई चार किलो दुब्लाई दिउँला । जनताको रगत मासी हुँदासम्म फिकर नगरे हुन्छ ।

यस्तो दयालु प्रधानमन्त्रीसंग केही मागु मागु झैँ लाग्छ । कर्ण जस्तै केपि काका २१औं शताब्दीका दानबिर हुन् । मागे कसो नदेलान् ? हामी राष्ट्रपति बिद्या भन्डारीले जस्तै हेलिकप्टर माग्ने होइनौं । हामीलाई राष्ट्रपतीलाई दिएको जस्तो करोडौं अरवौ रुपैयाँ दिन आबस्यकता पनि छैन । गाउँसम्म मोटर पुग्ने बाटो खनिदिएको भए मेरो बहिनी जस्तो ६ दिन लगाएर काठमाडौ पुर्याउने समस्याको अन्त्य हुँदो हो ।

मेरो गाउँमा एउटा अस्पतालको खाँचो छ । फ्याट्टै अस्पताल बनाइदिएको भए प्रधानमन्त्रीको के जान्थ्यो ? मेरो भागमा परेको तिस हजार ऋणमा केही अंक जोडिने थियो, यहि त हो । एक अरव ८० करोडमा सामान्यत: ५० भन्दा बढी अस्पताल बन्थे । सानोतिनो ४ सय झोलुङ्गे पुलहरु निर्माण हुन सक्थे । यसले देशभर तुइन बिस्थापित भएर जाने थियो । २०० भन्दा बढी बिद्यालयका भवनहरु निर्माण हुन सक्थे । अस्तिको बर्खामा म पढेको स्कुलको छानो चुहिएको गुनासो सुनेको हुँ । फ्याट्टै केही थान जस्तापाता मिल्काइदिएको भए हेलिकप्टर जस्तो १ अरव ८० करोड खर्च हुने होइन । तर हामी नेपाली जनता त्यति भाग्यमानी चाहिँ भएनौं, भाग्य भरी राष्ट्रपतिको पोल्टामा परेपछी हाम्रो भागमा के पर्छ ?

५ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको